नेटोलाई सुरक्षा खर्च बढाउन राष्ट्रपति ट्रम्पको आग्रह



वार्ता अफगानिस्तान र सिरियामाथि केन्द्रित

 

ब्रसेल्स, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) का सदस्य राष्ट्रहरुलाई आ–आफ्नो देशको सुरक्षा खर्च बढाउन बुधबार आग्रह गरेका छन्। बेल्जियमको राजधानी ब्रसेल्समा मंगललबारदेखि नेटो गठबन्धन राष्ट्रहरुको बैठक शुरु भएको हो। उनले नेटो साझेदार राष्ट्रहरूसँगको बैठकमा देशको कुल गार्हस्थ उत्पादनको कम्तीमा पनि ४ प्रतिशत जति सुरक्षा खर्चमा वृद्धि गर्न आग्रह गरेका हुन्।

हाल हरेक देशले आफ्नो देशको कुल गार्हस्थ उत्पादनको करिब २ प्रतिशत मात्र बजेट छुट्याउने गरेका छन्। ट्रम्पले अब आफ्नो राष्ट्रिय बजेटको आकार नै बढाएर सुरक्षा खर्च वृद्धि गर्न सुझाव दिएका छन्।

यसमा अहिलेको लक्षित बजेटको दोब्बर बनाउन राष्ट्रपति ट्रम्पले आह्वान गरेको बेलिजयमको सञ्चारमाध्यमले जनाएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले सुरक्षाका क्षेत्रमा अरू देशहरुको तुलनामा जर्मनीले भने कममात्र बजेट खर्च गर्ने गरेको भन्दै जर्मनीको कडा आलोचना पनि गरेको बताइएको छ।

नेटोका सदस्य राष्ट्रहरूले भने हालको दुई प्रतिशतको लक्ष्य पूरा गर्नेमा नै आफूहरूको ध्यान केन्द्ति हुनुपर्ने बताएका थिए। त्यसै गरी नेटोका महासचिव जेन्स स्टोलटनवर्गले भने अहिलेको लक्षित दुई प्रतिशतको लक्ष्यलाई नै प्राथमिकता दिनुपर्नेमा जोड दिएको बताइएको छ।

पत्रकार सम्मेलनमा नेटो बैठकमा उठेको रक्षा क्षेत्रको बजेट रकम वृद्धिसम्बन्धी प्रश्नको जवाफमा स्टोलटनवर्गले दुई प्रतिशतको लक्ष्य नै भेट्न नसकिएको अवस्थामा हालका लागि सो दिशातर्फ केन्द्रित नहुनु उचित रहेको बताएका छन्। डोनाल्ड ट्रम्पको प्रस्तावको हालीमुहाली भइरहेको नेटो सम्मेलनको दोस्रो दिन अर्थात् बुधबारको छलफल अफगानिस्तानको द्वन्द्वका विषयमा धेरै केन्द्रित भएको बताइएको छ। सो सम्मेलनमा अफगानिस्तानमा नेटो सेनाको उपस्थितका बाबजुद पनि तालिवान लडाकूको हिंसात्मक गतिविधि पूर्णरूपमा समाप्त नभएको सम्बन्धमा सहभागी सदस्यहरुबीच व्यापक छलफल भएको छ।

त्यसै गरी सो सम्मेलनका क्रममा साझेदार राष्ट्रहरुबीच सिरिया युद्धका बारेमा पनि छलफल भएको छ। तिनीहरुले शुरुमा सिरियामा नेटो सेनाको प्रवेशको बारेमा व्यापक छलफल गरेका थिए। लिबियामा जस्तै सिरियामा पनि नेटो सेनालाई प्रवेश गराउने प्रसंग निस्के पनि अहिलेसम्म त्यहाँ नेटो सेना परिचालन हुन नसक्नुमा नेटो अधिकारीहरुबीच गम्भीर छलफल भएको छ।

उक्त सम्मेलनमा विश्वका शक्तिशाली राष्ट्रहरु साझेदार रहेको नेटो राष्ट्रका राज्य तथा सरकार प्रमुखहरुको सहभागिता रहेको छ। हिजोको नेटो सम्मेलनमा अफगानिस्तानका राष्ट्रपति असरफ घानीको पनि उपस्थिति रहने कार्यक्रम रहेको थियो। नेटोका महासचिव स्टोल्टेनवर्गले सम्भवतः नेटोले अफगानिस्तानको सुरक्षा फौजलाई आगामी सन् २०२४ सम्म आर्थिक सहयोग उपलब्ध गराउन सहमति जुटाउने विचार व्यक्त गरेका छन्। बेलायतका प्रधानमन्त्री थेरेसा मेले संयुक्त अधिराज्यले अफगानिस्तानमा गैरयुद्ध गतिविधिका लागि थप ४ सय ४० जना सैनिक पठाउने निर्णय गरिसकेको जानकारी दिएकी छिन्।

अमेरिकाले सन् २०१७ सेप्टेम्बरमा अफगान फौजलाई सहयोग गर्ने उद्देश्यले थप ३ हजार अमेरिकी सेना त्यहाँ पठाउने प्रतिबद्धता जनाइसकेको छ। यसपछि अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या १५ हजार पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्