काठमाडौंमा चिनियाँ विद्यार्थी



नेपाल समाचारपत्र, काठमाडौँ ।
पूर्वी चीनको छिन्ताओ प्रान्तका विद्यार्थी नेपाल र चीनबीच एकआपसमा सांस्कृतिक सम्बन्ध सुधार गर्न सातदिने नेपाल भ्रमणमा आएको छ ।

२३ विद्यार्थी र २ शिक्षक तथा ३ टिम लिडरका साथ उनीहरु यति बेला काठमाडौंका विभिन्न ठाउँमा घुम्दै नेपालबारे जानकारी लिन व्यस्त छन् । ११ देखि २१ वर्ष उमेर समूहका उनीहरु नेपालको संस्कृति, रीतिरिवाजका बारेमा अध्ययन गर्दै छन् ।

यही सन्दर्भमा काठमाडौं बसाइका क्रममा सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थीसँग उनीहरुले आफ्ना अनुभव साटासाट गरेका छन् ।

नेपाल र चीनका विद्यालयबीच दौत्य सम्बन्ध स्थापना गर्ने उद्देश्यले नेपाल आएको उनीहरुको भनाइ छ ।

पहिलोपटक नेपाल आएको अनुभव सुनाउँदै शिक्षिका एली भन्छिन्– ‘नेपाल र चीनबीच धेरै कुरा समान रहेछ, खाना चाहिँ नेपाली अलि बढी मसलेदार रहेछ ।’

चीनका र नेपालका धेरै महिला बढी शिक्षण पेसामा नै आबद्ध भएका, परिवार पाल्ने जागिर खाने व्यापार व्यवसाय गर्ने तरिका समान नै रहेको उनको भनाइ थियो ।

त्यस्तै अनुभव छ अर्का विद्यार्थी फेलिक्सको । नेपाल आउनेबित्तिकै बिरामी भए पनि यहाँका विद्यार्थी साह्रै मिजासिला र सहयोगी भएको अनुभव फेलिक्सले सुनाए ।

यस कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने उनीहरुको सोच छ । सातदिने काठमाडौं बसाइमा विभिन्न चित्रकला, पेन्टिङ, पेपर क्राफ्ट आदि सिकाएका थिए । नेपालको शिक्षण विधि, संस्कृति, रीतिरिवाज राम्रो रहेको उनीहरुको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्