राजपाको नेतामा ठाकुर



काठमाडौं, (नेस)
राष्ट्रिय जनता पार्टी (राजपा) ले शनिबार संसदीय दलको नेतामा महन्थ ठाकुरलाई चयन गरेको छ ।

शनिबार बसेको संसदीय दलको बैठकले सर्वसम्मत रुपमा मण्डललाई अध्यक्ष चयन गरिएको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बताउनुभयो । राजपामा ठाकुर नै जेष्ठ सदस्य हुनुहुन्छ । शुक्रबार बसेको अध्यक्ष मण्डलको बैठकले सहमतिको लागि भन्दै थप ३ दिन म्याद मागेको थियो ।

‘हामीले आन्तरिक रुपमा तयारी गरिरहेका थियौं, बाहिर हामीविरुद्ध धेरै आवाज पनि उठे त्यसको समाधान भएको छ’, यादवले भन्नुभयो– ‘शोषित, पीडित र गरिव जनताको पक्षमा राजपा सधैं उभिएको छ, पार्टीभित्रै विवाद गरेर जानु राम्रो नभएकाले सहमतिमा नै अघि बढेका हौं ।’
यादवले अर्को बैठकले अन्य पदाधिकारी चयन गर्ने बताउनुभयो । नेताले उपनेता, दलको प्रमुख सचेतक, सचेतक, संसदीय दलको कोषाध्यक्ष र सचिव मनोनित गर्नेछन् । अध्यक्ष मण्डलका ६ जनाले नै प्रतिनिधिसभाको निर्वाचन जित्नुभएको हो ।

ठाकुर महोत्तरी–३ बाट निर्वाचित सांसद हुनुहुन्छ । संसद्को बैठक सुरु भएको ४ महिनापछि मात्र राजपाले दलको नेता चयन गरेको हो । राजपामा ११ निर्वाचित र ६ समानुपातिक गरी प्रतिनिधिसभामा १७ सांसद रहेका छन् भने राष्ट्रियसभामा २ जना सांसद छन् । कैलाली–१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद रेशमलाल चौधरीले भने शपथग्रहण गर्नुभएको छैन । प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाको निर्वाचनमा राजपा र फोरमबीच चुनावी तालमेल भएको थियो ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबाहेक मधेशकेन्द्रित अरु ६ वटा पार्टी मिलेर २०७४ वैशाख ७ गते राजपा बनेको थियो । राजपाले आगामी वशाख ७ गते स्थापनाकै दिन पारेर एकताको महाधिवेशन गर्ने जनाएको छ । फोरमले उपेन्द्र यादवलाई दलको नेता चयन गरिसकेको छ । फोरममा १० निर्वाचित र ६ समानुपातिक गरी १६ सांसद् छन् ।

प्रतिक्रिया दिनुहोस्