ह्लवीलचेयर क्रिकेट विजेता पुरस्कृत



काठमाडौं, (नेस)
दक्षिण एसियाली व्हीलचेयर क्रिकेटमा पहिलो भएको नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार पुरस्कृत गरेको छ ।

गत मंसिर २८ देखि पुस १ गतेसम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको नेपाल, भारत र बंगलादेश सम्मिलित त्रिकोणात्मक श्रृंखलामा नेपालले उपाधि जितेको थियो । १४ खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक गरी १६ जनालाई जनही १ लाख रुपैयाँ प्रदान गरियो ।

खेलाडीमा हिमाल अर्याल (कप्तान), दिगमसिंह चेम्जोङ (उप कप्तान), राजु गुरुङ, दानबहादुर थिङ, जंगबहादुर मगर, विष्णु अधिकारी, विपिन पौडेल, यमबहादुर श्रेष्ठ, राजु कटुवाल, नवीन राई, रामबहादुर तामाङ, भरतबहादुर कार्की, फनिनारायण पौडेल र डम्बरबहादुर मगर रहेका छन् । प्रशिक्षकमा सुधिर चौधरी तथा व्यवस्थापकमा रविन्द्र गुप्ता छन् ।

१६ सदस्यीय टोली मध्ये हाललाई १२ जनाले मात्र पुरस्कार पाए । खेलाडी भरत विरामी परेकाले कार्यक्रम उपस्थित भएनन् । खेलाडी नवीन र जंग तथा प्रशिक्षक सुधिरले मन्त्रालयमा पेश गरेको नाम र नागरिकतामा भएको नाम फरक परेकाले तत्काललाई रकम पाएनन् । उनीहरुलाई पछि रकम उपलब्ध गराइने भएको छ ।

टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सिंहदरबारमा आयोजित एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतिक्रिया दिनुहोस्