फ्रान्स २१ औं विश्वकपका च्याम्पियन



फिरोज राजोपाध्याय, काठमाडौं
मस्कोस्थित लुज्नीकी स्टेडियममा अन्तिम सीटी बजेपछि फ्रान्सले ठ्याक्कै २० वर्षपछि फिफा विश्वकपमा आफनो आधिपत्य जमाएको छ ।

आइतबार भएको फाइनल खेलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएर फ्रान्स २१ औं विश्वकपको च्याम्पियन बन्यो । १९९८ मा जिनेदिन जिदानको नेतृत्वमा फ्रान्सले पहिलो पटक विश्वकप ट्रफी उचाल्दा सो विजेता टोलीमा एक सदस्य डिडियर डेसक्याम्प पनि थिए ।

उनै डेसक्याम्पको प्रशिक्षकत्वमा फ्रान्सले फेरि विश्वकप उपाधि हात पारेको छ । यो उपाधिले दुई वर्ष अघि आफनै घरेलु मैदानमा भएको युरो २०१६ को फाइनल हारेको घाउमा पनि मल्हम लगाएको छ ।

फ्रान्सलाई २१ औं विश्वकप संस्करणको च्याम्पियन बनाउन युवा खेलाडी एन्टोइन ग्रीजम्यान, पउल पोग्बा र किलिएन एम्बाप्पेले एक एक गोल गरे । फ्रान्सले एक गोल मारियो मान्डजुकीचको आत्मघाती गोल उपहार पाएको थियो । क्रोएसियाको तर्फबाट इभान पेरिसिच र मान्डजुकीचले एक–एक गोल गरेका थिए ।

१८ औं मिनेटमा ग्रीजम्यानको फ्रिकिकलाई हेडबाट क्लियर गर्न खोज्दा मान्डजुकीचले आफ्नै पोस्टमा गोल गरेका थिए । यहीबाट क्रोएसियाको दुर्भाग्य शुरु भएको थियो । त्यसो त २८ मिनेटमा क्रोएसियाले बराबरी गोल फर्कायो । इभान पेरिसीचले डिबक्सको छेउबाट सुन्दर गोल गरेका थिए । उनले कान्टेलाई छल्याएर अर्को पटक देब्रे खुट्टाबाट गरेको प्रहार जालीमा चुमियो। ह्युगो लोरिसको लागि कुनै मौका भएन ।

३४ औं मिनेटमा पेरिसिचको ह्यान्डबल भएपछि फ्रान्सले पेनाल्टी किक पायो । जसलाई ग्रिजम्यानले प्रहार गरे तर गोलकिपर सुहासिच उल्टो दिशामा डाइभ मारेपछि फ्रान्स २–१ को अग्रतामा रह्यो । यो ग्रिजम्यानको तेस्रो पेनाल्टी गोल हो भने यो विश्वकपमा उनको व्यक्तिगत चौथो गोल थियो । पहिलो हाफ २–१ ले समाप्त भयो । यसको मतलब दोस्रो हाफमा दुबैलाई ५०–५० मौका थियो ।

दोस्रो हाफमा पनि ३ गोल नै भए । पउल पोग्बाले ५९ औं मिनेटमा डिबक्सबाटै गोल गर्दै फ्रान्सलाई ३–१ को अग्रतामा राखे । यहीबाट खेलको नतिजा कतातिर धल्कने त्यसको तय भयो । फेरि ६५ औं मिनेटमा किलिएन एम्बाप्पेले करिब २२ यार्डबाट गोल थप्दा फ्रान्सले विश्व च्याम्पियन बन्ने लगभग तयारी ग¥यो । यद्दपि मान्डजुकिचले गोलकिपर लोरिसको क्लियर गर्न लाग्दा एक गोल गरेर गोलअन्तर ४–२ मा खुम्च्याए ।

तर यो गोलले क्रोएसियाको अघिल्ला खेलमा परिकल्पना भएको परिकथाको शृंखलामा थप रोमाञ्चक भने थप्न सकिएन । उनले ६९ औं मिनेटमा गोल गरेपछि बाँकी २१ मिनेटमा उनीहरु थप गोल गर्न असमर्थ भए । क्रोएसियाको पहिलो विश्वकप फाइनल नै ऐतिहासिक बनेको छ । च्याम्पियन बन्न नसकेपनि क्रोएसियाको यो फाइनल खेल स्मरण रहनेछ ।

प्रतिक्रिया दिनुहोस्