उर्लाबारी नपाको बजेट प्रस्तुत



मोरङ ।
मोरङको उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि आज दोस्रो नगरसभामार्फत रु ६१ करोड ७४ लाख ५८ हजार ४० बराबरको बजेट प्रस्तुत गरेको छ ।

नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारीले आगामी आव २०७५÷०७६ का लागि नगरको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो ।

उर्लाबारी नगरपालिकाले आगामी आवमा सडक पूर्वाधार निर्माण, सडक स्तरोन्नति, कृषिको व्यवसायीकरण, पर्यटन पवद्र्धन, वातावरण संरक्षण, सिमसार प्रवद्र्धन, रोजगारी, आयआर्जन, सामाजिक सुरक्षा, संस्थागत क्षमता अभिवृद्धि, सेवा प्रवाहमा प्रभावकारिता, सुशासन, सूचना प्रविधिलगायतमा बजेट विनियोजन गरेको छ ।

सभा उद्घाटन समारोहमा प्रमुख अतिथि मोरङ क्षेत्र नं १ का प्रतिनिधिसभाका सांसद घनश्याम खतिवडाले स्थानीय आवश्यकताका आधारमा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।

राजनीति पेशा नभएर सेवा हो भन्ने कुरा आत्मसात गरी अघि बढे भ्रष्टाचार ७५ प्रतिशतभन्दा बढी घट्ने उहाँले धारणा राख्नुभयो ।

बजेटले स्थानीय सरकारको प्रत्याभूति दिएको राय व्यक्त गर्दै सांसद खतिवडाले वडासदस्यदेखि प्रधानमन्त्रीसम्मका जनप्रतिनिधि निष्पक्ष हुनुपर्ने बताउनुभयो ।

उहाँले उर्लाबारी नगर क्षेत्रमा चक्रपथ निर्माणका लागि केन्द्रीय सरकारमा प्रस्ताव पेश गर्ने आश्वासन दिनुभयो । प्रदेशसभाका सांसद कुशल साम्बाले स्थानीय तहले कृषि र पर्यटनलाई केन्द्रमा राखेर बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।

केन्द्रदेखि गाउँगाउँसम्म बजेट विनियोजन हुन थालेको बताउँदै प्रदेश सांसद साम्बाले अब समृद्धिको यात्रा शुरु भएको बताउनुभयो । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

उर्लाबारीको मुख्य समस्या ढल निकाश रहेको बताउनुहुँदै उहाँले पूर्वमा मावा खोलादेखि पश्चिममा सुनझोडा खोलासम्म ढल निर्माणका लागि प्रदेश र संघीय सांसदलाई आग्रह गर्नुभयो । नगरसभाका सदस्यबीच छलफल गरेर नीति तथा कार्यक्रम एवं बजेट पारित गर्ने कार्यक्रम रहेको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्