संसद् भवन बनाउने सपना अपुरै



गंगा बराल, काठमाडौं ।
सरकारले संसद् भवन बनाउने भन्दै आएपनि अहिलेसम्म त्यसको अत्तोपत्तो छैन । प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली दोस्रोपटक आएकै दिन उहाँले पनि २ वर्षभित्रमा आफ्नै संसद् भवन बनाउने घोषणा गर्नुभएको थियो ।

सभामुख कृष्णबहादुर महराले पत्रकारहरुसँग कुरा गर्दै संसद् भवन बनाउने प्रक्रिया अघि बढेको बताउनुभयो ।

‘केही समस्याहरु थिए तर अब कुरा मिलिसकेको छ ’ महराले भन्नुभयो –पुरानै ठाउँमा भवन बन्ने छ, केही समय अघि सेनाले सो ठाउंमा आफूलाई चाहिने भन्दै आएपनि भवन बनाउन सहमति दिएको छ ।’

नेपाल टेलिभिजन अगाडिको पुतली बगैंचामा भवन बनाउने सरकारको तयारी रहँदै आएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷२०७६ को वजेट भाषणमा वजेट छुट्याएको संसदलाई जानकारी दिनुभयो ।

संसद् सचिवालयका प्रशासन महाशाखाका सहसचिव सुरजकुमार दुराले नयाँ बानेश्वरमा संसद् भवन भाडामा प्रयोग गरेबापत साउनबाट वार्षिक १५ करोड रुपैंया बुझाउनुपर्ने जनाउनुभयो ।

अहिले वार्षिक साढे १० करोड तिर्दै आएको छ । शहरी विकास मन्त्रालय अन्तर्गत रहेको छुट्टै विकास समितिले नयाँ बानेश्वरको संसद् भवनको रेखदेख र संरक्षण गर्दै आएको छ ।

संसद् भवनमा रुपान्तरण हुनुअघि यो भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका नामले चिनिन्थ्यो,। त्यहाँ विभिन्न सांस्कृतिक कार्यक्रम र गोष्ठी हुने गर्दथ्यो । सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाका उपसचिव हरिहर पोख्रेलले वार्षिक भाडाका अतिरिक्त विजुली र पानीको पनि थप पैसा तिर्नुपरेको बताउनुभयो ।

२०६४ सालदेखि बानेश्वरमा संसदको बैठक बस्दै आएको छ । सिंहदरवारमा रहेको पुरानो संसद् भवन काम नलाग्ने भएको र त्यसको क्षमता पनि कम भएकाले सरकारले विकल्पको रुपमा भवन भाडामा लिँदै आएको छ ।

यो पुरानो संसद् भवनलाई पछिल्लो समयमा आएको भूकम्पले पनि क्षतिग्रस्त बनाएको छ । सचिवालयले विज्ञलाई देखाएर भवन परीक्षण गर्दा पुन सुधार गरेर बस्न योग्य नभएको जनाइएको छ ।

सिंहदरवार निर्माण र मर्मतको जिम्मेवारी पाएको सिंहदरवार सचिवालय पुनर्निर्माण समितिका प्रशासकीय अधिकृत रामप्रसाद बेल्वासेले सुविधा सम्पन्न संसद् भवन बनाउने गुरुयोजना बनाइएको जनाउनुभयो ।


‘योजना पुरानै हो, हामी तयारीमा छौं त्यसको लागि सरकारले काम सुरु गर्नुपर्ने खाँचो छ’ बेल्बासेले भन्नुभयो – परिकल्पना अनुसार संसद् भवन बनाउने हो भने सिंहदरवारको मुहार नै फेरिन्छ ।’ गुरुयोजना अनुसार बन्दा पुस्तकालय, वाइफाई, संसदीय दलका कार्यालय, समिति तथा अण्डरग्राउण्ड पार्किङ हुने छ ।

सिंहदरवारभित्रै मुख्यसचिवको क्वार्टर बन्दै
सरकारले सिंहदरवारभित्रै मुख्य सचिवको आवास (क्वार्टर) बनाउने योजना गरेको छ ।
मुख्य सचिवको अध्यक्षतामा संघीय संसद् सचिवालयका महासचिव, प्रधान सेनापति, शहरी विकास मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिवलगायत रहेको कमिटी गठन गरिएको छ ।

स्रोतका अनुसार समितिले सिंहदरवारभित्रै ३ वटा ठाउँलाई सम्भावित क्षेत्र सिफारिस गरेको छ । अहिलेसम्म मुख्य सचिवलाई आवासको व्यवस्था गरिएको छैन ।‘ क्वार्टर बन्नेचाँहि निश्चित हो तर त्यसको डिजाइन र अन्य धेरै काम बाँकी छ’ स्रोतले भन्यो ।

मन्त्रीको लागि पुल्चोकमा मन्त्रिक्वार्टर बनाइएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि पुल्चोकको यही क्वार्टरमा बस्दै आउनुभएको छ । सभामुख कृष्णबहादुर महरा, कामु प्रधान न्यायाधीश दीपकराज जोशी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा क्वार्टर दिइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्