साहिँलाद्वारा साहिँलीको हत्या



हेटौंडा, (नेस)
छिमेकीको घरमा भएको ‘पास्नी भोज’ खाएर राति अबेर घर फर्किएका पतिले सुतिरहेकी पत्नीको हत्या गरेका छन् ।

मकवानपुरको थाहानगर–५, नलिवनका ५२ वर्षीय साहिंला थिङले पत्नीलाई कुटेर हत्या गरेका हुन् । उनले घरको ढोका नखोलेको निहुँमा घाँटीमा मुड्की प्रहार गरी ४३ वर्षीया पत्नी साहिंलीमाया थिङको शनिबार राति हत्या गरेका हुन् ।

हत्याको अभियोगबाट बच्न साहिंलाले साहिंलीको मुखमा विषादी हालेको प्रहरीले जनाएको छ । साहिंलाले पत्नीले ढोका नखोलेको भन्दै सुतिरहेको अवस्थामा घाँटीमा मुड्की प्रहरा गरी हत्या गरेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक धु्रव सिलवालले बताउनुभयो । पत्नीले ढोका नखेलेपछि आक्रोशित उनले ढोका फेरेर भित्र पसेका थिए । र, रिसले चुर भएर पत्नीमाथि प्रहार गरेका थिए ।

साहिंला आफैंले विषसेवनका कारण पत्नीको मृत्यु भएको भन्दै छिमेकीलाई खबर गरेका थिए । उनको कुरा पत्यार नलागेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले साहिंलासँग घटनाबारे सोधखोज गर्दा कुटेर मारेको स्वीकारेका हुन् । प्रहरी हिरासत हेटौंडामा रहेका थिङले रक्सीको मातमा हिर्काए पनि मार्ने नियत नरहेको बताएका छन् ।

गत माघ १ गते हेटौंडा–४, कमलडाँडामा पनि मादकपदार्थ सेवन गरी गजवारले हिर्काएर पत्नीको हत्या भएको थियो । पत्नीको हत्या गर्ने ती व्यक्तिलाई जिल्ला अदालत मकवानपुरले जन्मकैद फैसला गरेको थियो ।

६३ वर्षीय रामबहादुर लामाले ४२ वर्षीया पत्नी मीनाको धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । हत्या गरी फरार लामालाई प्रहरीले पक्राउ गरेको थियो । चालक पेशा गर्ने लामाले मापसे गरेर दिनहुँ पत्नीलाई कुट्ने गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्