ट्राफिक बत्ती मर्मत गर्दै महानगरपालिका, आधा दर्जन स्थानमा यात्रु प्रतीक्षालय



ईश्वरराज ढकाल, काठमाडौं
काठमाडौं महानगरपालिकाले जडान भएर पनि संञ्चालन हुन नसकेका राजधानीका मुख्य सडकका सडकबत्ती मर्मत गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले राजधानीको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्न १० स्थानको ट्राफिक बत्ती मर्मत गर्न लागेको हो ।

कामपा भौतिक विकास विभाग प्रमुख रामबहादुर थापाले राजधानीको माइतीघर, थापाथली, त्रिपुरेश्वर, चावहिल, बागबजार चोक, रत्नपार्क, कालिमाटी, कोटेश्वर, तीनकुने, सिंहदरबारको ट्राफिक बत्ती मर्मत गरी सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । उहाँले कामपा नगरपरिषद्ले बजेट पारित गरिसकेको जानकारी गराउँदै केही महिनाभित्र मर्मत गरी सञ्चालन गर्ने तयारी रहेको बताउनुभयो ।

कामपाले ट्राफिक लेन, जेब्रा क्रसिङ, डिभाइडर निर्माण र यात्रु प्रतीक्षालय निर्माण गर्ने भएको छ ।
कामपाले आगामी वर्ष ट्राफिक व्यवस्थापन गर्न ३ करोड रुपियाँ विनियोजन गरेको छ । बाटो विस्तार र मेलम्चीको पाइप बिच्छ्याउने क्रममा यात्रु प्रतीक्षालय भत्किएका थिए । भत्किएका र नयाँ पहिचना भएका स्थानमा यात्रु प्रतीक्षालय निर्माण गर्ने कामपाले जनाएको छ । कामपाले राजधानीका करिब आधा दर्जन स्थानमा यात्रु प्रतीक्षालय निर्माण गर्ने जनाएको छ ।

त्यस्तै बल्खु, इच्छुमति, मनमती खोला किनारमा करिडोर निर्माण गर्ने भएको छ । राजधानीको सडकमा सवारी चाप बढेपछि कामपाले भित्री शहरका खोला किनारमा करिडोर निर्माण गर्न लागेको हो ।

त्यस्तै वागमती नदी किनार कोटेश्वरदेखि भक्तपुरसम्म जोड्ने सडकमा साइकल लेन निर्माण गर्ने भएको छ । त्यस्तै भेइकल फ्री–जोनको रुपमा चिनिएका ठमेल, काठमाडौका कोर सिटी लगायतका क्षेत्रमा पनि साइकल लेन निर्माण गर्ने भएको छ । खोला किनारामा सौन्दर्यीकरण गरेसँगै साइकल लेन निर्माण गर्न लागिएको विभागीय प्रमुख थापाले जानकारी दिनुभयो ।

कामपाले आगामी आर्थिक वर्षमा पार्क निर्माण गर्न २ करोड, साइकल लेन निर्माण गर्न १ करोड, खोला किनारमा ट्रयाक खोल्न ३ करोड रुपियाँ विनियोजन गरेको छ । नगर परिषद्ले भौतिक तथा पूर्वाधार विकास शीर्षकमा ३ अर्ब रुपियाँ विनियोजन गरेको छ ।

त्यस्तै राजधानीका अति व्यस्त करिब १० स्थानमा थप आकाशेपुल निर्माण गर्ने भएको छ । यात्रुको चाप बढेका स्थानहरुमा आकाशेपल निर्माण गर्न लागेको हो ।

बाटो बिस्तार भइसकेका स्थानमा आकाशेपुल निर्माण गर्न लागेको कामपाले जनाएको छ । विभागका प्रमुख थापाले विस्तार भएका नयाँ सडकमा आकाशेपुल निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

नगर परिषद्ले पारित गरेका भौतिक पूर्वाधारका योजनाअनुसार साउन महिनाभित्रै निर्माणका काम शुरु गर्न लागिएको उहाँको भनाइ थियो । कामपाले पहिचान गरेका सार्वजनिक जग्गामा पार्क निर्माण गर्ने भएको छ । सबै वडाले पहिचाल गरेको जग्गामा वडा स्तरबाटै पार्क निर्माण गर्ने भएको छ ।

सार्वजनिक जग्गामा कुनै संरचना निर्माण नगर्ने नीति लिएको कामपाले सबै सार्वजनिक जग्गालाई पार्क निर्माण गरी विपद् व्यवस्थापनमा प्रयोग गरिने गरी खुला क्षेत्रको रुपमा विकास गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्