सत्ताको आँखा



कार्यकारीले दायाँ–बायाँ नहेरी फ्याट्टै भन्नुभो– ‘राजनीति गर्ने भए जागिर छोडेर आउ !’ दुई तिहाइको कार्यकारीले यस्ता तोरीलाउरे कुरा गर्या पटक्कै मन पर्या छैन धरहरालाई । हुन त मदन भण्डारीको दर्शनबाट निर्देशित कार्यकारी !, भण्डारीले राजालाई श्रीपेच फुकालेर खुलामञ्चमा आउ भन्या कुरा सम्झेर होला एउटा बबुरो कर्मचारीलाई जागिर छोडेर आउ भनेका । एउटा बबुरोलाई न्वारनको बल लगाएर थर्काउनुपर्छ र भन्या । धरहराले मरिगए बुझ्न सकेन । मन नपरे जागिरै चट् पार्दिए भैहाल्यो नि !

सत्ताको आँखा त जुन तन्त्राँ पनि उस्तै हुँदो रहेछ । धरहराले त ठोकुवा साथ भन्ने गरेको छ विचरा मकै खेतीका लेखक कृष्णलाल सुब्बा अधिकारी खराब मान्छे न रहेछन् । राणाको रसदपानी खाएर राणाकैविरुद्ध प्रतीकात्मक किताब लेख्ने ? कम्युनिस्टे समाजवादी सरकारको पालाँ त मान्छेलाई ठाडै गिरफ्तार गरेर बालुवाटाराँ नजरबन्द गर्न पाइँदो रहेछ ।

अनि नाथे एउटा कर्मचारीले अनशन बसेर समाजवाद आउने गौंडो थुन्ने ? कृष्णलालबाट सिक्न पर्दैन ? धरहराले अर्काे कुरो नि बुझ्या छैन । आवाज उठाउनेलाई तलब खा छस् चुप लाग् भन्ने कार्यकारीले औषधोपचार र सेवा–सुविधाका नाममा पैसो लिने अनि कार्यकर्तालाई आफ्नै बारीको आरु दिएझैं दिने पैसो कहाँबाट आ हो ? जस्ताको तस्तै उत्तर पाए धरहरा आभारी हुने थियो ।

प्रतिक्रिया दिनुहोस्