ट्रम्प र पुटिनबीच हेलसिन्कीमा वार्ता



हेलसिन्की (एजेन्सी)
अमेरिकी राष्टपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच फिनल्यान्डको राजधानी हेलसिन्कीमा पहिलो औपचारिक वार्ता भएको छ ।

वार्ता शुरु हुनु अगाडी दुई नेताले एक अर्कासँग हात मिलाएका थिए । ट्रम्पले रुसका राष्ट्रपति पुटिनलाई विश्वकप फुटबलको सफल आयोजनका लागि बधाइ दिए ।

ट्रम्पले भने– म तपाइलाई वास्तवमै अत्यन्त लोकप्रिय वल्र्ड कप फुटबल, अहिले सम्मकै सर्वश्रेष्ठ आयोजना मध्यको एक बनाउन सफल भएकोमा बधाइ दिन्छु ।

वार्तामा बस्नु अगाडी ट्रम्पले सकारात्मक नतिजा निस्कनेमा आफु आशावादी रहेको अभिब्यक्ती दिएका थिए । ‘दुई देश एकै ठाउँमा आउनु भनेको ठुलो अवशर हो भन्ने मैले लिएको छु ‘ ट्रम्पले भने – हामी असाधारण सम्बन्ध अन्त्य गर्छौ भन्ने मलाई लागेको छ ।

उक्त वार्ता अगाडी शुक्रबार अमेरिकाले रुसका १२ गुप्तचर अधिकारीमाथि ह्याकिंगको अभियोग लगाएका थिए । उनीहरुमाथि सन् २०१६ को राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनको प्रचार अभियानमा साइबर हमला गरेको आरोप लगाएको छ ।
त्यसपछि अमेरिकाका नेताहरुले डोनाल्ड ट्रम्पलाई पुटिनसँगको शिखर वार्ता रद्द गर्न दबाव दिएका थिए ।

ट्रम्पले शिखर वार्त अगाडी ट्विटरमा उनको देशको रुससँग सम्बन्ध यसअघि कहिल्यै यति खराब नभएको लेखेका थिए । उनले यसका लागि अमेरिकी नेताहरुलाई जिम्मेवार ठहर्याए ।

अमेरिकी राष्ट्रपतिले एक ट्विटर सन्देशमा आफना पुर्ववर्तीहरुको ‘अकर्मन्यता‘ र सन् २०१६ मा रुसको कथित हस्तक्षेपको ‘धाँधलीपुर्ण‘ जाँचको निन्दा गरेका थिए ।
ट्रम्पमाथि यस वार्तामा पुटिन समक्ष ह्याकिंग मामिला उठाउन दबाव छ तर यो वार्ताका लागि कुनै एजेन्डा तय गरिएको छैन ।
वार्तामा ब्यापार, सेना र चीन सहित हरेक मुद्दामा चर्चा हुने अमेरिकी राष्ट्रपति ट्रम्पले बताए ।

युरोपली संघ अमेरिकाको ठुलो शत्रु

बहुप्रतिक्षित हेलसिन्की वार्ता पुर्व एक अन्तरवार्तामा राष्टपति ट्रम्पले युरोपली युनियनलाई विश्वभरीमै अमेरिकाको ‘सबैभन्दा ठुलो शत्रु ‘को संज्ञा दिए ।
सीबीएस इभिनिङ न्युजमा प्रकाशित ट्रम्पको उक्त अन्तरवार्ता स्कटल्यान्ड, टर्नबेरी स्थित उनकै गल्फ क्लबमा आइतबार विहान लिइएको थियो । विश्वमा अमेरिकाका शत्रुका विषयमा सोधिएको प्रश्नको जवाफमा रुस र चीनको प्रसंगसँगै ट्रम्पले इयुको उल्लेख गरे, यसमा अमेरिकाका सबैभन्दा पुराना निकट सहयोगीहरु मध्य थुप्रै परेका छन् ।

‘मलाई लाग्छ हामीसँग धरै नै शत्रु छन् । ब्यापारमा हामीमाथि तिनीहरुले जे गर्यो त्यसको आधारमा मलाई लाग्छ युरोपलेली युनियन एक शत्रु हो । अहिले तपाईले युरोपेली युनियनका विषयमा सोच्न सक्नु हुन्न तर तिनीहरु शुत्रु नै हुन् । रुस कुनै हदसम्म शत्रु हो । चीन आर्थिक हिसाबले शुत्रु हो, निश्चित रुपमा तिनीहरु शुत्रु हुन् । तर त्यसको अर्थ उनीहरु खराब छन् भन्ने होइन । यसको कुनै अर्थ केही पनि होइन । यसको अर्थ तिनीहरु प्रतिस्पर्धी हुन् ‘ आइतबार सीबीएस एन्कर जेफ ग्लोरलाई दिएको अन्तरवार्तामा ट्रम्पले बताएका थिए । ‘तिनीहरु राम्रो गर्न चाहन्छ र हामी पनि राम्रो गर्न चाहन्छौं ‘।

ट्रम्पको यो टिप्पणी बेलायत इयुबाट अलगिने विषयमा भइरहेको तनावपुर्ण वार्ताको समाधानका लागि इयुमाथि मुद्दा हाल्न बेलायती प्रधानमन्त्री टेरिजा मेलाई ट्रम्पको सुझाव सार्वजनिक भएपछि आएको हो ।

प्रतिक्रिया दिनुहोस्