अपाङ्गता भएका १४ जनालाई सहायता सामग्री वितरण



विमल विष्ट, डोटी ।
डोटीको पूर्वीचौकी गाउँपालिकाका विभिन्न वडाका १४ जना अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामग्री वितरण गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुलाई दैनिक जीवनयापन गर्नमा सहज होस् भन्ने उद्देश्यले लुथ्रन विश्व फेडरेशन र सर्वाङ्गिण अपाङ्गता विकास समाज कैलालीको सहयोगमा उपेक्षित समुदाय शसक्तिकरण तथा विकास मञ्च डोटीले सिलगढीमा एक कार्यक्रमको आयोजना गरी सो सामाग्री वितरण गरेको हो ।

जसमध्ये ४ जनालाई ह्विल चियर, ३ जनालाई ट्राई साईकल, ५ जनालाई सेतो छडी र २ जनालाई बैशाखी वितरण गरिएको उपेक्षित समुदाय शसक्तिकरण तथा विकास मञ्चका कार्यक्रम संयोजक कृष्ण उपाध्यायले बताउनु भयो ।

उहाँले भन्नु भयो –‘गाउँघरमा दुखःपूर्ण जीवन बिताइरहेका विभिन्न खालका शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई दैनिक जिवनयापनमा सहज होस् भनी सहायता सामाग्री वितरण गरिएको हो,जसले गर्दा उहाँहरुलाई अवश्य पनि सहज हुन्छ ।’

अपाङ्गता सहायता सामाग्री ट्राई साईकल पाएपछि आफुलाई हिडडुल गर्नमा निकै सहज हुने खुट्टाको अपाङ्गता भएका पूर्वीचौकी गाउँपालिका ५ काँडामाण्डौका रणबहादुर बोगटीले बताउनु भयो ।

उपेक्षित समुदाय शसक्तिकरण तथा विकास मञ्चले अपांगता भएका व्यक्तिहरुका क्षेत्रमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्