ट्विटरको फलोअर्समा ट्रम्प सबैभन्दा अगाडि



जेनेभा, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ट्विटरमा सबैभन्दा धेरै फलो हुने विश्व नेता बनेका छन्।

सबैभन्दा धेरै फलोवर भएका अन्य नेतामा पोप फ्रान्सिस दोस्रो स्थानमा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो स्थानमा परेका छन्।

सञ्चार कम्पनी बुरसान कोह्न एन्ड वुल्फ (बीसीडब्ल्यू) को एक अध्ययनले राष्ट्रपति बनेपछि ट्रम्पका फलोअर्सको संख्यामा दुई गुणा बढोत्तरी भएको देखाएको छ। ट्रम्पको ट्विटर ह्यान्डल ‘एटडिरेटडोनाल्डट्रम्प’ लाई ५ करोड २० लाखभन्दा धेरैले फलो गरिरहेको उक्त संस्थाको ताजा अध्ययन ‘ट्विप्लोमेसी’ ले देखाएको छ।

पोपको फलोअर्स संख्या ट्रम्पको भन्दा ४५ लाखले कम छ। मोदीको फलोअर्सको संख्या उसको भन्दा १ करोडले कम छ। अलोअर्ससँगको सम्पर्क, लाइक र रिट्विटको मामिलामा ट्रम्प अन्यको तुलनामा धरै अगाडि छन्। विगत १२ महिनामा आफ्ना फलोअर्ससँग अमेरिकी राष्ट्रपतिको करिब २६ करोड ४५ लाख पटक सम्पर्क भयो। यस मामिलामा मोदी दोस्रो स्थानमा आउँछन् भने पोप तेस्रो स्थानमा पर्छन्।

त्यसै गरी ट्रम्पको सम्पर्क मोदीको तुलनामा ५ गुणा र पोपको तुलनामा १२ गुणा बढी रहेको देखिन्छ। कुनै सामग्री रिट्विट हुने मामिलामा भने साउदी अरेबियाका शाह सलमान सबैभन्दा अगाडि परेका छन्। उनले सन् २०१७ देखि सन् २०१८ मेसम्ममा ११ वटा मात्र ट्विट गरेका थिए। तर, उनको हरेक ट्विट औषतमा १ लाख ५४ हजार २ सय ९४ पटक रिट्विट भए। रिट्विटको मामिलामा भने ट्रम्पको औषत उनको भन्दा अत्यन्तै कम, मात्र २० हजार ३ सय १९ रहेको छ।

अमेरिकी विदेश मन्त्रालय एक मात्र सरकारी विभाग हो जसले ट्रम्पको निजी अकाउन्टलाई फलो गरेको छैन। तर, उक्त विभागले इरानी राष्ट्रपति हसन रुहानी र इरानी विदेशमन्त्री जवाद जरिफलाई भने फलो गरेको छ।

प्रतिक्रिया दिनुहोस्