शेयर धितोको मार्जिन घट्यो



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुले शेयरको धितोमा प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जा प्राथमिक पुँजीको साविकको ४० प्रतिशतबाट घटाई २५ प्रतिशतसम्म मात्र प्रवाह गर्न पाउने व्यवस्था गरिएको छ ।

त्यस्तै शेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा कर्जाको सुरक्षणका लागि राखिएको शेयरको मूल्य २० प्रतिशतसम्मले घटेको अवस्थामा मार्जिन कल गर्न बाध्य नहुने व्यवस्था पनि मौद्रिक नीतिमा छ


एटीएम तथा पीओएस मेसिनबाट कारोबार गर्दा कारोबार सफल नभई खातावालको खाताबाट रकम काटिएको खण्डमा सम्बन्धित खातावालको खातामा निश्चित समयभित्रमा रकम फिर्ता गर्नुपर्ने र सो नगरिएमा बैंक तथा वित्तीय संस्थाले उक्त रकमको समेत ब्याज दिनुपर्ने मौद्रिक नीतिमा उल्लेख छ ।

विद्युतीय माध्यमबाट बैंकिङ क्षेत्रमा हुनसक्ने साइबर अपराध न्यूनीकरण गर्दै साइबर सुरक्षालाई प्रवद्र्धन गर्न वाणिज्य बैंकहरुले अनिवार्य रुपमा सूचना प्रविधि प्रणालीको लेखापरीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै सीमित बंैकिङ कारोबार गर्न यस बैंकबाट अनुमति प्राप्त सहकारी संस्थालाई साउन १ गतेदेखि राष्ट्र बैंकको नियामकीय तथा सुपरिवेक्षकीय दायराबाट अलग गराइने छ । २५ करोडभन्दा माथिको व्यावसायिक ओभरड्राफ्ट प्रकृतिका कर्जाहरु स्वीकृत तथा नवीकरण गर्दा सम्बन्धित ऋणीले पेश गरेको चालू सम्पत्ति तथा दायित्वका विवरण स्वतन्त्र रुपमा तेस्रो पक्षबाट प्रमाणित गराई पेश गर्नुपर्ने व्यवस्था गरिनेछ ।

आर्थिक वर्ष २०७५÷७६ देखि वार्षिक रुपमा सबै वाणिज्य बैंकहरूले राष्ट्रिय वा अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सीबाट आफ्नो रेटिङ गर्नुपर्ने व्यवस्था मिलाइने छ । बैंक तथा वित्तीय संस्थाले ५० करोड वा सो भन्दा बढीको कर्जा उपयोग गर्ने ऋणीलाई कर्जा प्रवाह गर्दा वा कर्जा नवीकरण गर्दा सो संस्थाको क्रेडिट रेटिङ एजेन्सीबाट गरिएको रेटिङलाई कर्जा मूल्यांकनको आधारको रुपमा लिनुपर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्