बगरमा सशस्त्रको चौविस घण्टे ड्युटी



मजदुरहरु आतंकीत, प्रहरी जवानलाई हैरानी

नानीराम नेपाल, सिन्धुपाल्चोक ।

बालुवा उत्खनन् रोक्ने भन्दै पछिल्लो पटक सशस्त्र प्रहरी समेत हतियारसहित चौविस घण्टे ड्युटीमा खटिएपछि सुनकोसी किनारमा दैनिक दर्जनौ पटक भागदौड मच्चिइरहेको छ । नेपाल प्रहरीले मात्रै बगरमा गस्ती गर्दै आएकोमा हतियारसहित सशस्त्र प्रहरी चौविसै घण्टा बगरमा खटीएपछि सुनकोसी नदी किनारका मजदुरहरु आतंकित बनेका छन् ।

‘सडकछेउमा पार्कीङ गरिराखेका गाडीका चावी थुतियो, मोटरसाइकलसमेत खोसेर लगे’, बलेफी गाउँपालिका ५ का सुदिप श्रेष्ठले भने, –‘सशस्त्र प्रहरीले अत्याचार गरिरहेको छ ।’ साताअघिदेखि सुनकोसी किनारको बलेफी–खाडीचौर खण्डको छातिखोलामा सशस्त्र प्रहरी चौविसै घण्टा तैनाथ हुँदै आएका छन् ।

बगरको चौविस घण्टे ड्युटीले गर्दा सशस्त्र प्रहरी जवानहरुलाई रातभर जग्राम बस्नुपर्ने बाध्यता छ । सीमा सुरक्षा बल लामोसाँघुका प्रमुख एस्पी मधुकृष्ण गड्तौलाले साताअघि सडकमा पार्कीङ गरिराखेका तिन वटा ट्रीपर नियन्त्रणमा लिएर बगरमा प्रहरी परिचालन गरेपछि स्थानीयवासी आतंकीत बनेका त छन नै, सशस्त्र प्रहरीका जुनियर अधिकृत र जवानहरु पनि हैरान बनेका छन् ।

‘माथिको आदेश मान्नै परिहाल्यो, रातभर बगर रुगेर बस्नुपरेको छ’, केहिदिनअघि मध्यरातमा बगरमा खटीएका एक सशस्त्र प्रहरी जवानले भने, –‘दिनमा ४ घण्टा मात्र सुतेर ड्युटीमा खटिनुपरेको छ ।’

कानुनतः बर्खायाममा नदीमा सावेल लगाउन समेत पाइँदैन । स्थानीय प्रशासनले बर्खायाममा नदीमा बालुवा उत्खनन्मा रोक लगाउँदै आएको छ । तर मजदुरहरु प्रहरी प्रशासनले आफुहरुलाई गरिखान समेत नदिएको आरोप लगाउँछन् ।

बालुवाको काम बर्खा याममा मात्रै हुने हुँदा सुनकोसी र इन्द्रवती किनारमा सुदुरदेखिका मानिसहरु मजदुरी गर्नका लागि आएका छन् । ‘सावेल चलाएरै पनि गरिखान नपाइने रहेछ, प्रहरी आउँछन, सावेल नै फालिदिन्छन्’, सुनकोसी किनारको बलेफी खण्डमा भेटिएका एक मजदुर भन्दैथिए, –‘काम खोज्दै यहाँ आइयो, दुख पो पाइयो ।’

गत वर्षहरुमा बर्खायाममै खोलामा स्काभेटरले बालुवा उत्खनन हुने गरेको भएपनि यसवर्ष प्रशासनले कडाइ गरेपछि स्काभेटरले उत्खनन् गर्ने काम रोकीएको छ ।

बगर आसपासका स्थानीय भने बर्खायाममा मजदुरहरुलाई बगरमा मजदुरी गर्न दिइनुपर्ने बताउँछन् । ‘मेसिन लगाउँन नदिनु तर मान्छेले सावेल लगाएरै मजदुरी गर्छु भन्दा किन अपराधीलाई जस्तो हातपात हुन्छ ?’, बलेफी गाउँपालिका ५ का सुरज श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस्