साझा सुविधा भवनमा पहिरो



प्रताप बानियाँ, म्याग्दी
म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित शान्तिमिलन सामुदायिक वन क्षेत्रको परिसरमा रहेको साझा सुविधाको भवनमा पहिरोले क्षति पु¥याएको छ । वर्षाका कारण भवनभन्दा केही माथिबाट खसेको पहिरोका कारणले गर्दा महिला उद्यमीहरुले काम गर्दै आएको अल्लोको तान रहेको कोठामा क्षति पुगेको हो ।

सुख्खा पहिरोसँगै आएको ठूलो ढुङ्गाले लागेर भवनको छानामा रहेको जस्तापाता छेडेर भुइँमा खस्दा तानमा क्षति पुगेको साझा सुविधा केन्द्रले जनाएको छ । ढुङ्गाले लाग्दा दुईवटा जस्तापाता र एकवटा फाइबर जस्ता पातामा प्वाल पारेको छ भने झ्यालको सिसा समेत फुटेको छ । यसैगरी अल्लो उद्यमीको एउटा तानमा पूर्णरुपमा क्षति पुगेको छ भने अर्कोमा आंशिक क्षति भएको छ ।

माथिबाट तिव्र गतिमा खसेको ढुङ्गाले लाग्दा तानसहित चर्का, धागो र पोकामा असर गरेको हुँदा करिब डेढलाख रुपैयाँ बराबरको क्षति भएको साझा सुविधा भवनका अध्यक्ष विष्णु गुरुङले गुनासो गरिन् । पहिरोसँगै खसेको ढुङ्गाका कारण अल्लोबाट उत्पादित सामाग्री बनाउने अन्य तानमा पनि समस्या भएको उनले बताएकी छिन् । गत शुक्रबार दिउँसोको समयमा उद्यमीहरु कोही नभएको अवस्थामा ढुङ्गा खसेर भवनमा क्षति पु¥याएको भए पनि मानवीय क्षति भने नभएको अध्यक्ष गुरुङको भनाइ छ । भवनमा काम गर्ने उद्यमी भएको समयमा पहिरो र ढुङ्गा खसेको भए उद्यमीको ज्यानै समेत जानसक्ने सम्भावना रहेको उनले बताइन् ।

पहिरोले पु¥याएको क्षतिको बारेमा स्थलगत अनुगमन गरेर आवश्यक सहयोग गरिदिनका लागि बेनी नगरपालिका कार्यालय र सम्बन्धित वडा कार्यालयमा अनुरोध गरिएको अध्यक्ष गुरुङले जानकारी दिएकी छिन् । बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले साझा सुविधाको भवनमा पहिरोसँगै ढुङ्गा खसेर क्षति पु¥याएको बारेमा जानकारी आएको बताउँदै स्थलगत अनुगमन गरेपछि आवश्यक सरसहयोग गरिने बताइन् ।

हाल साझा सुविधा भवनमा दैनिक रुपमा ७ जना अल्लो उद्यमी महिलाहरुले तानमा अल्लो कपडा उत्पादन गर्दै आइरहेका छन्भने ढाका उद्यमीहरुले पनि तानमा ढाकाका विभिन्न उत्पादनहरु उत्पादन गर्दै आइरहेका छन् । भवनको अन्य कोठामा ढाका उद्यम, कार्यालय सञ्चालन गरिएको छ भने उद्यमका लागि आवश्यक कच्चापदार्थ पनि राखिएको बताइएको छ । २०६६ सालमा साझा स्थापना गरिएको साझा सुविधा भवन कुल ११ लाख ३० हजार ८३७ रुपैयाँमा निर्माण गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्