बाख्रा पालनले फेरियो दैनिकी



नेपाल समाचारपत्र, लमजुङ ।
लमजुङमा बाख्रा पालन व्यवसायले केही गरीव परिवारको दैनिकी फेरिएर खुसी छाएको छ । गरिबी निवारण कोषमार्फत गाउँमा स्थापना भएको छोटेखोला सामुदायिक संस्थामा आवद्ध परिवारमा त्यस्तो खुसी आएको हो ।

आर्थिक बर्ष २०७१/७२ बाट शुरू भएको सो कार्यक्रमले लमजुङको दोर्दी गाउँपालिका– ६, ढोडेनी छुमस्वाँराकी गर्भी तामाङको दैनिकी मात्र फेरिएको छैन, उनले जीवन र परिवारमा नसोचेको खुसी भित्रिएको छ ।

केही वर्ष अघिसम्म गरीवीले गाँजेको थियो गर्भीको परिवारलाई । आम्दानीको भरपर्दो कुनै स्रोत नहुँदा परिवारको दैनिकी चलाउननै मुस्किल थियो । दैनिक ज्याला मजदुरीबाट हुने कमाईकै भरमा गर्भीको ८ जनाको परिवार धानिन कठिन थियो, बर्षेनी ऋणले गाँज्दै लगेको थियो गर्भी भन्नुहुन्छ । तर गरिबी निवारण कोषमार्फत गाउँमा स्थापना भएको छोटेखोला सामुदायिक संस्था मार्फत ऋण लिएर २ बर्ष अघि बाख्रापालन ब्यवसाय गरेको गर्भीको परिवारले यतिबेला भने बाख्रापालन ब्यवसायबाट राम्रो आम्दानी लिन थालेको उहाँ बताउनु हुन्छ ।

गर्भी भन्नुहुन्छ, ‘अहिले मसंँग साना ठूला गरी ४५ वटा बाख्रा छन, बर्षमा झण्डै २ लाख जति आम्दानी हुने आशा छ ।’ कोषको ऋण ६ प्रतिशत व्याजमा पाउँदा निकै राहत भएको उहाँको भनाई छ । त्यसअघि गाउँमा लिएको ऋणको सयकडा ३ प्रतिशत मासिक व्याज तिर्नु पथ्र्यो र त्यसले ढाड सेक्ने गरेको गर्भी बताउनु हुन्छ । मासिक ३ प्रतिशत भनेको वार्षिक ३६ प्रतिशत हुन आउँछ ।

गरिबी निवारण कार्यक्रमको घुम्तीकोषबाट सस्तो ब्याजदरबाट ऋण लिएर छोटेखोला सामुदायिक संस्थामा आवद्ध यहाँका स्थानीयले सामुहिक रूपमा अलैंची खेती समेत गरेको खिञ्चोकबेसी सामुदायिक संस्थाकी अध्यक्ष यादमाया घले बताउनु भयो । उहाँका अनुसार गरिबी निवारण कोषकै सहयोगमा सिञ्चाई आयोजना निर्माण भएको छ ।

त्यही सिञ्चाई आयोजनाको प्रयोगबाट यहाँका कृषकहरूले मौसमी र बेमौसमी तरकारी खेती समेत गरेर आम्दानी गरी रहेका छन् । पछिल्ला वर्षमा समूहमा आवद्ध हुने यहाँका सबैको दैनिकी फेरिएको छ खिञ्चोकबेसी सामुदायिक संस्थाकी अध्यक्ष यादमाया घले बताउनुभयो ।

महिला आपसी सहयोग केन्द्र भार्तेमार्फत गरिबी निवारण कोषको कार्यक्रम लमजुङका ढोडेनी मात्र हैन फलेनी, हिलेटक्सार, बन्सार र भुलभुलेमा सञ्चालन गरेको सहयोग केन्द्रकी अध्यक्ष सावित्री अधिकारीले बताउनु भयो । उहाँका अनुसार ती गाउँमा २० वटा सामुदायिक संस्थाहरू यतिबेला समुदायमा हस्तान्तरण भइसकेका छन् ।

ती सामुदायिक संस्थाहरूमा अधिकांस महिला र दलित समुदायहरू बढी समेटिएका छन् र उनीहरू लाभान्वित हुँदै आएका छन् संस्थाका सचिब बिमला भुजेलले बताउनु भयो । उहाँका अनुसार यस प्रकार एकल र समूहगत व्यवसाय गरी आयआजर्न गरेर महिलालाई आत्मनिर्भर बनाई गरिबीको रेखा तोड्न संस्था संकल्परत रहेको छ ।

कोषमार्फत गठित संस्थामा आवद्ध सदस्यहरूलाई विभिन्न सचेतना तथा आयमूलक तालिम लिएर उनीरूलाई आफ्नो रुचि अनुसारको पेशा व्यवसाय सञ्चालन गर्न उत्प्रेरित गरिएको गरिबी निवारण कोष कार्यक्रमका संयोजक योगेश्वर घिमिरे बताउनु हुन्छ ।

उहाँका अनुसार परम्परागत कृषि र पशुपालन प्रणालीलाई पछ्याउँदै आएका कृषकहरू कोषको कार्यक्रममा आवद्ध भएपछि कृषि र पशुपालन पेशालाई ब्यवसायकै रूपमा अघि बढाउन थालेका छन् र त्यो सँगै उनीहरूको दैनिकी फेरिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्