युवालाई गाउँमै राक्ने सराहनीय कार्य



सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था गरेसँगै स्थानीय तहले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्न थालेका छन् । आर्थिक वर्ष २०७३/७४ को बजेटमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखेर बिना ब्याज ऋण पाउने घोषणा गरेका थिए ।

तत्कालिन सरकारले घोषणा गरेको कार्यक्रमको थालनी पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकाबाट शुरु भएको छ । गाउँपालिकाले युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन थालेको छ । सार्वजनिक सूचना नै जारी गरी प्रस्ताव मागेर गाउँपालिकाले कृषि तथा पशुपालनका लागि ऋण दिन शुरु गरेको हो ।

शैक्षिक बेरोजगारी हटाउन युवालाई शैक्षिक प्रमाण पत्रका आधारमा ऋण दिने कार्यक्रम निकै नै प्रशंसनिय छ । अनपढ युवा सीप बिना नै विदेशिने अनि पढेका युवा पनि प्रमाणपत्र थन्काएर खाडी मुलुक दुबई, कतार, साउदी लगायतका देशमा भेँडा चराउनेदेखि कुल्लीको काममा जान बाध्य भएपछि युवा स्वरोजगारको लागि प्रमाणपत्र धितो राखेर निव्र्याजी ऋण दिने घोषणा गरिएको थियो । यो कार्यक्रम कार्यान्वयनमा आएसंगै शैक्षिक वेरोजगार दर घट्ने आशा पलाएको छ ।

नेपालमा डिग्री पढेर पनि विदेशमा भाँडा माझ्न जाने युवाको ताँती अझैपनि घटेको छैन । शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यक्रम कार्यान्वयनमा आएपछि शिक्षित युवाहरुमा अब केही हुने भयो भनेर आशाको किरण देखिन थालेको छ । पाल्पाको बगनासकाली गाउँपालिकाबाट शुरु भएको ऋण दिने अभियान अब देशभरका स्थानिय निकायले पनि थालनी गर्नुपर्छ ।

आफ्नो क्षेत्रमा भौतिक पुर्वाधार निर्माणमा मात्रै नीति तथा कार्यक्रम बनाएका स्थानिय तहले शैक्षिक वेरोजगार लक्षित कार्यक्रम संचालनमा ध्यान दिनुपर्छ । शिक्षित जनशक्ति विदेशमा पलाउन नहुन भनेर गाउँपालिका शुरु गरेको कार्यक्रमले गाउँमै स्वरोजगारीतामार्फत रोजगारी सञ्चालन हुने कुरामा दुई मत छैन । बगनासकाली गाउँपालिकाले युवा लक्षित युवा स्वरोजगार कृषि विकास, पशु सेवा कार्यक्रम सञ्चालनका लागि चालू वर्षमा विनियोजित रकमबाट ऋण उपलब्ध छ ।

गाउँघरमा रोजगार सिर्जना गर्नको लागि ठूलो भोलमको बजेट विनियोजन गर्नुपर्छ भन्ने पनि छैन । थोरै रकमबाट पनि गाउँमा उद्यम गरी स्वरोजगार बन्न सकिन्छ । पछिल्लो समय गाउँघरमा व्यवसायिक कृषि, पशुपंक्षी, बाख्रापालनमा आर्कषण बढ्दै गएको छ । यस क्षेत्रमा युवाहरुलाई प्रेरित गर्न सकेमात्र शैक्षिक वेरोजार कम हुँदै जाने निश्चित छ ।

शैक्षिक वेरोजगार हटाउनको लागि बगनासकाली गाउँपालिकाबाट पाठ सिक्दै शैक्षिक प्रमाण पत्र धितो राखेर युवालाई ऋणको व्यवस्था गर्न देशभरका गाउँपालिका तयार हुनुपर्छ ।
– अमर कुँवर, दार्चुला
हाल: सीतापाइला, काठमाडौं

प्रतिक्रिया दिनुहोस्