मलेठ घटनाः तत्कालिन एमाले पनि दोषी, अब के गर्छन् प्रधानमन्त्री ?



काठमाडाैं । पाँच जनाको ज्यान जानेगरी सप्तरी जिल्लाको मलेठमा भएको घटनाको मुख्य दोषी तत्कालीन एमाले र मधेशी मोर्चा रहेको निष्कर्ष उच्चस्तरीय छानविन समितिको प्रतिवेदनले देखाएको छ ।

२०७३ फागुन २३ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आन्दोलित रहेका बेला तत्कालीन नेकपा एमालेले राजविराजभन्दा तीन किलोमिटर उत्तरमा रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा स्थानीय निकायको चुनाव केन्द्रित आम सभा गरेको थियो । उक्त सभाको विरोधमा प्रदर्शन गरिरहेका मधेशी मोर्चाका पाँच जना कार्यकर्ताको प्रहरीको गोलीबाट मृत्यु भएको थियो ।

हिंजाे काठमाडाैंमा सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा भनिएको छ,‘मलेठ घटनाको पनि सर्वपक्षीय विश्लेषण गर्दा फागुन २३ मा स्थानीय प्रशासन र सुरक्षा निकायको सुझाव विपरित औद्योगिक क्षेत्रमा सभा गर्ने ने.क.पा. (एमाले), त्यसलाई जुन मूल्य चुकाएर भएपनि हुन नदिने वा बिथोल्ने कटिबद्ध भई त्यहाँ जाई लाग्ने प्रदर्शनकारीहरुको अगुवाई गर्ने सप्तरी जिल्लाको मधेशी मोर्चा नै मुख्य दोषी रहेको भन्ने यस समितिको निष्कर्ष रहेको छ ।’

यी दुवै पक्षबाट सुरक्षा निकाय, प्रशासनलाई निरीह बनाइएको उल्लेख गर्दै प्रतिवेदनमा भनिएको छ ‘त्यसरी निरीह नबनेर प्रशासन र सुरक्षा निकायले त्यहाँ कुनै हालतमा पनि सभा गर्न दिनुपर्ने थिएन । औद्योगिक क्षेत्रमा सभा गर्न दिनु र त्यसकोलागि दुरुपयोगको हदसम्म व्यापक संख्यामा सुरक्षा फौज परिचालन गर्नु प्रशासन र सुरक्षा अधिकारीहरुको कमजोरी र दोष दुवै रहेको भन्ने यस समितिको निष्कर्ष रहेको छ ।’

सुरक्षा निकायको दोष तिनीहरुको जिम्मेवारीको अनुपातमा मात्र रहेको भन्ने बुझाई समितिको रहेको छ ।

मलेठ घटनाको छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगले २०७३ चैत ३१ गते घटनाका सम्बन्धमा अनुसन्धान गर्न एक उच्चस्तरीय समिति गठन गरी छानविन गर्ने निर्णय गरेको थियो । सोही बमोजिम सर्वोच्च अदालतका पूर्व न्यायाधीश ताहिर अली अन्सारीको संयोजकत्वमा फरेन्सीक विशेषज्ञ डा.हरीहर वस्ती, राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृतद्वय मन्जु खतिवडा र जीवन न्यौपाने सदस्य रहेको उच्चस्तरीय छानविन समिति गठन गरिएको थियाे।

उक्त समितिको सुझावमा भनिएको छ,‘मलेठ घटनालाई एउटा विशेष घटनाको रुपमा लिन सकिन्छ किनभने त्यहाँ कुनै स्थानीय वा राष्ट्रिय विवादित बिषयमा एकतर्फी वा दुई पक्षीय जुलुस छैन । प्रदर्शनकारीहरुले राज्य वा सरकारसँग कुनै माग राखेको र त्यो पूरा नभएबाट जुलुस निस्केको पनि छैन् । अर्थात् मधेशी मोर्चाको प्रदर्शन राज्य वा सरकारको विरोधमा वा स्थानीय प्रशासनको विरोधमा वा नेपाल सरकारले नेपालको कुनै भागमा कुनै कारवाही गरेको वा कुनै नीति वा कार्यक्रमको बिरोधमा छैन। त्यो प्रदर्शन शुद्ध र स्पस्ट रुपले एउटा राजनीतिक दलविरुद्धको प्रदर्शन मात्र हो ।’

यसबाट शिक्षा लिएर भविष्यमा यस्तो घटना हुन नदिनेतर्फ सरकार, स्थानीय प्रशासन र सम्बद्ध राजनैतिक दलहरु पुर्ण रुपले प्रतिवद्ध हुनु जरुरी रहेको प्रतिवेदनमा सुझाव दिइएको छ ।

