विम्बल्डनका राजा पराजित



लन्डन, (एजेन्सी)
विम्बल्डनका राजा रोजर फेडेरर बुधबार पराजित भएका छन्। एक दिनअगाडि मात्रै विम्बल्डनका राजा र रानी (सेरेना विलियम्स) लाई हराउने कोही छ भनेर बीबीसीमा एक लेख प्रकासित भएको थियो। तर अर्को दिन फेडेररले जित्ने लक्षण देखाए पनि दक्षिण अफ्रिकाका केभिन एन्डरसनले उनको यात्रामा पूर्णविराम लगाइदिए। क्वार्टरफाइनल खेलमा एन्डरसनले ३६ वर्षीय स्वीस खेलाडीलाई दुई सेटले पछि परेर पनि २–६, ६–७, ७–५, ६–४, १३–११ को पाँच सेटमा हराएर सेमिफाइनलको यात्रा तय गरेका छन्।

दुई सेटअगाडि र तेस्रो सेटमा म्याच प्वाइन्ट पनि फेडेररको अगाडि थियो। तर एन्डरसनले म्याच प्वाइन्ट बचाएर अगाडि बढेपछि फेडेररले चार घण्टाभन्दा बढी चलेको खेल हार्न बाध्य भएको थियो। यो हारले फेडेररलाई नवौं विम्बल्डन जित्नबाट पनि वञ्चित तुल्यायो। उनले बताए– ‘ठिकै चलिरहेको थियो। हारको अपेक्षा गरेको छैन। पहिलो दुई सेट जितेर पछि दुई सेट गुमाउँदा निराश भएका थिए। अझ मैले म्याच प्वाइन्ट पनि जितमा परिणत गर्न सकिँन। हार मेरा लागि भयानक बनेको छ।

डिफेन्डिङ च्याम्पियन फेडेररले दुई सेटले अग्रता लिएसम्म एसडब्ल्यू १९ को घाँसे कोर्टमा ३४ लगातार जित हात पारेको आफ्नै कीर्तिमानसँग बराबरी गरेका थिए। यो दुई सेटसम्म उनले यस वर्षको यो प्रतियोगितामा सेट ड्रप पनि गरेका थिएनन्। तर आश्चर्यजनक उनले पछिका तीन सेट हार्नुका साथै विम्बल्डन यात्रा पनि टुंग्याउनुपर्यो।

फेडेरर विम्बल्डनमा यसअघि २०१३ मा दोस्रो चरणबाट बाहिरिएका थिए। २० पटकको कीर्तिमानी ग्रान्डस्लाम विजेता फेडेरर आगामी महिना ३७ वर्षको हुनेछन्। उनको योजना अर्को वर्ष पनि विम्बल्डनमा खेल्ने रहेको छ।

प्रतिक्रिया दिनुहोस्