भुकम्प प्रतिरोधि घरलाई पहरोको त्रास



चिरञ्जीवी मास्के, दोलखा ।

जिल्लामा लाभग्राहि सूचिमा नाम निस्किएका झण्डै ५० प्रतिशत भुकम्प पीडितले स्थाई आवास निर्माण गरेका छन् । तर त्यसमा ५ सय ५५ घरलेमात्र स्थाई आवास निर्माण सम्पन्न भएको प्रमाणपत्रको लागि सिफारीस लगेको भवन डिभिजन कार्यालयका प्रमुख एकराज अधिकारीले बताउनु भयो ।

दोलखा जिल्लामा लाभग्राहि सूचिमा नाम निस्किएका मध्य झण्डै ९७ प्रतिशत भुकम्प पीडितले पहिलो किस्ता अनुदान सम्झौता गरेको भएपनि झण्डै ५० प्रतिशत भुकम्प पीडितलेमात्र स्थाई आवास निर्माण सम्पन्न गरेको भवन डिभिजन कार्यालय दोलखाका प्रमुख अधिकारीको भनाई छ ।

निर्माण सम्पन्न घरहरुमा पनि पहिरोको त्रास देखिएको स्थानियको गुनासो छ । जिल्लामा ६२ हजार ८ सय ३३ जना लाभग्राही रहेकोमा ६० हजार ६ सय १२ जनाले सम्झौता गरेको र त्यसमा हालसम्म ३३ हजार ४० जनाले तेस्रो किस्ता लिएको अधिकारीले बताए ।

बहु स्वामित्वको समस्या, आर्थिक अभाव, तालिम प्राप्त कामदारको अभाव, सुरक्षित जमिनको अभाव जस्ता समस्याले भुकम्प गएको तीन बर्ष वितिसक्दा पनि पीडितले स्थाई आवास बनाउन नसकेको सरोकारवालाहरु बताउछन् ।

दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ दोलखा बजारमामात्र चार सय ३१ जनाको बहुस्वमित्वको समस्या रहेको वडा सचिव विना श्रेष्ठको भनाई छ । दोलखा बजारमा विशेषगरी बहुस्वामित्वको समस्याकै कारण भुकम्प गएको तीन बर्ष वितिसक्दा समेत पुर्ननिर्माणले गतिलिन नसकेको स्थानियको गुनासो छ ।

दोलखामा निर्माण सम्पन्न भएको र निमार्णाधिन अवस्थामा रहेको घरहरु मध्य पनि अधिकांश घरहरु दीर्घकालिन स्वचका साथ नबनाईएको र बाढी पहिरो लगाएतका समस्याका कारण उच्च जोखिममा रहेको सरोकारवालाहरुको भनाई छ । कतिपय भुकम्प पीडितहरुले सरकारले दिने तीन लाख रुपैयाको लागिमात्र दुई कोठे भवन बनाएको देखिन्छ ।

परिवार संख्या, भवन निर्माण भएको जमिन आदिका कारण ती घरहरु दीर्घकालिन हुन नसक्ने भवन निर्माण गर्ने भुकम्प पीडितहरुले नै बताउने गरेका छन् ।

विगत केहि दिनदेखि भारी बर्षा भै रहेकोले जिल्लाको कतिपय ठाँउमा निर्माण भएका भुकम्प प्रतिरोधि घरहरु समेत उच्च जोखिममा रहेका छन् । दोलखा कालिञ्चोक गाँउपालिका वडा नम्बर ६ लापिलाङका गणेश खत्रीले अविरल बर्षाको कारण घर माथिबाट पहिरो खस्दा आफुले भर्खरै निर्माण गरेको भुकम्प प्रतिरोधि घर जोखिममा परेको गुनासो गरे ।

जमिनको समस्या तथा आर्थिक अभावका कारण प्राविधिक टोलिले भू–क्षयको हिसाबले जोखिम हुने रिर्पोट दिएको भएपनि बाध्यता बस घर बनाएर बसेका भूकम्प पीडितहरु अहिले सबैभन्दा बढी जोखिममा रहेको प्राविधिकहरु बताउछन् ।

सदरमुकाम नजिक भीमेश्वर नगरपालिका वडा नम्बर ३ नागी र देउरालिका वासिन्दाले भुकम्प पछि निर्माण गरेको भवन पहिरोको समस्याका कारण उच्च जोखिममा परेको वडा अध्यक्ष हरिशरण शिवाकोटीले बताए ।

प्रतिक्रिया दिनुहोस्