२१ औं विश्वकप च्याम्पियन को बन्ला ?



कविरस शर्मा, काठमाडौं
क्रोएसियाले जारी विश्वकपको फाइनलसम्मको यात्रा सम्भव पार्दा सन् २००४ को यूरोपियन कपमा ग्रीसले गरेको प्रदर्शनलाई स्मरण गराएको छ ।

त्यतिबेला फुटबल जगतमा खासै वजन नभएको र कसैले पनि नसोचेको ग्रीसले क्वाटरफाइनलमा फ्रान्स, सेमीफाइनलमा चेक रिपब्लिक र फाइनलमा पोर्चुगललाई हराई पहिलो पटक यूरोपियन कपको उपाधि जितेको थियो । यदि आइतबार राति हुने फाइनलमा क्रोएसियाले अघिल्ला खेलमा जस्तै प्रदर्शनलाई निरन्तरता दिएमा ग्रीसकै सफलताको पुनरावृति हुनेमा दुइमत नहोला ।

हुनत जारी विश्वकप सुरु हुनु अगाडी क्रोएसियाले ३ प्रतिशत मात्र उपाधि जित्ने सम्भावना रहेको भनेर फुटबल विशेषज्ञले आंकलन गरेका थिए । अझ ब्रिटिश मिडियाले त क्रोएसियालाई हेपेर नै लेखेको थियो । जसलाई गलत सावित गर्दै क्रोएसिया अहिले फाइनलसम्म पुगिसकेको छ।

जारी विश्वकपमा क्रोएसियाले खेलेको ६ वटै खेलमा शतप्रतिशत जित हासिल गरेको छ । समूह चरणमा नाइजेरिया, अर्जेन्टिना र आईसल्याण्डको चुनौती समाप्त पारेको क्रोएसियाले अन्तिम १६ मा डेनमार्कलाई र क्वाटरफाइनलमा रुसको चुनौती टाईब्रेकरमा समाप्त पारेको थियो । यस्तै सेमिफाइनलमा बलियो इंग्ल्याण्डलाई अतिरिक्त समयमा २–१ ले हराउँदै ऐतिहासिक पहिलो पटक फाइनलयात्रा गरेको हो।

हेड टू हेड
फ्रान्स र क्रोएसियाबीच हालसम्म पाँच खेलमा भेट भएको छ । विश्वकपमा भने दुई टोलीले एक पटक खेलेका छन् । मैत्रीपूर्ण र युरोकप गरी चार भेट भएको छ । सन् १९९८ को विश्वकपको सेमिफाइनलमा फ्रान्सले क्रोएसियालाई २–१ ले हराएको थियो । उक्त विश्वकप फ्रान्सले जितेको थियो भने क्रोएसिया तेस्रो भएको थियो ।

सन् १९९९ मा भएको मैत्रीपूर्ण खेलमा फ्रान्सले ३–० को जित निकालेको थियो । त्यस्तै सन् २००० मा भएको मैत्रीपूर्णमा पनि फ्रान्सले २–० को जित निकालेको थियो । सन् २००४ को युरोकपमा दुवैले २–२ गोलको बराबरी खेलेको थियो भने सन् २०११ मा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरी खेलेका थिए ।

क्रोएशिया जारी विश्वकपमा सहभागी ३२ राष्ट्रमध्ये सबैभन्दा कम जनसंख्या रहेको तेस्रो मुलुक हो । क्रोएसियाको जनसंख्या करिब ४२ लाख रहेको छ । तर फाइनल पुग्ने क्रममा क्रोएसियाले कहिल्यै सूर्य नअस्ताउने साम्राज्य इंग्ल्याण्डलाई हराएको थियो। पछिल्लो पटक इंग्ल्याण्डले सन् १९९० मा सेमिफाइनल खेल्दा क्रोएसिया देशको अस्तित्वमा नै रहेको थिएन। सन् १९९१ मा स्वतन्त्र राष्ट्रको रुपमा उदाएको क्रोएसिया सन् १९९४ को फिफा विश्व वरियतामा नेपाल भन्दा २ स्थान मात्र माथि १ सय २५ औं स्थानमा रहेको थियो ।

तर बलियो युगोस्लाभियाली फुटबल संरचनाको जगरहेका कारण सन् १९९८ को फिफा विश्वकपमा पहिलो पटक खेल्दै गरेको क्रोएसियाले सेमीफाइनलसम्मको यात्रा तय गरेर सनसनी मचाएको थियो । त्यतिबेला पनि सेमिफाइनलमा आयोजक फ्रान्सको सामना गरेको क्रोएसिया पराजित भएको थियो ।