प्रहरी र तत्कालिन प्रजिअको बयान यस्तो छः

कार्यक्रम सकिनलाग्दा गोली चलेको । फायर कस्ले गरेको भन्ने पहिचान नभएपनि सशस्त्र प्रहरीले चलायो भन्ने जानकारी प्राप्त भएको । आफूले गोली चलाउने आदेश दिएको होइन भन्ने समेत सप्तरी ४ ले आयोगमा उपस्थित भई गरेको बयानमा उल्लेख भएको पाइयो ।

म फाल्गन १८ गते २०७३ मा सप्तरी जिल्लामा प्र.जि.अ.को जिम्मेवारी सम्हाल्न गएको थिएँ । एमालेले राजविराजमा मेची महाकाली कार्यक्रम अन्तर्गत कार्यक्रम आयोजना गर्ने भयो । रंगशालामा गर्ने कार्यक्रम मेरो पहलमा गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा सारियो ।

यो नितान्त मेरो र सुरक्षा समितिको प्रयास थियो । मोर्चाले त राजविराजमा कुनै कार्यक्रम गर्न नदिने भनेको थियो । हनुमान नगरको बाटो प्रयोग नगर्न पनि मैले नै सुझाव दिएको थिएँ । सोही बमोजिम बाटोपनि परिवर्तन गरी एमालेले औद्योगिक क्षेत्रभित्र कार्यक्रम तय गर्यो । एमाले र मधेशी मोर्चाविच संवादहिनताको अवस्था थियो । कार्यक्रम हुने अघिल्लो दिनमा जिल्ला प्रहरी कार्यालयमा बोलाई एमाले, सप्तरी १ (मोर्चाका नेता) लाई संयमताम अपनाई कार्यक्रम गर्नुहोस् भनी सम्झाई बुझाई ग¥यौं । शुरुमा सहमति भएजस्तो थियो । उनीहरु (मोर्चा) विरोध गरेजस्तो गर्ने, एमालेले कार्यक्रम गर्ने कुरा भयो । हामीले दुबैलाई शान्ति सुरक्षा दिने कुरापनि ग¥यौं । तर २२ गते मोर्चाका नेताले ‘अब हाम्रो हातबाट गै सक्यो’ भनेपछि स्थिति तनावपूर्ण हुने पूर्वानुमान भयो ।

एमालेको कार्यक्रम राजमार्गतिर गर्न पनि सुझायौं । सफल भएन । २३ गतेको कार्यक्रममा सशस्त्र र नेपाल प्रहरीको करीव ८÷९ सय फौज थियो । मैले विराटनगर समेतका डिआईजीलाई समन्वय गरेको थिएँ । बाहिरबाट पनि प्रहरीहरु आएका थिए । झारखण्डबाट पनि एउटा गाडीमा ‘तीर’ बोकेका मानिसहरु आएको सूचना आयो । त्यतापनि प्रहरी परिचालन गरियो । अन्यत्र र बोर्डरबाट पनि मानिसहरु हिंडेको खबर आयो ।

ज्वालासिंह र गोहित समूहका केही व्यक्तिहरु पनि आए भन्ने खबर आयो । सिके राउतका करीब २०० जना व्यक्तिहरु आएका थिए भिन्ने जानकारी थियो । उनीहरुको टाउकोमा सिके आकारमा कपाल काटीएको थियो भन्ने खबर आयो । सिमाबाट पनि केही अदृश्य घटना घटाउन मानिसहरु आउने सूचना थियो । त्यसैले हाईवेमा सार्न एमालेलाई सुझाव दिइयो । यदि राजमार्गमा सारेको भए यो घटना हुँदैनथ्यो । नगरी नहुने र गर्नै नहुने भन्ने दृढताका कारण २३ गते अपृय घटना घट्यो । कानुन बमोजिम लगातार ४ घण्टा सम्म गर्नुपर्ने बल प्रयोग ग¥यो ।

पूर्वपटि नहरको ५ सय मिटर परबाट एमालेको कार्यक्रममा आएका कार्यकर्तालाई मोर्चाका कार्यकर्ताले रोके । एमालेका नेताहरुले पनि ट्याक्टर रोकेको कुरा ग¥यो । मोर्चाले ठाउँठाउँमा मानिसहरु राखेको रहेछ । जब एमालेका कार्यकर्ताहरु कार्यक्रम स्थलमा छिरे त्यसपछि मोर्चाका मानिसहरु ह्वात्तै आए ।

