क्रोएसिया सुपर हिट टोली



फिरोज राजोपाध्याय, काठमाडौं

क्रोएसियाको सफलता परिको कथाजस्तै भएको छ। असम्भव कुरालाई पनि सम्भव पार्ने कथा पस्किने परिको कथाको रोचक पक्ष हो। यस्तैमा क्रोएसियाको फुटबल टोलीले बुधबार राति असम्भवलाई सम्भव पार्यो। १–० ले पछि परेको अवस्थालाई उल्ट्याएर क्रोएसियाले इतिहास रचेको छ।

यो विश्वकपमा क्रोएसियाले तेस्रो पटक पछि परेर पनि जित हात पारेको छ। अन्तिम १६ मा डेनमार्कविरुद्ध १ मिनेटभित्रै गोल खाएको क्रोएसियाले चार मिनेट नबित्दै गोल फर्काएर बराबरीमा ल्यायो र पछि पेनाल्टी सुटआउटमा जित्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्यो।

क्वार्टरफाइनल पनि कडा प्रतिस्पर्धा भएको थियो। क्रोएसियाले पहिलो गोल आत्मसात गरेर पनि आयोजक टोली रुसलाई पेनाल्टी सुटआउटमा पन्छायो र सेमिफाइनलको यात्रा तय गर्यो। योसँगै १९९८ पछि अन्तिम चारको स्थान बनायो क्रोएसियाले।

युगोस्लाभियासँग १९९१ मा अलग भए यता क्रोएसियाको यो पाँचौ विश्वकप सहभागिता हो। १९९८ मा पहिलोपटक विश्वकपमा खेल्दा क्रोएसियाले पहिलो सहभागितालाई नै स्मरणीय बनायो। जर्मनीलाई ३–० ले क्वार्टरफाइनलमा हराएर करिब ४० लाख जनसंख्या भएको यो राष्ट्रले हलचल मच्चायो। उपाधिको दावेदारीमा समेत गनियो तर क्रोएसिया सेमिफाइनलमा फ्रान्ससँग पराजित भयो। तेस्रो स्थानका लागि भएको खेलमा अर्को बलियो टोली नेदरल्यान्डस्लाई क्रोएसियाले २–१ ले हराएको थियो।

क्रोएसियालाई हराएको फ्रान्स ब्राजिललाई समेत हराएर पहिलो पटक विश्व च्याम्पियन बन्यो। यसपछि यो टोलीमाथि धेरै आस गरियो तर आशाजनक भएन उनीहरूको यात्रा। २००२, २००६ र २०१४ विश्वकपमा क्रोएसियाले पहिलो चरणबाट पार गर्न पनि सकेन। अहिलेको टोलीमा चार वर्षअघि ब्राजिलमा भएको विश्वकपमा फ्लप भएका खेलाडीहरू नै छन्। चार वर्षअघि पहिलो चरण पनि पार गर्न नसकेको यो टोलीलाई प्रशिक्षक डालिचले अक्टोबरमा टोली सम्हालेर एउटा सुपर हिट टोली बनाइदिएका छन्।

पछिल्ला तीन विश्वकप सहभागीमा एक खेल जित्न पनि कठिन भएको स्थितिमा जारी विश्वकपमा क्रोएसियाले लगातार ६ खेल जित्यो। फाइनलमा फ्रान्ससँग १९९८ विश्वकपमा बेहोरेको हारको बदला लिन क्रोएसिया तयार भएको पनि प्रशिक्षक डालिचले बताएका छन्।

यसै सन्दर्भमा क्रोएसियाको सफलता मिडफिल्ड चल्नुले भएको फुटबल विशेषज्ञ सन्जीव मिश्रले बताउनुभयो। वहाँले नेपाल समाचारपत्रलाई भन्नुभया– ‘युरोपको खेल्ने शैली उस्तै हो। क्रोएसिया टोली पछिल्लो पटकभन्दा अहिले चल्नुमा उनीहरू परिपक्व भएका छन्। उनीहरूले समूह चरणमा शत प्रतिशत नतिजा निकालेपछि त्यहीबाट जितको प्रेरणा पाएको हो।

पछिका खेल अलि कडा भयो तर उनीहरूले अन्त्यसम्म पनि नछाड्ने गर्दा जितको नतिजा निकाले। उनीहरूको मिडफिल्डर लुका मोड्रिच, इभान परिसिच र राकिटिचको भूमिका उत्कृष्ट भएर पनि गोल गर्न सकेका हुन्। इंग्ल्यान्डका कायल वाल्करको भूमिका कमजोर बन्नाले पनि क्रोएसिया गोल गर्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्