भक्तपुरका बिभिन्न भाग डुबानमा, अस्पतालको सेवा समेत प्रभावित



पुष्कर बुढाथोकी, भक्तपुर ।

अविरल वर्षाले आएको बाढी र पहिरोका कारण भक्तपुरमा तीन जनाको मृत्यु भएको छ । वर्षाले चाँगुनारायण नगरपालिका–७ मजुवामा आएको पहिरोले एक टहरो पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टका अनुसार मृत्यु हुनेमा ७० वर्षीय हीरा लामा, ६५ वर्षीया पानमाया लामा र साढे दुई वर्षीया सम्पदा लामा रहेका छन् ।

अविरल वर्षाले सूर्यविनायक नगरपालिकाको आशापुरीमा पनि एक घर भत्किएको छ । हनुमन्ते खोलामा आएको बाढीले सिद्धीस्मृति बाल अस्पताल, हनुमानघाटस्थित परोपकार केन्द्र, , राममन्दिर, सल्लाघारीस्थित डा युवामुरा अस्पताल, मध्यपुरथिमि अस्पतालसमेत जलमग्न भएका छन् ।

वर्षाका कारण आएको बाढीले डुबानमा परेका १०० भन्दा बढीको उद्धार गरिएको र उद्धारमा थप कार्य भइरहेको प्रजिअ भट्टले जानकारी दिनुभयो । अविरल वर्षाले हनुमन्ते र खस्याङखुसुङ खोलामा आएको बाढीले भक्तपुरको महेश्वरीदेखि लोकन्थलीसम्मको भू–भाग डुबानमा परेको छ ।

बाढीले मध्यपुरथिमिको राधेराधे क्षेत्र डुबानमा पर्दा सयौँ परिवार विस्थापित भएका छन् । रातिदेखि डुबानमा पर्न थालेपछि उद्धारको कार्य शुरु गरेको भक्तपुर महानगरीय प्रहरी परिसरका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताउनुभयो ।

बाढीले जगातीदेखि थिमिको राधेरोधसम्मको सडक अवरुद्ध भएको छ भने बिभिन्न स्थानका भित्री भुभागमा समेत सडक अवरुद्ध भएका छन् । राधेराधे क्षेत्रको डुबानले थिमिबाट भक्तपुरतर्फको सवारी आगमन ठप्प भएको छ ।

भक्तपुरबाट थिमितर्फ एकतर्फी खुला भए पनि भक्तपुरतर्फ जाने सडक बन्द हुँदा सवारी साधनको जाम कौशलटारसम्म पुगेको छ । बाढीका कारण हनुमन्ते खोलाका पुल र चाँगुनारायण नगरपालिकाको कुईकेल गाउँसमेत खतरामा परेको छ ।

भीषण वर्षाका कारण जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ । यता मध्यपुरथिमिको कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका छैनन् ।

राधेराधे र त्यस क्षेत्रका बस्तीका साथै भाटभोटेनी सुपर मार्केट,ईजी वे ट्रायल सेन्टर देखि स्यामसुङ कम्पनीसम्म पूरै डुबानमा छन् । राधेराधे अगाडिदेखि सानोठिमी जाने निकोसेरासम्म नै डुबानमा परेपछि घरबाट निस्कने अवस्था नभएको स्थानीयवासी पुरुषोत्तम कार्कीले जानकारी दिनुभयो । जमीनबाट चारफिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पसेको छ । प्रत्येक घरको भुइँतलामा पानी पसेपछि भूइँतलामा बस्नेको बिजोग भएको छ ।

यहाँका पसल र व्यवसाय सबै बन्द भएका छन् ।
मध्यपुरथिमिमा अरनिको राजमार्ग खण्डका दुवै क्षेत्र डुबानमा परेका छन् । चारदोबाटोबाट हनुमन्ते पुल हुँदै बालकोट जाने बस्ती र गठ्ठाघरको तल्लो भेग डुबानमा परेको स्थानीयले जनाएका छन् । मध्यपुर अस्पताल क्षेत्र र आसपासका घर पनि डुबानमा परेका छन् ।

यता मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि जडीबुटीस्थित सुकुम्बासी बस्ती पूरै डुबानमा परेको छ । घर बाहिर निस्कन पनि नसक्ने र घरभित्रै बस्न पनि नसक्ने अवस्थामा परेको यहाँका बासिन्दा अमर थापाले बताउनुभयो ।

वर्षाका कारण विद्यालय, अस्पताल र मठमन्दिरहरू डुबानमा परेका छन् । बाढी बस्तीमा पसेपछि निकोसेरा, दुवाकोट, सिर्जनानगर, सल्लाघारी, जगाती, लिवाली क्षेत्रका सयौं घर डुबानमा परेका छन् ।त्यसैगरी भक्तपुरको शान्ति निकेतन मावि लगायतका बिभिन्न विद्यालयहरु समेत डुबानमा छन् ।

सिद्धिस्मृति, डा इवामुरा अस्पताल र मध्यपुर अस्पताल डुबानमा पर्दा आकस्मिक सेवा लगायत उपचार प्रभावित भएको छ ।इवामुरा अस्पतालको एक्सरे कक्ष, फिजियो थेरापीकक्ष, टिएमटी मेशिन राखेको कक्ष डुबेको अस्पताल व्यवस्थापक रन्जित मारिखुले बताउनुभयो ।

यता मध्यपुरथिमि नगरपालिकाको राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्तीमा रहेका घरहरुको तत्लो तला सबै डुबेका छन् । सूर्य्विनायक नरपालिकामा चारदोबाटोबाट बालकोट जाने बस्ती र गठ्ठाघरको तल्लो भेगमा डुबान भएको छ ।

राधेराधे र त्यस क्षेत्रका बस्तीका साथै भाटभोटेनी सुपर मार्केटदेखि स्यामसुङ कम्पनीसम्म पूरै डुबानमा छन् । राधेराधे अगाडिदेखि सानोठिमी जाने निकोसेरासम्म नै डुबानमा परेपछि घरबाट निस्कने अवस्था नभएको स्थानीयवासी पुरुषोत्तम कार्कीले जानकारी दिनुभयो । जमीनबाट चारफिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पसेको छ । प्रत्येक घरको भुइँतलामा पानी पसेपछि भूइँतलामा बस्नेको बिजोग भएको छ । यहाँका पसल र व्यवसाय सबै बन्द भएका छन् ।

हालसम्म डुबान क्षेत्रबाट १५० जनाभन्दाको उद्धार गरेको छ । उद्धारको लागि नेपाली सेना, शस्शस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय बासिन्दा लगायत उद्धारमा जुटेका छन् । राधेराधेमा डुबानक्षेत्रमा फँसेका केहीलाई नेपालीसेनाले क्रेनको सहायतामा उद्धार गरिरहेको छ ।क्षतिको थप विवरण आउनेक्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्