बझाङको बुंगलका मेयर माथि स्थानीयद्धारा ढुंगामुढा, सबै कागजपत्र नष्ट



बझाङ । कार्यालय कहाँ राख्ने भन्ने विवाद बढ्दै जाँदा स्थानीयले बझाङको बुंगल नगरपालिकाका मेयरमाथि आक्रमण गरेका छन । नगरपारिषद लगत्तै स्थानीयले नगरपालिकाका मेयर धनबहादुर विष्टमाथि ढुङ्गा मुढा गरेको प्रहरीले जनाएको छ । मेयरलाई बचाउने प्रयास गर्दा स्थानीयले प्रहार गरेको ढुंगाले लागेर बुंगल नगरपालिका ४ का सुरेश भण्डारीको टाउको फुटेको छ ।

नगरपालिकाका मेयर विष्टको कार्यकक्षमा स्थानीय बासिन्दाले ताला लगाइदिएका छन् । नगरपरिषद्को निर्णय अनुसार बुंगल नगरपालिकाको केन्द्र वडा नम्बर ५ मा बनाउने निर्णय भएको थियो तर वडा नम्बर ३ र ४ का स्थानीय बासिन्दाहरुले निर्णय स्वीकार नभएको भन्दै तोडफोड गरेका हुन ।

उनीहरुले नगरपालिकाको परिषद सकिनेवित्तिकै कार्यालयमा भएको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, कार्यपालिकाको निर्णय पुस्तिकालगायतका काजजात, कार्यालयमा भएको टेबल, कुर्सीमासमेत क्षति पुर्याएको प्रहरीले जनाएको छ । स्थानीयले नगरपालिकामा भएका सबै कागजपत्र नष्ट गरिदिएको बुंगल नगरपालिकाका लेखा अधिकृत पूर्णबहादुर खड्काले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्