साना व्यवसायीलाई भ्याट अनिवार्य नगर्न आग्रह



काठमाडौं, (नेस)
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. युवराज खतिवडासमक्ष भेट गरी साना तथा मझौला उद्यमी व्यवसायीलाई भ्याटमा अनिवार्य दर्ता गर्ने व्यवस्थाबाट उत्पन्न समस्या तथा महिला उद्यमशीलता विकास कोषको रकम वृद्धि गायतका विषयमा ध्यानाकर्षण गराएको छ ।

महासंघको प्रतिनिधिमण्डलले अर्थमन्त्रीस“गको भेटमा ब्युटी पार्लर व्यवसाय र सुटिङ सर्टिङको सामान सहितको टेलरिङ व्यवसाय जस्ता स–साना व्यवसायलाई अनिवार्य भ्याटमा दर्ताको व्यवस्थाबाट यी पेसा व्यवसाय लोप भएर जाने परिस्थिति उत्पन्न भएकाले यसमा पुनर्विचार गर्न आग्रह गरेको थियो । प्रतिनिधिमण्डलले यी व्यवसायहरूमा थ्रेसहोल्डको आधारमा मूल्य अभिवृद्धि करमा दर्ता गर्ने व्यवस्था हुन सुझाव पेश ग¥यो ।

साथै प्रतिनिधिमण्डलले अर्थमन्त्री समक्ष घरेलु तथा साना उद्योग विभाग अन्तर्गत सञ्चालित महिला उद्यमशीलता विकास कोषबाट लघु, घरेलु उद्योगका महिला उद्यमीहरूलाई उद्यम व्यवसाय विकास तथा विस्तार गर्ने कार्यमा सहयोग पुग्दै आएको र कर्जाको माग समेत वृद्धि भइरहेको सन्दर्भमा नया“ बजेटले कोषको रकम कटौती गरेकोतर्फ चिन्ता प्रकट गर्दै कोषको रकम वृद्धि गर्न आग्रह ग¥यो ।

सो अवसरमा अर्थमन्त्री डा. खतिवडाले महासंघबाट स–साना व्यवसायलाई अनिवार्य भ्याटमा दर्ता हुने व्यवस्थामा पुनर्विचार गर्न गरिएको आग्रह, समस्या तथा सुझावलाई मन्त्रालयले सक्दो सहयोग गर्ने आश्वासन दिनु भयो ।

अर्थमन्त्री खतिवडाले निश्चित समयको लागि महिला उद्यमशीलता विकास कोषको लागि माग अनुसारको रकम थप गरी महिला उद्यमीहरूलाई ऋण प्रवाहमा सहयोग गर्ने प्रतिबद्धतासहित आर्थिक वर्ष २०७५÷७६ को बजेट बक्तव्यमा महिला उद्यमीहरूबाट सञ्चालन हुने परियोजनामा आधारित १५ लाखसम्मको सामूहिक ऋणमा ६ प्रतिशत ब्याज अनुदानको व्यवस्था गर्ने व्यवस्था पनि क्रमशः कार्यान्वयन गर्दै जाने विश्वास दिलाउनु भयो ।

प्रतिनिधिमण्डलका सदस्यहरुमा महासंघको महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठ, महासंघको कार्यकारिणी समितिका सदस्य एवम् महिला उद्यमी महासंघ, नेपालका अध्यक्ष शारदा रिजाल, नेपाल घरेलु तथा साना उद्योग महासंघका महिला उद्यमी विकास समितिका सभापति शिवा उपाध्याय, नेपाल कपडा तथा सिलाई व्यवसायी संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ र महासंघका उपमहानिर्देशक मीना श्रेष्ठ हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्