बोबी र बाबुकान्छासँगै एकसाथ ४ फिल्म



वल्र्डकप फुटबलका कारण थोरै मात्र फिल्म रिलिज भइरहेका बेला धेरै पछि आज शुक्रबार एकसाथ ४ फिल्म रिलिजमा आउने भएका छन्।

आज शुक्रबार अल नेपाल मिलन चाम्सको निर्देशन र निर्माणमा रियल स्टोरी रियल पिपुलमा बनेको फिल्म बोबीसँगै बाबुकान्छा, वीरंगना र पागल छ यो मन एक आपसमा भिड्दै छन्

अग्र्यानिक लभ स्टोरीमा बनेको भनिएको फिल्म बोबीमा उमेश थापा र कविता गुरुङको मुख्य अभिनय रहेको छ। फिल्म उनीहरूकै प्रेमकथा र संघर्षमा बनेको छ। बुधबार राजधानीमा प्रिमियम गरिएको फिल्ममा १५ वर्षे केटाले आफ्नो सपना पूरा गर्न नर्वे पुगेर ३ महिनासम्म गरेको कडा मेहनत, इलेक्ट्रिक इन्जिनियरिङ पढ्न देश फर्केर पोखरा पुग्दा किशोरीसँग भएको भेट, भेटको पहिलो दिन नै भएका थुप्रै संयोग, घरपरिवारको असहमतिका बीच गरिएको भागी बिहे, सुखद् भविष्यका लागि हुन पुगेको विछोड र लामो समयपछिको मिलनदेखि घर छाडेर प्रेमीसँग भाग्दा परिवारलाई परेको दुःखको साँचो कथा प्रस्तुत गरिएको छ। चाम्स इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुति रहेको फिल्मका अन्य कलाकारमा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मी भट्ट, शूरवीर पण्डित, रवि गिरी, शिशिर राणा, बादल भट्ट, पूर्णिमा लामा, एलिसा थापालगायतले अभिनय गरेका छन्।

फिल्ममा स्क्रिप्ट सञ्चारकर्मी नरेश भट्टराई र गिरिराज घिमिरेको रहेको छ भने वसन्त सापकोटा र ताराप्रकाश लिम्बुको संगीत, वसन्त सापकोटाकै गीत, राजेशपायल राई, ताराप्रकाश लिम्बु, प्रविशा अधिकारी र दीपा लामाको स्वर रहेको छ। फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, नवराजकृष्ण थापाको छायांकन र अर्जुन जीसीको सम्पादन रहेको छ।

त्यसै गरी शोभित बस्नतेको कथा, निर्माण तथा निर्देशनमा बनेको फिल्म बाबु कान्छा पारिवारिक कथामा बनेको छ। फिल्ममा सलोन बस्नेत र करिश्मा श्रेष्ठको मुख्य भूमिका रहेको छ। सलोन–सलिना फिल्म्स्को ब्यानरमा बनेको फिल्मका अन्य कलाकारमा सरोज खनाल, नीर शाह, सम्राट सापकोटा, ऋतिक शाही, राजाराम पौडेल, लय संग्रौला, सुशान्तकुमार श्रेष्ठ रहेका छन्। लक्ष्मण शेषको संगीत रहेको फिल्ममा सुशील पंगेनी र सुन्दर श्रेष्ठको गीत रहेको छ भने शोभित बस्नेत, रामजी लामिछाने र दीपेन्द्र तिमल्सिनाको कोरियोग्राफी रहेको छ। फिल्ममा अष्ट महर्जनको द्वन्द्व, बाबु श्रेष्ठको छायांकन र गौतमराज खड्काको सम्पादन रहेको छ।

राजबहादुर सानेको निर्देशन रहेको फिल्म वीरंगना एक्सन जनराको नारीप्रधान फिल्म भनिएको छ। जसमा शिल्पा पोखरेल, अनुपविक्रम शाही र पृथ्वीराज प्रसाईंको प्रमुख भूमिका रहेको छ।

कल्याण अधिकारीद्वारा निर्देशित तथा उनका साथमा वीरेन्द्रकुमार यादवद्वारा निर्मित फिल्म यो पागल मन प्रेमकथामा आधारित छ। विनोद न्यौपाने, ऋचासिंह ठकुरी, गौरी मल्ल, राजेश ढुंगाना, मनीष भण्डारी, विशाल श्रेष्ठ, एनी कुँवरलगायतका कलाकारले अभिनय गरेको फिल्ममा सामिप्यराज तिमल्सिनाको पटकथा र संवाद, अर्जुन पोखरेलको संगीत, कमल राईको नृत्य निर्देशन, राजु किराँतको द्वन्द्व निर्देशन, शम्भु सापकोटाको छायांकन र अनिल गौतमको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्