४४ प्रतिशत रोपाइँ



काठमाडौं, (नेस)
असार २८ गतेसम्ममा मुलुकभर करिब ४४ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ।

कृषि प्रसार निर्देशनालयका अनुसार उच्च पहाडी जिल्लामा ४६ दशलमव ६६ प्रतिशत, मध्य पहाडी जिल्लामा ४८ दशमलव ४८ प्रतिशत र तराईका जिल्लामा ४१ दशमलव २० प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ।
निर्देशनालयका अनुसार मुलुकभर करिब १५ लाख ५२ हजार ५ सय हेक्टर क्षेत्रफल जमिनमा वर्षे धान रोपाइँ हुने गरेको छ।

अपर्याप्त सिँचाइ सुविधाका कारण अधिकांश क्षेत्रमा आकाशे पानीको भरमा धानखेती हुने गरेको छ।

साविकको विकास क्षेत्रका आधारमा हेर्दा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा सबैभन्दा धेरै ७४ दशमलव ७४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। पूर्वाञ्चल विकास क्षेत्रमा २५ दशमलव ५१ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने मध्यमाञ्चल विकास क्षेत्रमा २९ दशमलव शून्य प्रतिशत रोपाइँ सम्पन्न भएको छ।

त्यसैगरी, पश्चिमाञ्चल विकास क्षेत्रमा ५४ दशमलव ८७ प्रतिशत र मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा ४६ दशमलव ६५ प्रतिशत रोपाइँ सकिएको छ। जिल्लागतरूपमा हेर्दा सबैभन्दा धेरै जुम्ला र डोल्पामा शतप्रतिशत र हुम्ला तथा कैलाली जिल्लामा ९२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। सबैभन्दा कम बाँके जिल्लामा ११ प्रतिशत तथा मोरङ, सुनसरी, धनुषामा समान १५ प्रतिशत रोपाइँ सकिएको छ। २ वटा जिल्ला मनाङ र मुस्ताङमा भने धानखेती हुँदैन।

प्रतिक्रिया दिनुहोस्