बिदा भए ‘भद्र’ र ‘रूपसी’



नेपाल समाचारपत्र
काठमाडौं
नेपालले चीनलाई उपहार स्वरूप प्रदान गरेका एक जोडी गैंडा बिहीबार राति चीनको ग्वान्जाउ पुगेका छन्। विशेष विमान र विशेष प्रकारको खोरमा राखिएका ‘भद्र’ र ‘रूपसी’ नामका भाले–पोथी गैंडा चीन पुगेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब साढे ४ घन्टाको हवाईयात्रापश्चात् भद्र र रूपसीलाई ग्वान्जाओस्थित चिमेलोङ सफारी पार्कमा पुर्याइएको हो। यो जोडीलाई चीनले सोही पार्कमा राख्ने छ।
गैंडासँगै नेपाली र चिनियाँ वन्यजन्तु चिकित्सक, वन्यजन्तु विज्ञ र केयर टेकर चीन पुगेका छन्। चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक कमल गैरे नेतृत्वको ४ सदस्यीय नेपाली र चीनबाट काठमाडौं आएको ४ सदस्यीय टोली चीन पुगेको हो।

विमानका चालकबाहेक चीनबाट एक चिकित्सक र अन्य वन्यजन्तु प्राविधिक टोली बिहीबार दिउँसो नेपाल आएको र साँझ गैंडासँगै फर्किएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बताउनुभयो।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि चिनियाँ राजदूत यू होङमार्फत चिनियाँ सरकारलाई भद्र र रूपसी हस्तान्तरण गर्नुभएको थियो।

राष्ट्रिय प्रकृति संरक्षण कोष परिसर खुमलटारमा आयोजित विशेष समारोहमा उहाँले साइटिस निर्यात प्रमाणपत्र, प्रजाति उत्पति, गैँडाको स्वास्थ्य स्थिति सम्बन्धी र क्वारेन्टनाइन प्रमाणपत्र राजदूत यूलाई हस्तान्तरण गर्नुभयो। सो अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले ग्वान्जाउको वातावरण र चिनियाँ अधिकारीको राम्रो हेरचाहमा भद्र र रूपसी हुर्किने अनि आगामी दिनमा संख्या बढाउने विश्वास व्यक्त गर्नुभयो। ‘भद्र’ र ‘रूपसी’ सानो भूगोलका व्यापकता हुन्, नेपाली माटोका बासिन्दा हुन्, अब छिटै यिनले सन्तती बढाउने छन्’ –उहाँले भन्नुभयो।

वन्यजन्तुको सुरक्षित र प्राकृतिकबारे बेलैमा नसोचिए, कुनै दिन प्राकृतिक विपत्तिले वन्यजन्तुको भविष्य संकटमा पर्न सक्ने उहाँको भनाइ थियो। त्यसै गरी चिनियाँ राजदूत यूले नयाँ घरमा नेपाली पाहुना नेपालको जस्तै हावापानी भएको पार्कमा सहज रूपमा हुर्कने विश्वास व्यक्त गर्दै अन्य जनावरसँग पनि घुलमिल हुने बताउनुभयो। उहाँका अनुसार चिमेलोङ सफारी पार्कमा ५ सय भन्दा बढी वन्यजन्तुका प्रजाति छन्। सो पार्क भ्रमणमा पुग्नेहरूका लागि भद्र र रूपसी विशेष पाहुना बन्ने राजदूत यूले बताउनुभयो।

प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा चीनले नेपालसँग दुई जोडी गैंडा उपहार मागेपछि २०७३ असार २६ गतेको मन्त्री परिषद्को बैठकले चीनलाई गैंडा प्रदान गर्ने निर्णय गरेको थियो। अर्को जोडी अगामी दशैं अगावै चीनलाई हस्तान्तरण गर्ने गृहकार्य अघि बढाइएको वन्यजन्तु विभागले जनाएको छ। नेपालले यस अघि विभिन्न मुलुकलाई २६ जोडी गैंडा उपहार प्रदान गरिसकेको छ। भारत, अमेरिका, जापान, थाइल्यान्ड, अस्ट्रियालगायतका मुलुकमा दुर्लभजन्तु एक सिंगे गैडा पठाइएको छ।

नेपालले पनि विभिन्न मितिमा विभिन्न मुलुकबाट वन्यजन्तु उपहारका रूपमा लिएको छ। थाइल्यान्डबाट जलगैडा, मलेसियाबाट वनमान्छे, नेदरल्यान्डबाट अस्ट्रिज, चीनबाट चाइनिज एलिगेटर (गोही) ल्याइएको छ। ती जन्तु जावलाखेल स्थित सदर चिडियाखाना प्रर्दशनीमा राखिएका छन्।

प्रतिक्रिया दिनुहोस्