पुस्तक चर्चा: राजनीति, साहित्य र जीवनको त्रिवेणी



-सीताराम ढकाल
प्रा. पीताम्बर शर्मा दाहालद्वारा लिखित कृति ‘मेरो रिमरिमे सम्झना’ चर्चा गर्न योग्य देखिन्छ । प्रस्तुत पुस्तकमा दाहालको बाल्यकाल र जन्मस्थलको चर्चा गरिएको छ । पिताजी भानुभक्त दाहाल र उनीसँगको केही न्यानो प्रसङ्ग यस पुस्तकमा जोडिएको छ ।

खर्क, बेंसी अनि आफ्ना पिताजीको प्राणान्तका बारेमा समेत पुस्तकमा चित्रण गरिएको छ । उहाँले चन्द्रलाल काकाको सल्लाह, हामी दुवै भाइ काठमाडौँ, मेरो अनुभवमा सिपाही, मेरो विद्यार्थी जीवन, एक सत्यले बाँचे, फेरि कष्टको काल आयो आदि अनेक शीर्षकमा आफ्ना जीवनका तीतामीठा घटनालाई आफ्नो पुस्तकमा समेट्नुभएको छ ।

सानैदेखि राजनीतिक क्षेत्रमा संलग्न रहेकाले आफूले विभिन्न उतारचढाव भोग्नुपरेको कुरालाई पनि उहाँले प्रस्ट पार्नुभएको छ । उहाँले नेताहरुले दरो अडान लिन नसकेको र पैसा र सत्तालिप्साका कारणले कांग्रेसले यो मार भोग्नुपरेको कुरालाई पुस्तकमा व्यक्त गर्नुभएको छ ।

आफ्नो जागिरे जीवनमा विभिन्न दुःख–कष्टलाई सहेर भए पनि पीताम्बर दाहालले नेपाली राजनीति र साहित्यिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको देखिन्छ । अवकाशप्राप्त समयमा पनि उहाँले विभिन्न संघसंस्थामा रहेर नेपाली धर्म, संस्कृति, समाज र प्रजातान्त्रिक आन्दोलनका कुराहरुलाई उठाउनुभएको छ । यसै माध्यमबाट उहाँले समग्र नेपाली समाज र राष्ट्रको सुधारका लागि गर्नुभएको योगदान अतुलनीय देखिन्छ ।

सानै उमेरदेखि सत्याग्रहीका रुपमा जेलजीवन भोग्नुपरेको पीडा पनि प्रकाशित पुस्तकमा झल्किएको छ । विद्यार्थी युनियन संस्कृत प्रधान पाठशाला, रानीपोखरीको सचिव, संस्कृत छात्रसंघको केन्द्रीय समितिको सचिव, नेपाल रुपान्तरण केन्द्रीय सम्मेलनका अध्यक्षलगायतका पदमा रही उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको पुस्तकबाट छर्लङ्ग हुन्छ ।

उहाँले ८० वर्षको उमेरमा पनि आफूले देखे–भोगेका जीवनका अनेक घुम्तीहरुलाई गद्य र पद्यका माध्यमबाट झटारो हान्नुभएको छ । उहाँको काम गर्ने शैलीले बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता नेताहरुलाई समेत प्रभावित तुल्याउन सक्थ्यो । यसै आधारमा उहाँलाई एक बहुमुखी व्यक्तित्वका धनी भनी स्वीकार्न सकिन्छ ।

उहाँका काव्यहरु पढ्दा विभिन्न छन्दहरुलाई ललितमय ढङ्गमा रसमाधुर्यता छर्न उहाँ सफल हुनुभएको देखिन्छ । यसै गरी साहित्यिक भावलाई पद्यमा मार्मिक ढङ्गले रचना गर्न सक्नु उहाँको विलक्षण प्रतिभा हो । उहाँको खारिएको अनुभवबाट वर्तमान पुस्ताले पनि धेरै सिक्न सक्नेछन् ।

आफ्नो कुल–वंश र नेपाली कांग्रेसले हालसम्म भोगेका आरोहअवरोह एवं शिक्षा क्षेत्रलाई समेत समेटेर प्रा. दाहालले तयार पारेको यो पुस्तक एक महत्वपूर्ण दस्ताबेज हो भन्दा अन्याय नहोला । यस कृतिका सम्पादक उपप्राध्यापक ज्ञाननिष्ट ज्ञवाली हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्