त्यसपछि भने क्रोएसियाले तेस्रो स्थानको लागि भएको खेलमा डेनिस वर्गक्याम्प, प्याट्रिक क्लुभर्ट र डेभिड जस्ता सशक्त खेलाडीले सु्सज्जित नेदरल्यान्ड्स जस्तो बलियो टोलीलाई २–१ हराई तेस्रो स्थान हासिल गरेको थियो । यति मात्र होइन उक्त प्रतियोगिताभरि ६ गोल गरेका क्रोएसियाका डाभोर सुकर सर्वाधिक गोलकर्ता समेत बनेका थिए।

जारी विश्वकपमा क्रोएसियाको एक पछि अर्को सफलतासंगै क्रोएसियाली राष्ट्रपति कोलिन्डा ग्राबर किटारोभिच पनि दर्शकदीर्घा सँगै रंगशालामा देखिएको थियो । यति मात्र होईन फाईनलमा हौसला दिलाउने मनसायले क्रोएसियाली सरकारी कर्मचारीले त आफ्ना खेलाडीको नाम अंकित जर्सी लगाएर कार्यालयमा काम समेत गरेका छन् । यसले सिंगो राष्ट्रमा उर्जा प्रवाह गरिरहेको देखिन्छ ।

फ्रान्सको फाइनल यात्रा
अस्टे«लियाविरुद्ध २–१ ले विजयी
पेरुविरुद्ध १–० ले विजयी
डेनमार्कविरुद्ध ०–० बराबरी
अर्जेन्टिनाविरुद्ध ४–३ ले विजयी
उरुग्वेविरुद्ध २–० ले विजयी
बेल्जियमविरुद्ध १–० ले विजयी

कडा अनुसासन
क्रोएसियाको सफलतामा टिम ब्यवस्थापन र कडा अनुशासनको ठूलो हात छ । जारी विश्वकप अन्तर्गत क्रोएशियाले नाजेरियाविरुद्ध खेलेको समूहचरणको पहिलो म्याचमा स्ट्राइकर निकोला कालिनीचलाई अनुशासन तोडेकोले घर फिर्ता पठाएको थियो।

कालिनीचले सुरुवाती ११ मा नराखेकोमा रिस पोखेका थिए। जसका कारण उक्त खेलमा सब्सिच्युट भएर मैदानमा प्रवेश गर्न नमानेपछि क्रोएसियाली म्यानेजर ज्लाट्को डालिचले उनलाई घर फिर्ता पठाएका थिए। फाइनलमा कलिनीच जस्तो सशक्त स्ट्राइकरको अभाव क्रोएसियाली टिमलाई खट्कीन सक्छ वा सक्दैन भनेर आइतबारको खेलपछि थाहा हुनेछ ।

खेलाडीको फिटनेस
युरोपेली क्लब फुटबलमा चम्किएका खेलाडीको साथ पाएको क्रोएसिया रुसी विश्वकपको सरप्राईज टोली बनेको छ । इभान राकिटिच, लुका मोड्रिच र मारियो मान्डुजुकीचको प्रर्दशनमा क्रोएसियाले रुसी विश्वकपमा सुखद अन्त्य गर्ने संकेत गरेको छ ।

यदि सेमीफाइनल खेलेका सुरुवाती ११ का खेलाडीहरुको फिटनेस दुरुस्त भएमा क्रोएसियाले पनि आफ्नो रणनीतिमा कुनै हेरफेर नगर्ने संकेत छ । क्रोएसियाले इंग्ल्याण्डविरुद्धको खेलमा फिटनेस परिक्षण पार गरेका सिमे भर्साल्ज्को र डेनिजेल सुबासिच अहिले लयमा देखिएको छ।

इंग्ल्याण्डविरुद्धको खेलअघि सामान्य चोटका कारण प्रशिक्षणमा संलग्न नरहेका डेजन लोभ्रेनले पनि आफू फर्ममा रहेको देखाइसकेका छन् । यस्तै सेमीफाइनलमा क्रोएसियाका निर्णायक गोलकर्ता स्ट्राईकर मारियो मान्डुजुकीचको फिटनेसलाई लिएर मात्र अहिले क्रोएसियालाई चिन्ताले सताएको छ। मार्सेलो ब्रोजोभिच र आन्द्रेज क्रामारिच पनि सुरुवाती ११ मा अटाउनेछन् ।

क्रोएसियाको फाइनल यात्रा
नाइजेरियाविरुद्ध २–० ले विजयी
अर्जेन्टिनाविरुद्ध ३–० ले विजयी
आइसल्यान्डविरुद्ध २–१ ले विजयी
डेनमार्कविरुद्ध टाइब्रेकरमा विजयी
रुसविरुद्ध टाइब्रेकरमा विजयी
इंग्ल्यान्डविरुद्ध २–१ ले विजयी

