आर्थिक समृद्धि चर्को कुरा लगानी आकर्षित गर्नमा जोड



नेपाल समाचारपत्र
काठमाडौं
सरकारले आर्थिक समृद्धिको कुरो बारम्बार दोहर्याउँदा पनि लगानी गर्न निजी क्षेत्र आकर्षित नभएकोप्रति गम्भीररूपमा लिनुपर्ने सम्बद्ध व्यक्तिले बताएका छन्।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ काठमाडौं शाखाले बिहीबार चन्द्रागिरी हिल्समा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनीहरूले सो कुरा बताएका हुन्।

दुई वर्षपछि अर्थात् सन् २०२० सम्ममा पर्यटक भित्याउन सम्भव छ भन्ने विषयमा निजी क्षेत्र, पर्यटनविद् र विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिबीच गरेको अन्तक्र्रियामा उनीहरूले राजनीतिक क्रान्ति अन्त्य भई आर्थिक क्रान्ति शुरू भएको घोषणा गरे पनि सोही अनुरूप वातावरण बनाउन सरकार, राजनीतिक दल र तिनका नेता अग्रसर नभएको भनाइ राखे। सन् २०११ को पर्यटन वर्ष सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने पर्यटनविद् योगेन्द्र शाक्यले आर्थिक समृद्धिका लागि १८ घण्टा काम गर्नुपर्ने बताउनुभयो। उहाँले अधिकार नभएको होइन जिम्मेवारीपूर्वक लगानी गर्न उत्प्रेरित गर्ने वातावरण तयार नभएको बताउनुभयो।

‘सरकारले हावाबाट बिजुली ल्याउने, पानी जहाज ल्याउने, रेल ल्याउने अनेक सपनाहरू देखाइरहेको छ, त्यसमा लगानी गर्न निजी क्षेत्र चाहिरहेको छैन’, पर्यटनविद् शाक्यले भन्नुभयो– ‘यसको अर्थ के हो? सरकारले बारम्बार दोहर्याएजस्तो मुलुक आर्थिक समृद्धिको दिशातर्फ अघि बढीरहेको छैन।’

पर्यटनविद् शाक्यले भन्नुभयो– ‘जनताको सहभागिताबिना विकास र समृद्धिको कार्यले गति लिन सक्दैन। जनताको सहभागिता बिनाको विकास बीचमै अवरुद्ध हुने खतरा छ। अहिले पनि यस्तै भइरहेको छ।’
धेरै पर्यटकलाई नेपाल भित्याउने सम्भावना रहेको उल्लेख गर्दै यसका नेपालमा शान्तिपूर्ण वातावरण, पर्यटक मैत्री र आवश्यक पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्ने पनि उहाँको जोड रहेको छ।

सो अवसरमा प्रदेश नं ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितले नेपालमा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यस्थल थुप्रै रहेको र त्यसलाई मूर्तरूप दिन आशावादी र सकारात्मक सोचले हेर्नुपर्नेमा जोड दिनुभयो। ‘नेपालमा घुम्न आउने पर्यटकहरू मात्र नभई लगानी गर्न विदेशीहरूलाई पनि आकर्षित गर्न सकिन्छ। मात्र इच्छाशक्ति र सकारात्मक सोच चाहिन्छ।’ –मन्त्री स्थापितले भन्नुभयो। नेताहरूमा भिजन अभाव भएकाले पनि आर्थिक समृद्धिको दिशामा अघि नबढेको पनि मन्त्री स्थापितको भनाइ रहेको छ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकका प्रमुख घनश्याम गिरीले नगरपालिका सांस्कृतिक र प्राकृतिक रोमाञ्चकारी पर्यटन विकास गर्न सकिने सम्भावना रहेको जनाउँदै नगरपालिकाको योजना सोही सम्भावनालाई साकार बनाउने हिसाबले अघि बढिरहेको जानकारी दिनुभयो। उहाँले नागढुंगा–कलंकीको सडकको दुरावस्थाले समृद्धिको नारामाथि व्यंग्य गरिरहेको बताउनुभयो।

महासंघ काठमाडौं शाखाका अध्यक्ष राज्यलक्ष्मी शाक्यको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुनील शर्मा, नेपाल प्रेस काउन्सिलका सदस्य शुभेच्छाबिन्दु, शाखाका उपाध्यक्ष पूर्णभक्त दुवाललगायतले आर्थिक समृद्धि, पर्यटक प्रवद्र्धन गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सञ्चारमाध्यमले सकारात्मक सूचना प्रवाह गर्नुपर्ने भनाइ राख्नुभयो।

प्रतिक्रिया दिनुहोस्