असारको लगानी बालुवामा पानी



असार महिनामा सडकमा गरिएको लगानीको पूर्णरूपमा मूल्यांकन गर्ने बेला पनि आउँदो सहेछ। विगतका वर्षझैँ यो वर्ष पनि सडकमा गरिएको लगानी खेर जाने अवस्था देखिएको छ। प्रायः सबै स्थानका सडकमा यस्तै समस्या छ। कतिपय नाली विस्तार गरेरै खनिएका सडकहरूमा पनि यस्तो समस्या बढेको गुनासो छ।

कार्यकर्ता भिजाउनका लागि सबै जिल्लाका वडा–वडामा गरिएको सडक विकासले धेरै विकृति ल्याएको छ। यस्ता विकृति रोक्दै अब स्थानीय सरकारले सडकमा हुने लगानीलाई व्यवस्थित र पारदर्शी बनाउनुपर्ने देखिएको छ। जसरी पनि र जताबाट पनि रकम सक्न मिल्ने सडक निर्माणलाई असारे सडक भनिन लागेकको छ। जति करोड पनि लगानी गर्न मिल्ने र जति लाख पनि सकिएको बिल देखाउन मिल्ने सडकमा धेरै लगानी गर्नुले यहाँ केही न केही बदमासी हुने आँकलन गर्न सकिन्छ।

अब हरेक स्थानीय तहले कुन सडकलाई कसरी अगाडि बढाउने भन्नेबारेमा गाउँ वा नगरसभाबाटै नीति पास गरेर नालीसहितको पक्की सडक निर्माण गर्नेबारे गुरुयोजनामार्फत काम अगाडि बढाउनु जरुरी छ। यसो नगरे हरेक वर्ष सडकमा लगानी हुने लाखौं रकम वर्षातको भेलझैँ अर्थहीन हुने देखिन्छ। बजेटको असारे लगानी, त्यो पनि सडकमा अनि वर्षाका भेलसँगै किन नबगोस् त ? –
– शिवप्रसाद सुवेदी, धुलिखेल, काभ्रे।

स्थानीय तहमा मनपरि खर्च

हरेक वर्ष करोडौं बजेट विकासलगायतका अन्य विभिन्न शीर्षकहरूमा खर्च हुने गरेको छ। देशका सबै स्थानीय तहमा अहिले बजेट सक्ने हतार भएको चटारोका बारेमा भिन्न–भिन्न खाले विश्लेषणहरू भैरहेका छन्। अधिकांश स्थानीय सरकार प्रमुखहरूले स्पष्ट नीति र नियम निर्माण गर्न नसकेका कारण करोडौं रकमका बजेटहरू अहिले अर्थहीन भएका छन्।

आफ्नो पार्टी निकटका व्यक्तिहरूले गरेका अपूरा कामहरूलाई जसरी भए पनि पूरा गरिदिन भन्दै स्थानीय सरकार प्रमुखहरूले अहिले प्राविधिकहरूलाई जबरजस्ती दबाब दिएका घटनाहरू पनि बाहिर आएका छन्। काम नै नसकेर भुक्तानी दिने प्रचनलेको विरोध गर्दै अहिले कतिपय स्थानीय तहहरूका कामहरूको बारेमा अख्तियारमा मुद्दा दर्तासमेत भएका छन्।

स्थानीय सरकारका कामहरूको प्रभावकारिता नभएको भन्दै परेका मुद्दाहरूको बारेमा अख्तियारलाई जवाफ दिन पनि अहिले स्थानीय सरकारलाई हम्मे–हम्मे परेको देखिन्छ। जनतामुखीभन्दा कार्यकर्तामुखी विकासमा तल्लीन देखिएका स्थानीय सरकारका प्रमुखहरूले पहिलो वर्षको कार्यप्रगति देखाउन निकै चुनौती थपिएको छ। यस्ता चुनौतीहरूलाई आगामी वर्षमा व्यवस्थित र नीतिसंगत बनाउनुपर्ने अहिलेको आवश्यकता हो।
–सागरमणि धिताल, बेंसीशहर, लमजुङ