फ्रान्स दोस्रो उपाधि निकट
दुईवर्षअघि सम्पन्न यूरोपियन कपको फाइनलमा पोर्चुगलसँग हारेको फ्रान्स अहिले त्यो भन्दा प्रतिष्ठित उपाधि जित्ने संघारमा उभिएको छ । उक्त संस्करणको फाइनलमा फ्रान्स र ब्राजिलले भिडेका थिए। तर सो समय निकै चर्चित ब्राजिलियन स्ट्राइकर रोनाल्डो एकाएक सन्चो नभएपछि ब्राजिलको खेलमा ठूलै प्रभाव परेको थियो।

ब्राजिललाई फाइनलसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेलेका रोनाल्डो मैदानमा देखा परे पनि उनी निकै सुस्त देखिएका थिए। तर आयोजक फ्रान्सलाई रोनाल्डोको सुस्तताले धेरै फाइदा पुगेको थियो। जिनेदिन जिदानको २ गोल र इमानुएल पेटिटको १ गोलको मद्दतमा ब्राजिललाई ३–० ले पराजित गर्दै पहिलो पटक फ्रान्स फिफा विश्वकप च्याम्पियन बनेको थियो। तर अहिले रोनाल्डोको स्थान लुका मोड्रिचले लिनेछ भने मोड्रिच त्यतिबेलाको रोनाल्डो जस्तो अनफिट पनि छैनन ।

खेलाडीको प्रदर्शन
जारी विश्वकपको फ्रान्सेली टोलीमा १५ जना अफ्रीका मूलका खेलाडी रहेका छन् । जसमध्ये केहि चर्चित नाममा सेमीफाइनलका निर्णायक गोलकर्ता सामुएल उम्टीटीको पनि सामेल छन् । उनको जन्म क्यामरूनमा भएका हो । यस्तै स्टिभ मन्डाना कोन्गोमा जन्मेका हुन् ।

चर्चित खेलाडी पाउल पोग्बाको बुवा–आमा गिनीबाट बसांई सरेका हुन् । यसैगरी एन्गोलो कान्टे मालीबाट तथा ब्लाइसे मातुईडी एंगोलाबाट बसाई सरेका हुन् । जारी विश्वकपमा उदियमान किशोर खेलाडी क्लीयन एम्बाप्पेको आमा अल्जेरियाका र बुवा क्यामरूनका हुन् । यसैगरी प्रेसनेल कम्पेबे र स्टेभन एनजोन्जिको कोन्गोका हुन् भने कोरेन्टीन तोलिस्सोको बुवा टोगोका हुन् ।

युवा स्टार क्लीयन एम्बाप्पे फ्रान्सेली टोलीमा निकै जमेका छन् । स्ट्राईकर एन्टोइनी ग्रिजम्यानले समेत सन्तुलित प्रर्दशन गर्दै टोलीलाई सम्हालेका छन् । मिडफिल्डमा खतरानाक देखिएका पाउल पोग्बाले लय समाएका छन् । सेन्टर स्ट्राईकर ओलिभर जिरोडले गोल नगरेपनि टोलीलाई सहयोग गरिरहेका छन् ।

रणनीति
फ्रेन्च टिमले सेमीफाइनलमा उतारेको खेलाडीलाई नै पहिलो रोजाईमा राख्ने सम्भावना छ। तर दुइ वटा पहेँलो कार्डका कारण बेल्जियमविरुद्ध नखेलेका फ्रान्सका ब्लाइसे मातुईडीले भने सुरुवाती ११ मा कोरेन्टीन तोलिस्सोलाई स्थापन्न गर्ने प्रबल सम्भावना छ। बेल्जियमविरुद्ध प्राप्त मौकालाई गुमाएका ओलिभर जिरोडको विकल्पमा भने ओउस्माने डेम्बेले वा थोमस लेमार उपयुक्त हुन सक्नेछ।

नयाँ च्याम्पियनको अनुमान
विश्व फुटबल पण्डितहरुका अनुसार विश्वकपमा सन् १९५८ यता हरेक २० वर्षको अन्तरालमा नयाँ फुटबल राष्ट्रले जन्मेको तथ्यांक जारी गरेको थियो। जसअनुसार सन् १९५८ मा ब्राजिल, १९७८ मा अर्जेन्टिना,१९९८ मा फ्रान्सले जितेको तथ्य सार्वजनिक गरिएको थियो। र सन् २०१८ मा क्रोएसियालाई सम्भावित नयाँ च्याम्पियन राष्ट्र बन्नसक्ने अनुमान समेत गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्