४७ वर्षपछि रोशीले रुवाउँदा…



भगवती तिमल्सिना/ मोतीराम तिमल्सिना, काभ्रे,
बुधबार राति परेको अबिरल वर्षाका कारण ४७ वर्षपछि उर्लिएको रोशीखोलाको बाढीले खाक्सी खानेपानी योजनाका मजदुरहरूलाई चिलबिल नै बनायो। दुई जना मजदुर नारायणगोपाल श्रेष्ठ र कान्छा लामा नमोबुद्ध नगरपालिका वडा नं ६ खाक्सीमा पर्ने रोशीको माझमा रहेको ठूलो ढुंगाको चेपमा अड्किए। तर नेपाली सेनाको हेलिकप्टरले खोलाकै बीचबाट उद्धार गरी उनीहरूको ज्यान बचायो।

उक्त खानेपानी योजनाका मुख्य सहयोगी तथा खनालथोक खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहनकुमार श्रेष्ठका अनुसार झण्डै ८५ प्रतिशत काम सकिएकोमा वर्षा शुरु हुन लागेकाले छिटो काम सक्न मजदुरहरू खोलाकै बगरमा पाल टाँगेर एक महिनादेखि काम थालेका थिए। स्थानीय बासिन्दा भन्छन् –२०२८ सालदेखि अहिलेसम्म त्यस्तो बाढी नआएकाले उनीहरू बगरमै बसेका थिए।

कामबाट थकित कामदारहरू बाढी आउँदा मस्त निन्द्रामा परेका रहेछन्। बाढीले चारैतिरबाट छोप्दा उनीहरू रोशीको माझमा परे। आफू सुतेको टेन्ट, लत्ता कपडासमेत बगाएपछि स्काइभेटर चलाउने अप्रेटर नारायणगोपाल श्रेष्ठ र सहायक अप्रेटर कान्छा लामा खोलाको बीच मै परे।

अध्यक्ष श्रेष्ठ भन्नुहुन्छ– ‘राति ३ बजे नारायणगोपाल श्रेष्ठ र कान्छाले कराएर फोन गरेपछि काभ्रेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, एसपी रविराज खड्का, सांसद चन्द्र लामा र बमध्वज लामालाई फोन गरेर भकुण्डे नौबिसेबाट ७ किलोमिटर दक्षिणतर्फ रहेको रोशीखोलातर्फ हुइकियांै। हामी पुग्दा रोशी खोला उर्लेरै आएको थियो।’

उहाँले फेरि सुनाउनुभयो– ‘यो अवस्थामा सुरक्षा निकायलाई समेत मेरै गाडीबाट लैजानुपर्ने भयो। उद्धारका लागि काठमाडौंबाट आएको सेनाको टोली काभ्रे भञ्याङ नजिकैको पहिरोमा २ घण्टा अड्कियो। सेनालाई पनि हाम्रै गाडीमा हालेर रोशी खोलामा पुग्यौँ। सेनाले पहल गरे पनि उद्धार गर्न सकिएन। सेनाको हेलिकप्टर आएपछि १२ बजेतिर दुई मजदुरको उद्धार गरियो।’

उद्धार कार्यमा सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बास्कोटा, नमोबुद्ध नगरपालिकाका मेयर टीपी शर्मा, सासदद्वय चन्द्र लामा, बमध्वज लामा, वडा अध्यक्ष कुलप्रसाद न्यौपाने, धर्म लामा, खानेपानी डिभिजन कार्यालयका प्रमुखसहित प्राविधिक, इन्जिनियर राजेन्द्र श्रेष्ठलगायतको टोलीले सक्रिय सहयोग गरेको थियो।

सेनाको २६ नम्बर बाहिनी र नेपाल प्रहरीको टोलीका साथ हजारौंको संख्यामा स्थानीय जनताले सक्दो पहल गरेका थिए। तर खोलाको बहाब बढेकाले हेलिकप्टरको सहायताबिना उद्धार सम्भव थिएन। सेनाको हेलिकप्टर खोलाको बीचबाट उद्धार गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा पुर्याएर अवतरण भएको थियो। उद्धारपछि दुबै जना शकुशल घर फर्किएका थिए। उनीहरूको अवस्था सामान्य रहेको बुझिएको छ।

बाढीले पानी फाल्ने पम्प १० वटा र निर्माण सामग्री डण्डी, सिमेन्ट, ढुंगा, गिट्टी, बालुवा, जाली, जेनेरेटर २ वटा गरी १४ लाखको हाराहारीमा क्षति भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो। नमोबुद्ध नगरपालिकामा खानेपानीको अत्यन्तै अभाव भएकाले २०६७ सालदेखि खनालथोक खानेपानी योजना पनि सञ्चालनमा आएको छ। यो पानीले पुरै नगरलाई नधान्ने भएकाले यो दोस्रो योजना थालनी गरिएको श्रेष्ठ बताउनुहुन्छ।
नवआदर्श निर्माण सेवा कम्पनीले यो कामको जिम्मा लिएको थियो। २ हजार घरपरिवारलाई खानेपानी पुर्याउने उद्देश्यले यो योजना अघि सारिएको हो।

प्रतिक्रिया दिनुहोस्