सञ्चारमाध्यम चनाखो बन्नुपर्यो

सञ्चारकर्मी अर्थात् सञ्चारमाध्यमले नराम्रो वा बिग्रेका र बिग्रन थालेका विकास गतिविधि हुन् वा अन्य विषयहरू किन नहुन्, सबैको खोजी गर्नु जरुरी हुन्छ। अन्यायमा परेकालाई न्याय दिनु, आवाजविहीनहरूको आवाज बन्नु, लाखौं रकम खर्च गरेर निर्माण गरिएका विकास निर्माणमा देखिएका अनियमितताहरूको बारेमा खबरदारी गर्नु स्वाभाविक हो। खबरदारी गर्नुपर्दछ, यो पनि स्वाभाविक हो।
लेख्ने स्वतन्त्रता सबैलाई छ, चाहे त्यो सामाजिक सञ्जालमा लेख्नेहरू नै किन नहुन्, चाहे विभिन्न सञ्चारमाध्यमहरूमा लेख्नेहरू नै किन नहुन्, सबैका आ–आफ्ना दायित्वभित्र पर्ने कुराहरू हुन्। काम दिएपछि चुपचाप बस्ने र नदिएपछि बहाना खोज्दै खेदो गर्ने प्रवृत्ति कसैले पनि गर्नुहुँदैन। राम्रो छ भने राम्रो भनेर लेख्नुपर्दछ। नराम्रो हो भने नराम्रो लेख्ने क्षमता राख्नुपर्दछ। कोही पनि मानिस कसैप्रति पूर्वाग्रही भएर लाग्नुहुँदैन। यस्ता विषयहरूका बारेमा आचारसंहिता नै निर्माण गरिएका छन्। सबैले अचारसंहिता पालना गरौं। सञ्चारकर्मी चनाखो हुनुपर्यो।

– कमल थापा, शंखमूल, काठमाडौ

विपतमा परेकाको छिटो
उद्धार होस्
वर्षायाम शुरू भएसँगै पहाडी क्षेत्रमा पहिरो जाने र तराई क्षेत्रमा बाढी आएर जलमग्ने हुने क्रम बढिरहेको छ। हरेक वर्ष बाढी र पहिरोमा परेर धेरै नागरिकले ज्यान गुमाएका छन् भने कोही अंगभंग भएका छन्। नेपाल र भारतको सिमानामा भारतले अन्तर्राष्ट्रिय मापदण्ड विपरीत बाँध बनाउनाले बर्सेनि नेपाली भूमि डुबानमा पर्दै आएको छ भने सो क्षेत्रका नागरिकले ज्यानसमेत गुमाउने गरेका छन्। भारतले एकतर्फीरूपमा बनाएका बाँधका विषयमा सरकारले पटकपटक कुरा उठाए पनि भारतले बेवास्ता गर्दै आएको छ। यता पहाडी क्षेत्रमा पनि पहिरो खस्दा ठूलो धनजनको क्षति हुँदै गएको छ। गृह मन्त्रालयको तथ्यांकअनुसार, बाढीपहिरोका कारण पछिल्लो पाँच वर्षमा १ हजार ३७ जनाको मृत्यु भएको छ। उक्त अवधिमा बाढीपहिरोका कारण ५ सय ३४ बेपत्ता र कैयौं घाइते भएका छन्।

भर्खरै भक्तपुरमा घरले पुरेर ३ जनाको ज्यान गएको छ। सहयोगी भावनाको विकास गर्नका निम्ति हामी तयार हुनुपर्छ। पीडित परिवारका लागि हामी सबैले सहयोग गर्नुपर्छ। त्यो पीडा भोलि हामीमा पनि निम्तिन सक्छ। त्यसैले एकले अर्कालाई सहयोग गर्न कहिल्यै पनि कन्जुस्याइँ गर्नुहुँदैन। पहिरोबाट अभिभावक गुमाए पनि समाजको सान्त्वनाले उनीहरूलाई राहत महसुस हुन सक्छ। बाढी र पहिरोबाट पीडित बनेका अन्य जिल्लामा पनि छन्। सबैलाई खुल्ला हृदयले सहयोग गर्नुपर्छ।

– सुवास तामाङ, चौतारा, सिन्धुपाल्चोक

प्रतिक्रिया दिनुहोस्