बार्सिलोनाको हर्जाड भित्याउने दाउ



मेड्रिड, (एजेन्सी)
चेल्सीका इडेन हर्जाडलाई बार्सिलोनाले भित्याउने प्रयास थालेको छ।

रोनाल्डो मंगलबार युभेन्ट्समा अनुबन्धित भएपछि रियलले हर्जाडलाई दोस्रो रोजाइमा राखेर अनुबन्धको तयारी गरिरहेका बेला हर्जाड भित्याउने होडमा बार्सिलोनासमेत थपिएको हो। आन्द्रेस इनिएस्टाको अभाव खट्किन नदिन बार्सिलोनाले हर्जाडलाई अनुबन्ध गर्ने तयारी गरेको बताइएको छ। प्रशिक्षक अर्नेस्ट भल्भर्डेले आगामी सिजनमा च्याम्पियन्स लिग जित्न बलियो मिडफिल्डको आवश्यक रहेको भन्दै हर्जाडमाथि चासो देखाएका हुन्।

बार्सिलोनाले गत सिजनको अन्त्यमा एथ्लेटिको मेड्रिडका एन्टोनी ग्रिजम्यानलाई भित्याउन प्रयास गरे पनि ग्रिजम्यानले एथ्लेटिकमै बस्ने निर्णय गरेका थिए। सोमबार मात्रै बार्सिलोनाले ब्राजिलियन मिडफिल्डर आर्थर मेलोलाई भित्याएको थियो। आर्थर बुधबार बार्सिलोना आइपुगेका छन्। उनलाई बार्सिलोनाले ब्राजिलको ग्रिमियो क्लबबाट २७.५ मिलियिन डलरमा भित्याएको हो। उनलाई बार्सिलोनाले औपचारिक रूपमा बुधबार सार्वजनिक गरेको थियो। ६ वर्षका लागि अनुबन्धित भएका उनको रिलिज क्लज भने ३ सय ५० मिलियन पाउन्ड राखिएको छ।

प्रतिक्रिया दिनुहोस्