एभरेस्ट एकेडेमीका ६३ विद्यार्थी दीक्षित



नयाँ बानेश्वरमा अवस्थित एभरेस्ट फिल्म एकेडेमीले विभिन्न विधामा अध्ययन गरेका फिल्म विद्यार्थीलाई दीक्षित गरेको छ। एकेडेमीले आइतबार राजधानीमा एक समारोहको आयोजना गरेको थियो। दीक्षान्त समारोहमा फिल्म मेकिङअन्तर्गत निर्देशन, छायांकन, भीएफएक्ससहित सम्पादन र अभिनय विधामा सो एकेडेमीबाट १ वर्षे डिप्लोमामा अध्ययन गरेका पहिलो र दोस्रो ब्याचका ६३ विद्यार्थी दीक्षित भएका थिए।

विद्यार्थीलाई प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले दीक्षित गरेका थिए। ‘फिल्म पढाउने यस्तो एकेडेमी पनि नेपालमा रहेछ भन्ने यसै एकेडेमीबाट थाहा भयो’, मन्त्री बास्कोटाले भने– ‘फिल्मको विकासका लागि यस्तो एकेडेमी सञ्चालनमा ल्याएकोमा खुसी लागेको छ। विद्यार्थीहरूले यो अवसरलाई सदुपयोग गर्नुहोला।’ अभिनेता तथा निर्माता निर्देशक भुवन केसीले फिल्म क्षेत्रका विभिन्न विधामा दक्ष जनशक्ति उत्पादन गर्न एकेडेमी सञ्चालनमा ल्याएकोमा एकेडेमी र त्यसका अध्यक्ष तथा अभिनेता सुनिल थापालाई बधाई ज्ञापन गरे।

फिल्म लेखक तथा निर्देशक एवं एकेडेमीका निर्देशन विधाका अध्यापक लक्ष्मीनाथ शर्माले विद्यार्थीहरू क्षमतावान् भएको चर्चा गरे भने विल्सनविक्रम राईले फिल्म क्षेत्र सजिलो नभएकाले एकेडेमीको नामजस्तै शिखरतर्पm लाग्ने दिशामा जान सुझाए। एकेडेमीका अध्यक्ष सुनिल थापाले आफ्नो संस्थाबाट स्तरीय विद्यार्थी तयार भएको बताए। ‘एकेडेमीका दुवै ब्याचबाट क्वालिटी बेस स्टुडेन्ट तयार भएका छन्। सबै विधाका यी स्टुडेन्टले इन्टरनेसनल अवार्ड जितेपछि मन्त्रीज्यूले पनि गर्व गर्नुहुन्छ’ –उनले भने। थापाले एकेडेमीले आफ्ना विद्यार्थीलाई लिएर सर्ट फिल्म र राम्रो फिल्म बनाउनेसमेत बताए।

 

प्रतिक्रिया दिनुहोस्