शेयर बजारलाई फापेन मौद्रिक नीति



नेपाल समाचारपत्र
काठमाडौं
बिहीबार शेयर बजार १३ दशमलव ६६ अंकले घटेर १ हजार १ सय ९१ दशमलव ९८ अंकमा कायम भएको छ। लामो समयदेखि १ हजार २ सय अंकको बिन्दु वरिपरि रुमलिरहेको नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकलाई मौद्रिक नीतिले केही सकारात्मक प्रभाव पार्ने आकलन गरिएको थियो। तर मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले पुँजी बजारका लागि केही नयाँ व्यवस्था ल्याए पनि शेयरमा सुधार देखिएन।

दिनभरिमा १ सय ६३ वटा कम्पनीको १६ लाख २० हजार ८ सय ८० कित्ता सेयर ४ हजार ९ सय ४१ पटक खरिदबिक्री हुँदा ४५ करोड ४४ लाख ६ हजार २ सय ५६ रुपियाँ बराबरको कारोबार भएको छ। बिहीबारको कारोबारमा उत्पादनमूलक समूहबाहेक अन्य सबै समूहको उपसूचक घटेका छन्। उत्पादनमूलक समूहको उपसूचक २ दशमलव ८ प्रतिशतले बढेको छ।

सबैभन्दा धेरै बीमा समूहको उपसूचक १ सय ७ दशमलव ५८ अंकले घटेको छ। बैंकिङ समूहको उपसूचक १० दशमलव ३१ अंकले, व्यापार समूहको उपसूचक शून्य दशमलव ५१ अंकले, होटल समूहको उपसूचक ३७ दशलमव ६५ अंकले, र विकास बैंक समूहको उपसूचक १८ दशमलव ८३ अंकले घटेको छ। त्यसैगरी जलविद्युत् समूहको उपसूचक २१ दशमलव ७ प्रतिशतले, वित्त समूहको उपसूचक ३ दशमलव ८७ अंकले, अन्य समूहको उपसूचक शून्य दशमलव ५१ अंकले र लघुवित्त समूहको उपसूचक ३६ दशमलव शून्य ६ अंकले घटेका छन्।

बिहीबार सबैभन्दा धेरै लक्ष्मी बैंकको ६ करोड ५१ लाख ५४ हजार रुपियाँ बराबरको कारोबार भएको छ। सबैभन्दा धेरै कञ्चन डेभलपमेन्ट बैंकका लगानीकर्ताले प्रतिकित्ता ८ दशलमव ५१ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा कम नागबेली लघुवित्तका शेयरधनीले प्रतिकित्ता ६ दशमलव ७० प्रतिशतका दरले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्