कार्यक्रमको सुरक्षार्थ टीकापुर घटनामा संलग्न (खटिएका) प्रहरी (सशस्त्र) पनि थिए भन्ने जानकारी थियो । उनीहरुको मनमा मार्छन् भन्ने त्रास, मनोविज्ञान थियो । बल प्रयोगको सिद्धान्त बमोजिम सम्झाई, बुझाई, माईकिङ्ग गर्ने, अश्रुग्याँस हान्ने, हवाईफायर, फोहोरा सबै प्रयोग भएको छ । थोरै क्षति हुने गरी स्थानिय प्रशासन ऐन, २०२८ बमोजिम बल प्रयोग भएको छ । माईन्युट (सुरक्षा समितिको निर्णय) भएको छ । तर फोहोराको गाडिमा तोडफोड भएपछि फोहोरा चलाउन सकिएन । समस्या आयो । सकभर कसैको मृत्यु नहोस् भनेर प्रहरीलाई भनेको थिएँ ।

राष्ट्रिय अनुसन्धान विभागसँग सुचना लिएर आवश्यक विश्लेषण गरी सादा पोशाक समेतका सुरक्षाकर्मी खटिए । एसपी प्रहरी ८ राम्रा मानिस हुन् । डिएसपी प्रहरी १० पनि राम्रा व्यक्ति हुन् । मानव अधिकार जानेकै जानेका थिए ।

सशस्त्रका एसपी पनि पुराना हुन्. कम क्याजल्टी होस्भनेर दुबै एसपीलाई फिल्डमै खटाईयो । त्यहाँ अन्तबाट पनि प्रहरी परिचालन थिए । आ–आफ्नो समुहको कमाण्डर सोही टोलीमा हुन्थे ।

कार्यक्रम सकिन लाग्दा गोली चल्यो । फायर कस्ले गरेको भन्ने पहिचान नभएपनि सशस्त्र प्रहरीले चलायो भन्ने जानकारी भयो । मैले गोली चलाउने आदेश दिएको होइन । त्यसपछि म शक भएँ । के.पी.ओली बोल्न लाग्दा पेट्रोल भरिएको बोतल बोकेका व्यक्तिहरु हिडेका थिए भन्ने सूचना आयो । प्रहरीको संचारसेट खोसियो । पर्खाल चढी एमालेको कार्यक्रम आयोजना भएको ठाउँमा करीव ७ जना व्यक्तिहरु गए ।

गोली नचलाएको भए कार्यक्रम स्थलभित्र, प्रदर्शन भैरहेको स्थलमा समेत थुप्रै क्याजल्टी हुन सक्थ्यो । हामीले लामो समयसम्म एउटा दुरीमा मासलाई कन्ट्रोल गरेका थियौं । मर्नेमा केही निर्दोष मानिस पनि परे । तर पत्रिकाहरुले घटनालाई बढाई चढाई पनि गरे । जब म सप्तरीमा गएँ, धेरै शुभचिन्तकहरुले राम्रो पनि माने । कुनै समस्या हुँदैन पनि भने । संसदीय समिति घटनाकाबारे बुझ्न भनी गयो । त्यो टोलीले एकपटक पनि सिडिओ, एसपीलाई भेटेन ।

त्यो समितिले यसरी छानविन गरी निकालेको प्रतिवेदन कति निष्पक्ष होला ? एकपक्षीय रुपमा बुझी ‘सरकारको दोष’ भन्यो भने कुनैपनि कर्मचारीहरुले काम गर्न सक्तैन । मोर्चा र घाईतेलाई मात्र भेटेर आयो मलाई दुःख लाग्यो । करीव १०÷!५ मिनेट गोली चलाउन नपरेको भए मानिस मर्दैनथे । सप्तरी १ (मोर्चाका नेता) लाई हाईवेमा पक्राउ गरिएको थियो । १२ जना मानिस मरिसके, छोडिदे भनेर धम्की दिएको थियो । मैले कार्यक्रम सकियो, सप्तरी १ लाई छोडिदे भने ।

छोडियो । गृहमन्त्रीलाई फोन गर्दा धेरै पटक प्रयास गर्दा मात्र सम्भव भयो । मैले बालकृष्ण पन्थीलाई रिपोर्टिङ गरें ।

