डुबानबाट भक्तपुरमा ११ करोड भन्दा बढिको क्षति



पुष्कर बुढाथोकी, भक्तपुर ।

भक्तपुरमा आएको बाढी, पहिरो र डुबानका कारण ११ करोड ९३ लाख ५० हजार १२५ रुपैया बराबरको क्षति भएको छ ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले गत २७ र २८ गते परेको अविरल वर्षाको कारण आएको बाढी, पहिरो र डुबानका कारण भएको क्षतिको विवरण सार्वजनिक गर्दै सो जानकारी दिनु भएको हो ।

चाँगुनारायण नगरपालिकामा पहिरोका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको, डुबानमा परेकाहरु ४ जना घाईते भएको १११ जनाको सकुशल उद्धार गरिएको उहाँले जानकारी दिनुभयो ।

डुबानमा ५२२ र पहिरोमा १५ गरि ५३७ घर टहरामा क्षति पुगेको, २८ वटा उद्योग, कलकारखाना र पेट्रोल पम्प, १३३ वटा किराना, होलसेल पसल, १ सडक, १ पुल, २ अस्पताल र २ विद्यालयमा क्षति पुर्याएको छ । बाढीले ३७ वटा बंगुर, ८२५ वटा कुखुरा बगाएको छ ।

उद्योग, कलकारखाना र पेट्रोल पम्पमा करिब ३ करोड ९३ लाख ९५ हजार १२५ रुपैया, किराना, होलसेल पसलमा करिब ४ करोड, ४६ लाख १३ हजार रुपैया, अस्पतालमा ३ करोड ४० लाख १६ हजार रुपैया, मेरिगोल्ड ईङ्गलिस स्कूल बालकोटमा ३ लाख रुपैया, चौपाया, पशुपंक्षीमा करिब १० लाख २६ हजार रुपैया बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक रहेको प्रजिअ भट्टले जानकारी दिनुभयो ।

प्रहरी परिचालन गरि संकलन गरिएको क्षति विवरण सार्वजनिक गर्दै उहाँले सम्बन्धित नगरपालिकाहरुबाट थप क्षति विवरण माग गरिरहेको र आउँन बाँकी रहेको उहाँको भनाई छ ।

तथ्यांक अनुसार बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रमा करि रु. ३ करोड ४१ लाख ६१ हजार, र चाँगुनारायण नगरपालिकामा रु. २३ लाख ९८ हजार बराबरको क्षति भएको छ । चाँगुनारायण नपाको सुडालमा २ वटा पक्कि र १३ वटा कच्चि घर गसर करिब रु. ५० लाख बराबरको क्षति भएको छ ।

प्रजिअ भट्टका अनुसार बागिश्वरीमा ३ जना मानवीय क्षति भएको र सबभन्दा बढी भौतिक क्षति मध्यपुरथिमि क्षेत्रमा भएको अनुगमनका क्रममा पाईएको बताउनुभयो । भत्किएका ठाउँमा ग्याभिङ्ग पर्खाल लगाउँने, डुबान क्षेत्रमा शुद्ध खानेपानी वितरण गर्ने। सडक सूचारु गर्ने लगायतका कारमका लागि सम्बिन्धत कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएअनुरुप काम भईरहेको उहाँको भनाई छ ।

उद्धार जारी रहेको बताउँदै उहाँले भन्नुभयो–“हिजो बिहानदेखि दिनभरी माननीय महेश बस्नेतको नेतृत्वमा प्रशासन, सबै सुरक्षा निकायका प्रमुख, नगर प्रमुखहरु, जनप्रतिनिधीहरु सहित नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी करिब ७० जनाको टोलीले सरसफाई गरि डुबानमा परेको व्यापारीको गोदामका सामानहरु निकाल्ने र उद्धार गर्ने कार्य गरियो ।”
२९ गते बसेको जिल्ला विपद् व्यबस्थापन समितिको बैठकमा चारवटै नगरपालिकाले २४ घण्टा भित्र क्षति विवरण संकलन गरेर प्रशासनलाई बुझाउँने र राहत वितरण गर्ने प्रतिबद्धता जनाए पनि आजसम्म कुनै पनि नगरपालिकाले क्षति विवरण बुझाएका छ्रैनन ।

जनप्रतिनिधी जनता कै काममा उदास भएको र चासो नदिएको गुनासो बढेको छ ।

प्रतिक्रिया दिनुहोस्