सौराहा–पोखरा सुविधासम्पन्न बस सञ्चालन गरिने



चितवन,  सौराहाबाट पोखरा र पोखराबाट सौराहाका लागि सुविधासम्पन्न पर्यटक बस सञ्चालनमा ल्याइने भएको छ । पोखरा जगदम्बा ट्राभल्सले भोलि मंगलबारदेखि दैनिक सौराहाबाट पोखराका लागि एउटा र पोखराबाट सौराहाका लागि एउटा बस सञ्चालन गर्न लागेको हो ।

ट्राभल्सका अध्यक्ष केशव अधिकारीका अनुसार २१ जनाको क्षमता भएको सो बसको एकतर्फी भाडादर रु एक हजार ५०० रहेको छ । सो भाडाबापत यात्रुले बिहानको खाजा, खाना, चिया, कफी, चिसो पेय पदार्थसँगै पत्रपत्रिका पढ्न पाउने उहाँले बताउनुभयो । बसमा आरामले सुतेरसमेत यात्रा गर्न सकिने अधिकारीको भनाइ छ ।

सौराहाबाट हाल एउटा पर्यटक बस र एउटा भाडाको गाडी पोखरा दैनिक आवतजावत गर्ने गरेको छ । क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले सुविधासम्पन्न बस सञ्चालनसँगै खर्च गर्न चाहने पर्यटकका लागि सहज हुने बताउनुभयो । पछिल्लो समय पर्यटकले सुविधा खोज्दै गएको भन्दै उहाँले यससँगै चितवनको सौराहा र कास्कीको पोखराका बीचमा पर्यटक आवतजावतका लागि सहज हुने बताउनुभयो ।

पोखरा जगदम्भा ट्राभल्सको बस बिहान ७ः३० बजे सौराहाबाट र सोही समयमा पोखराबाट छुट्ने छ । सो ट्राभल्सका ६० वटा बस पोखराबाट काठमाडौँ, विराटनगर, धनगडी, काँकडभित्ता, धरानलगायतका शहरमा सञ्चालन हुँदै आएका छन् ।
रासस

प्रतिक्रिया दिनुहोस्