भोलिपल्ट मलाई रिपोर्टिङका लागि काठमाण्डु बोलाईयो । रिपोर्ट बनाउदै थिएँ । राति पनि सुतिएन । डिएसपी प्रहरी १० धेरै सक्रिय व्यक्ति हुन्. उनले सकेसम्म बढी सुचना संकलन गरी टिपोट बनाए । म काठमाण्डु आएँ । मलाई मन्त्रीले भेट्न आउनु भनी बोलाएनन् । म कुरेको कुरै भएँ । सुरक्षा निकायको प्रमुख म, तर हाजिर गराएर मात्र राखियो । १०÷१५ दिनपछि आफैं मन्त्रीलाई भेट्न गएँ । गोली ठोक्न आदेश दिएको हो ? भने, मैले ‘होइन’ भनें ।

त्यसपछि फर्किएँ । मलाई सोधिएको कुरा यत्ति हो । म संग विधिवत रिपोर्ट सरकारले मागेको छैन । बुझाउन पनि पाईनँ । त्यसपछि अर्को प्र.जि.अ. पठाईयो । घटना प्रति दुःखी छु । परिस्थिति हेरी काम गरियो । नियत खराब थिएन ।
घटना पछि पनि आगजनी तोडफोड भयो ।

( तत्कालीन प्रमुख जिल्ला अधिकारी सप्तरी ४ को बयान)

एमाले मेची महाकाली अभियानमा सशस्त्र प्रहरीको झापा देखि धनकुटा सम्मका प्रहरी कर्मचारी परिचालित थिए । प्रदर्शनकारीहरुले भाला, भाटा, पेट्रोल बम बोकेका थिए । सुरक्षाकर्मीहरु घाइते भएका थिए । प्रदर्शनकारीहरुले हामीलाई लखेटीरहेका थिए । नेपाल प्रहरी पछाडी हट्यो । हामी सवारी साधन सुरक्षाको लागि खटेका थियौं । त्यही समयमा गोलीको आवाज सुनिएको थियो तर काहाँ र कोबाट गोली चलेको थियो भन्न सकिएन । जिल्ला स्थित शसस्त्र प्रहरी वलको कार्यालयका प्रहरी कर्मचारीहरु बजार एरियामा परिचालन गरिएको र कार्यक्रमस्थलमा अन्यत्रबाट आएका प्रहरी कर्मचारीहरु खटिएका थिए ।

गोली चलाउने परिस्थिती सृजना भएमा प्रमुख जिल्ला अधिकारीको आदेश प्राप्त गर्नुपर्दछ । आत्मरक्षा गर्नुपर्ने भएमा गोली चलाउन सकिने र प्रहरीको हतियार तथा सञ्चार सेट खोस्न खोजेमा पनि गोली हान्न सकिन्छ । सुनसरीबाट खटिएको प्रहरीको सेट खोसिएकोमा हाल सम्म फेला पर्न नसकेको । दिनभर प्रहरी र प्रदर्शनकारी बीच धकेलाधकेल भईरहेको थियो । करीब ४००० को संख्यामा मोटरसाईकलहरु थिए ।

एमालेका ३ वटा बाईक प्रदर्शनकारीले जलाईदिएका थिए । तोकिएको निषेधित क्षेत्र पनि प्रदर्शनकारीले नाघीसकेका थिए । प्रहरी कर्मचारीबाट माईकिङ्ग तथा चेतावनी दिने कार्य भएको थियो । ३,४ हजार जतिको संख्यामा भीड रहेको थियो । कार्यक्रमको अन्त्य तिर झन भीड बढेको थियो । अन्त्य तिर एमालेका

नेताहरु मथि नै आक्रमण गर्ने संभावना देखेर सुरक्षार्थ गोली चलाउनु पर्यो । दोहोरो झडपको क्रममा भुईमा ढलेको अवस्थामा छाती र टाउकोमा गोली लागेको हुनसक्छ ।

हरेक १३ जनाको प्रहरी बटालियनमा दुई जना संग हतियार रहन्छ भने अन्यसंग लाठी मात्र रहेको हुन्छ । त्यो बेलाको समय र परिस्थितीमा गोली नचलेको भए बिगतका गौर र टीकापुर घटना दोहोरिन सक्ने संभावना थियो । प्रहरीले उक्त दिन ठुलो क्षति हुनबाट जोगाएको हो ।

(सशस्त्र प्रहरी उपरिक्षक प्रहरी ३ तथा प्र.ना.उ.प्रहरी ४, प्रहरी हवल्दार प्रहरी ५, प्रहरी ६ लगायतको भनाई ।)

 

मलेठ घटनाको विस्तृत प्रतिवेदन यहाँ हेरनुहाेस

प्रतिक्रिया दिनुहोस्