२ करोड ८० लाख किलो आँप उत्पादन



सप्तरी, (नेस)
जिल्लामा यस वर्ष कुल २८ हजार मेट्रिक टन (२ करोड ८० लाख किलो ) आँप उत्पादन भएको छ । ५६ करोड रुपियाँबराबरको आँपको कारोबार भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

व्यवस्थित बजार नहुँदा आँपको भाउ सस्तो भएको पनि कार्यालयले जनाएको छ । अघिल्ला वर्षहरुमा सरदर ५०÷६० रुपियाँ प्रतिकिलोमा बिक्री हुने आँप यस वर्ष १५ रुपियाँ किलोसम्म बिक्री गर्नुपर्दा कृषक मर्कामा परेको कार्यालय प्रमुख भागिरथ यादवले बताउनुभयो ।
सरकारी स्तरबाट आँपको बजार व्यवस्थापनका लागि खासै प्रक्रिया अघि नबढेको र आँप प्रशोधन गर्ने उद्योग पनि नभएकाले हरेक वर्ष आँपका कृषक समस्यामा पर्ने गरेको उहाँले बताउनुभयो ।

७ हजार हेक्टर क्षेत्रफलमा आँप खेती गरिएकोमा ५ हजार हेक्टरमा मात्रै आँपको फल लागेको थियो । जेठ महिनामा आएको असिना र हावाहुरीका कारण कञ्चनरुप तथा सप्तकोशी नगरपालिकामा क्षति हुँदा सरदर ३ हजार ५ सय हेक्टरमा मात्रै आँप उत्पादन भएको कार्यालयले जनाएको छ ।

सप्तरीमा मालदह, बम्बई, दसहरी, कलकतिया, आम्रपाली, नेगडा, बिजु, सरही, किसुनभोग जातका आँपको खेती हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्