त्रिविले खोज्यो ५२ निकायको सम्पत्ति



ईश्वरराज ढकाल, काठमाडौं
त्रिभुवन विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेका ५२ निकायको जमिनको विवरण खोजेको छ । त्रिविद्वारा गठित त्रिवि सम्पत्ति संकलन, संरक्षण तथा व्यवस्थापन समितिले भौतिक सम्पत्ति खोजी गरेको हो ।

प्रा.अनुपकुमार श्रेष्ठको संयोजकत्वमा गठित ११ सदस्यीय उक्त समितिले केन्द्रका २२ र उपत्यका बाहिरका ३८ निकायको जमिनको लागत तयार गरेको हो । विसं २०१६ सालमा त्रिवि स्थापना भएदेखि हालसम्म कुनै सम्पत्ति खोजी भएको थिएन । ‘जमिनको विवरण तयार गरेका हाँै’ –त्रिविका उपकुलपति प्राडा तीर्थ खनियाले भन्नुभयो ।

समितिलाई त्रिविको अन्य भौतिक सम्पत्ति खोज्ने अधिकार भए पनि हाललाई जग्गाको मात्र विवरण खोजिएको उक्त समितिका सदस्य सचिव निलमप्रसाद पोखरेलले बताउनुभयो । २०७३ सालमा गठित सो समितिले २०७४ सालको अन्त्यमा प्रतिवेदन बुझाएको थियो । प्राडा खनियाले प्रतिवेदनमा भएको सुझाव कार्यान्वयन गर्दै जाने बताउनुभयो ।

तथ्यांकअनुसार त्रिवि र यस मातहतका क्याम्पस र निकायको अधीनमा १ हजार ४ सय ७८ हेक्टर अर्थात् १ करोड ४७ लाख ८८ हजार ७ सय ५४ वर्गमिटर जग्गा छ । तीमध्ये १ करोड ३१ लाख ३६ हजार ९ सय ३१ वर्गमिटर जग्गा त्रिविको पूर्ण स्वामित्वमा रहेको छ । तथ्यांकअनुसार ९ लाख ९८ हजार ९ सय १६ वर्गमिटर जग्गा भोकाधिकार गरिएको छ । ६ लाख ५२ हजार ९ सय ३ वर्गमिटर जग्गा भोगचलन गरिएको वा आफ्नो स्वामित्वमा रहेको छ ।

अनुगमन समितिले देशभरका सबै निकायमा अनुगमन गरी प्रश्नावली तयार गरेको थियो । ११ पन्ने प्रश्नावलीमा उल्लेख भएको विषय, लालपुर्जा, सम्पत्ति विवरण खुल्ने कागजात संकलन गरी जग्गाको विवरण तयार पारिएको समितिका सदस्य सचिव पोखरेलले बताउनुभयो ।

उपत्यकाका २२ क्याम्पस र निकायमध्ये भक्तपुर क्याम्पसको २६ हजार, सानोठिमी क्याम्पसको ९५ हजार २ सय ५७, पाटन संयुक्त क्याम्पसको २९ हजार ५ सय २१, पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको १ लाख ९९ हजार ४ सय ५०, थापाथली क्याम्पसको ३२ हजार १ सय ४०, नेपाल कमर्सको १० हजार ६ सय ८३ र ताहाचलको २५ हजार ७ सय ७७ वर्गमिटर जग्गा रहेको छ ।

यस्तै पब्लिक युथको ११ हजार ५ सय १२, अमृत साइन्सको ११ हनार ४ सय १४, सरस्वतीको ५ हजार १ सय ५७, शिक्षण अस्पतालको ९८ हजार ६ सय ९१ , ललितकलाको ८ सय ९०, त्रिचन्द्रको ११ हजार २३, पद्मकन्याको १८ हजार ९ सय ७९, शंकरदेवको ५ हजार ६ सय ७५, रत्नराज्यको ४० हजार ६६, नेपाल लको ३ हजार ९ सय ५५ र विश्वभाषाको ४ हजार ६० वर्ग मिटर रहेको छ ।

यी जग्गाको संरक्षण गर्न नयाँ योजनाको तयारी भइरहेको दावी गर्दै प्राडा खनियाले आ–आफ्नो स्वामित्वमा रहेको जग्गा संरक्षण गर्न सबै क्याम्पस र निकायलाई निर्देशन दिइएको बताउनुभयो ।

त्रिविअन्तर्गत ६० आंङ्गिक र १ हजार ६३ सम्बन्धन प्राप्त गरी १ हजार १ सय २३ क्याम्पस छन् । विश्वविद्यालयअन्तर्गत केन्द्रीय कार्यालय, सेवा आयोग, केन्द्रीय विभाग ३९, अनुसन्धान केन्द्र ४, आंगिक क्याम्पस ६० र २६ अन्य कार्यालयलगायत १ सय २९ निकाय सञ्चालनमा छन् ।

यस्तै केही क्याम्पसको सिमाना मिचिएको, अधिग्रहण र कब्जा भएको विषयमा खोजविन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्