उप्रेती र पाण्डे राजदूत सिफारिस



नेपाल समाचारपत्र, काठमाडौं
सरकारले भारत र मलेसियाका लागि निलकण्ठ उप्रेती र उदयराज पाण्डेलाई राजदूत सिफारिस गरेको छ । मन्त्रीपरिषद्को सोमबारको बैठकले उहाँहरुलाई राजदूत बनाउने प्रकृया अघि बढाएको हो ।

दुवै जना सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट राजदूत सिफारिस हुनुभएको हो । उप्रेती दोस्रो संविधानसभाको निर्वाचन ताका प्रमुख निर्वाचन आयुक्त र पहिलो संविधानसभा निर्वाचन हुँदा निर्वाचन आयुक्त हुनुहुन्थ्यो । उहाँ तत्कालिन नेकपा एमालेको कोटाबाट प्रमुख निर्वाचन आयुक्त बन्नुभएको थियो ।

करिव १ वर्षयता भारतमा राजदूत पद खाली छ । नेपाली काँग्रेसका नेता समेत रहनुभएका तत्कालिन राजदूत दीपकुमार उपाध्यायले गत भदौमा राजिनामा गरेपछि दिल्ली दूतावास राजदूतविहीन बनेको हो । यसैगरी मलेसियाका लागि पाण्डेलाई राजदूत सिफारिस गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । पाण्डे यसअघि साउदी अरेवियाका लागि राजदूत हुनुहुन्थ्यो । एमालेका तत्कालिन विदेश विभाग सदस्य पाण्डे झलनाथ खनाल प्रधानमन्त्री रहनु भएका बेला राजदूत नियुक्त हुनु भएको थियो ।

संयुक्त राष्ट्र संघमा नेपाली स्थायी प्रतिनिधी नियुक्ती प्रकृया भने अझै हुन सकेन । परराष्ट्र मन्त्रालयका सचिव शंकर बैरागी सो पदमा बलियो दावेदार भए पनि उहाँले सचिवकै कार्यकाललाई निरन्तरता दिने इच्छा जनाएपछि तत्काललाई राष्ट्र संघ दूत नियुक्त हुन नसकेको परराष्ट्रले जनाएको छ । बैरागी परराष्ट्रकै सचिवमा निरन्तरता पाउँदा सोही मन्त्रालयका बरिष्ठ सह–सचिव भरतराज पौड्याल न्यूयोर्कका लागि राजदूत बन्ने बलियो संभावना बढेको छ ।

पौड्याल भन्दा बरिष्ठ सह–सचिव खगनाथ अधिकारी हाल थाइल्यान्डको राजदूतका रुपमा रहनु भएको छ । तर उहाँले उमेर हदका कारण यही साउनमा अवकास पाउने भएकाले पौड्यालले न्यूयोर्कको जिम्मेवारी सम्हाल्ने संभावना उच्च भएको हो । यस अघिका स्थायी प्रतिनिधी दुर्गाप्रसाद भट्टराईको कार्यकाल गत कार्तिकमा सम्पन्न भएकाले उहाँलाई गत असार २४ गतेको मन्त्रीपरिषद बैठकले फिर्ता बोलाएको छ ।

विगत २ वर्षदेखि राजदूतविहीन बनेको खाडी मुलुक यूएईका लागि भने राजदूत नियुक्ती प्रकृया अझै लम्बिने भएको छ । यसअघि त्यहाँ परराष्ट्र सेवाका धनञ्जय झा राजदूत रहनुभएकाले रिक्त पदमा कसलाई करियर राजदूत नियुक्त गर्ने भन्नेबारे परराष्ट्रले टुङ्गो लगाउन सकेको छैन । झा २०७२ चैत्र अन्तिम साता सेवानिवृत्त भएपछि परराष्ट्रका उपसचिव सागर प्रसाद फुयाँल कार्यवहाक बन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्