एकै दिनमा दुईवटा वेवारिसे शव



कृष्णउदास खनाल, वीरगन्ज ।

पर्सामा वेवारिसे अवस्थामा दुईवटा शव फेला परेका छन् ।

जिल्लाको बहुदरमाई नगरपालिकामा एक ६ बर्षिय बालक पोखरीमा मृत अवस्थामा भेटिएका छन् । मृतक बहुदरमाई नगरपालिका वडा नं २ बैरियाविर्ता टोलका शिवजी साहको छोरा आयुब साह भएको आशंका गरिएको छ । बिहान ८ बजेतिर खाना खाएर घरबाट निस्किएका आयुब दिउँसो गाउँको पूर्वपट्टी रहेको पोखरीमा मृत भेटिएको दावी स्थानीय बासिन्दाले गरेका छन् । आयुबको हत्या भएको दावी गर्दै स्थानीय बासिन्दाले पोखरीबाट शव निकाल्न दिएका छैनन् ।

२०७४ मंसिर १६ गते शिवजी साहको दाई सञ्जय साहको १० बर्षिय छोरा सुमित साहको पनि हत्या भएको थियो । घरबाट हराएको ४ दिनपछि सुमितलाई छुरा प्रहार गरी मारेर पोखरीमा फालिएको अवस्थामा शव फेला परेको थियो । स्थानीयले हेटौंडाबाट तालिम प्राप्त कुुकुर मगाएर अनुसन्धान गरेपछि मात्रै पोखरीबाट शव निकाल्न दिने अडान राखेका छन् । घटना स्थलमा ठूलो संख्यामा स्थानीय बासिन्दा भेला भएका छन् ।

पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने पोखरीमा शव देखिएको तर हात मात्रै बाहिर देखिएकोले पहिचान खुल्न नसकेको जानकारी दिए ।

त्यसैगरि पर्साको जगरनाथपुर गाउँपालिकामा एक अधवैंशे महिलाको शव भेटिएको छ । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं ४ सुहपुर स्थित गंगुली खोलाको किनारमा अन्दाजी ३५÷४० बर्षिया महिलाको शव फेला परेको हो ।

महिलाको शव सडिसकेकोले पहिचान खुल्न नसकेको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक सुबास बुढाथोकीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्