बेल्जियमलाई तेस्रो स्थान, गोलमा कीर्तिमान



मस्को, (एजेन्सी)
बेल्जियमले इंग्ल्यान्डलाई २–० गोलअन्तरले हराएर २१औं विश्वकपअन्तर्गत तेस्रो स्थान हासिल गरेको छ ।

सेमिफाइनलमा फ्रान्ससँग हारेपछि बेल्जियमको पहिलो पटक विश्वकप फाइनलमा पुग्ने सपना चकनाचुर भएको थियो । त्यो चोट बेहोरेको टोलीका लागि यो जितले मलहम लगाइदिएको छ । शनिबार सेन्ट पिटर्सबर्गमा भएको तेस्रो स्थानको खेलमा शुरुवातमा एक गोल र अन्त्यमा एक गोल गरेर बेल्जियमले जित हात पा¥यो । तेस्रो स्थान बेल्जियमको लागि विश्वकपमा सबैभन्दा ठूलो उपलब्धि हो । यसअघि टोली १९८६ विश्वकपमा सेमिफाइनल पुगेको थियो ।

खेलको चौथो मिनेटमा थोमस मीउनीएरले गोल गरेका थिए । त्यसपछि ८२ औं मिनेटमा कप्तान इडेन हजार्डले गोल थपेका थिए । यो गोलले इंग्ल्यान्डको लागि खेलमा फर्कने बाटो बन्द भएको थियो । इंग्ल्यान्डलाई सेमिफाइनलमा क्रोएसियाले एक गोलले पछि परेर पनि २–१ ले हराएको थियो ।

बेल्जियमको गोलमा कीर्तिमान
जारी विश्वकपमा बेल्जियमले कूल १६ गोल गरेको छ । योसँगै बेल्जियम २००२ देखिको विश्वकपमा सबैभन्दा गोल गर्ने टोली भएको छ । टोलीले ब्राजिलले जापान र दक्षिण कोरियामा आयोजित विश्वकप २००२ मा गरेको १५ गोलको कीर्तिमान तोडेको छ । बेल्जियमले १–० ले फ्रान्सविरुद्ध हारेको सेमिफाइनल खेलमा मात्रै गोल गर्न सकेन ।

केनको गोल्डेन बुट लगभग पक्का
यस खेलमा बेल्जियमका स्ट्राइकर रोमुलु लुकाकुले गोल गर्न नसकेपछि इंग्लिस कप्तान ह्यारी केनलाई राहत भएको छ । केनका लागि गोल्डेन बुट लगभग पक्का जस्तै भएको छ । यदि फाइनल खेलमा एम्बाप्पे र ग्रिजम्यानले धेरै गोल गरे मात्रै केनको गोल्डेन बुट पाउने सम्भावना नहुन सक्छ । नत्र भने ६ गोल गरेका केन गोल्डेन बुटका विजेता दावेदारीमा अग्रपंक्तिमा छन् ।

प्रतिक्रिया दिनुहोस्