मुलुकमा बलियो प्रतिपक्षको आवश्यकता, कांग्रेस गुट उपगुटमै सीमित



रामकृष्ण चापागाईं, काठमाडौं
मलुकमा चरम वेथिति, अराजकता बढिरहेको अवस्थामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्र आन्तरिक गुटबन्दी बढ्दै गएको छ ।

गत निर्वाचनमा लज्जास्पद हार व्यहोर्नु पर्नाको एउटा प्रमुख कारण गुट उपगुट भएको औंल्याइए पनि शीर्ष नेतहरु अझै गुट उपगुटलाई नै मलजल दिइरहेका छन् । कांग्रेस प्रमुख रुपमा तीन गुटमा विभाजित छ भने प्रभावशाली नेताहरुको छुट्टै उपगुट पनि चलमलाइरहेको छ ।

राष्ट्रिय राजनीति तथा समसामयिक मुद्दालाई एकतावद्ध ढंगले प्रभावकारी रुपमा उठाउन नसकेको आरोप लागिरहेको बेला पछिल्लो समय कांग्रेस नेताहरु गुटगत भेलामा रमाउन थालेका छन् । सभापति शेरवहादुर देउवा पक्षका नेताहरुको भेला भएको भोलिपल्टै शीर्ष नेताहरु रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले सोमबार भेला गरी पार्टीभित्र गुट मौलाएको संकेत दिएका छन् ।

प्रतिपक्षको भुमिकामा समेत कमजोर रहेको कांग्रेस आन्तरिक रुपमा एकताबद्ध भएर अघि बढ्ने बताइदँै आएको थियो । हालै जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आयोजना गरी संघीय संरचनाअनुसार पार्टीको सांगठनिक ढाँचा तयार पार्नका लागि विधान संशोधन गर्न महासमिति बैठक आव्हानको तयारीमा भइरहेको छ ।

यस्तो अवस्थामा मौलाउदै गएको गुटउपगुटका कारण विधान संशोधन मस्यौदा समितिनै गठन हुनसकेको छैन । साथै पार्टीभित्र केन्द्रीय विभागलाई भन्दा बढी महत्व दिइएको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान समेत १३ औं महाधिवेशनपछि निष्कृयप्रायः छ ।

कांग्रेस नेताहरुको गुटगत भेला पार्टी संगठनलाई थप मजवुत बनाउदै अझ चलायमान बनाउन केन्द्रित रहेको बताइँदै आएको छ । तर यस्ता गुटगत भेलाहरु पार्टी र पार्टी संगठनको हितको लागि भन्दा नेताहरुको व्यक्तिगत स्वार्थ पुरा गर्नका लागि हुने गरेको आरोप लागिरहेको छ ।

यद्यपि देउवा पक्षको भेलामा पार्टीलाई एकतावद्ध ढंगले कसरी लैजाने र पार्टी संगठनलाई कसरी थप चलायमान बनाउने भन्ने बारेमा छलफल भएको सहमहामन्त्री डा.प्रकाशशरण महत बताउनुहुन्छ । यस्तै सोमबारको पौडेल र सिटौला पक्षको भेलामा पनि पार्टीलाई एकतावद्ध र प्रभावकारी बनाउनेबारे छलफल भएको केन्द्रीय सदस्य नवीन्द्रराज जोशी बताउनुहुन्छ ।

केस जोशी भन्नुहुन्छ– ‘मुख्य कुरा पार्टीलाई एकतावद्ध र सशक्त रुपमा अघि लैजाने विषय नै हो ।’

विधानअनुसारका विभिन्न महत्वपुर्ण समितिहरु अझै गठन नभएको, विधान संशोधन समिति नबनेको र महासमितिको मिति नतोकिएको विषयमा छलफल भएको उहाँको भनाइ छ । केस जोशी थप्नुहुन्छ–पार्टी विधिविधानअनुसार चल्नुपर्छ । विधानअनुसारका समिति र विभागहरू तत्काल गठन हुनुपर्छ । महासमितिको मिति तोकी वृहत्तर एकताका साथ पार्टी अघि बढ्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्