भानु जयन्तीमा मुख्य आकर्षण हिमवत् सम्मिलन



काठमाडौँ ।
विगतमा परम्परागत रुपमा मनाइए पनि नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीको अवसरमा यस वर्ष हुने त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन जयन्तीको मुख्य आकर्षणको रुपमा देखिएको छ ।

भानु जयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गर्ने त्रिदिवसीय सो साहित्य सम्मिलनका लागि हिमाली सभ्यता र संस्कृति भएका विश्वका करीब एक दर्जन मुलुकका ५० जना साहित्य र कलापारखी नेपाल आउनेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रिय नाचघरमा उद्घाटन गर्नुहुने सम्मिलनमा हिमवत्खण्ड क्षेत्रमा पर्ने विभिन्न मुलुकका साहित्यकारको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिनुभयो ।

भौगोलिक र सांस्कृतिक विविधतायुक्त नेपालको भाषिक एकीकरणका लागि महत्वपूर्ण योगदान दिनुहुने आदिकवि आचार्यको २०५औँ जन्मजयन्तीको अवसर पारेर प्रतिष्ठानले त्रिदिवसीय हिमवत्खण्ड कला साहित्य सम्मिलन आयोजना गर्न लागेको हो ।

नेपालको कला, साहित्य संस्कृतिलाई हिमवत्खण्डमा पुनः जागृत गर्नका लागि सम्मिलन आयोजना गरिएको हिमवत्खण्ड कला साहित्य सम्मिलन मूल समारोह समितिका संयोजक प्रा राजेन्द्र सुवेदीले बताउनुभयो ।

सम्मिलनमा नेपाल, भारत, बर्मा, श्रीलंका, पाकिस्तान, बेलायतलगायत मुलुकका ६० भन्दा बढी स्रष्टाले भाग लिने आयोजक समितिका महासचिव डा देवी नेपालले जानकारी दिनुभयो ।

सम्मिलनमा हिमवत्खण्ड र साहित्यसम्बन्धी कार्यपत्र प्रस्तुती, जननेता मदन भण्डारीको वृत्तचित्र प्रदर्शनी, बहुभाषिक कवि गोष्ठी, सांस्कृतिक कार्यक्रम हुनाका साथै चन्द्रागिरि अवलोकन र स्थलगत सिर्जना लेखन र प्रस्तुतिसमेत हुनेछ ।

अखण्ड कविता वाचन

भानु जयन्तीका अवसरमा आज नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा भानु प्रतिष्ठानले अखण्ड रामायण वाचन कार्यक्रम आयोजना गरेको छ । बिहान १० देखि साँझ ५ बजेसम्म छन्द कविहरुले पालैपालो रामायण पाठ गरेका थिए । आजै साहित्यकार लक्ष्मण सापकोटाले पुल्चोकस्थित साझा प्रकाशन परिसरदेखि कमलादीको एकेडेमीसम्म साहित्यिक दौड गर्नुभएको थियो ।

भानु प्रतिष्ठानका अध्यक्ष डा व्रतराज आचार्यका अनुसार जयन्तीका दिन शुक्रबार विभिन्न स्थानमा प्रभातफेरीसहित नगर परिक्रमा र श्रद्धाञ्जलिसभा गरिने जानकारी दिनुभयो । काठमाडौँमा हुने सभामा प्रधानमन्त्री ओलीलाई समेत आमन्त्रण गरिएको डा आचार्यले बताउनुभयो ।

विसं १८७१ असार २९ मा तनहुँको चुँदीमा जन्मनुभएका भानुभक्तले वाल्मीकि रामायणलाई नेपालमा अनुवादन गर्नुभएको थियो । उहाँका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’ र ‘वधूशिक्षा’ आदि कृति लोकप्रिय छन् ।
रासस

प्रतिक्रिया दिनुहोस्