प्राकृतिक प्रकोप नियन्त्रण प्रभावकारी बनाऊ



प्राकृतिक प्रकोपका कारण पछिल्लो एकसातामा मात्र ५० जनाले ज्यान गुमाएका छन् भने ९ जना बेपत्ता भएका छन् । प्राकृतिक प्रकोप न्यूनीकरणका काम प्रभावकारी नहुँदा बर्सेनि ठूलो जनधनको क्षति हुँदै आएको छ ।

प्रकोप न्यूनीकरणको लागि कार्य गर्ने सरकारी निकाय हिउँदभरि गफ मात्र गर्ने गर्छन् र वर्षा लागेपछि क्षतिको तथ्यांक संकलन गर्ने कार्य गर्छन् । क्षति न्यूनीकरणका लागि समयमै प्रभावकारी काम गर्न सकेका छैनन् । सरोकारवाला निकायहरु प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणको लागि भन्दा करोडांै रकम खर्च गरेर छलफल, गोष्ठी गर्नुका साथै योजनासमेत बनाउँछन् । क्षति न्यूनीकरणका लागि योजना तर्जुमाका लागि गरिएको खर्च कार्यान्वयनमा लगाउने हो भने पनि धेरै हदसम्म क्षति रोक्न सकिन्थ्यो ।

यो वर्षको तीन महिनाको अवधिमा मात्र विभिन्न प्राकृतिक प्रकोपमा परेर ३ सय २३ जनाले ज्यान गुमाइसकेका छन् । वर्षको वैशाखदेखि असारसम्मको अवधिमा बाढी, पहिरो, चट्याङ, डुबानलगायतका प्राकृतिका प्रकोपमा परेर मुलुकभर ३ सय २३ जनाले ज्यान गुमाएको बताइएको छ । गृह मन्त्रालयका अनुसार गत वर्ष पनि प्राकृतिक प्रकोपका कारण ४ सय ५० भन्दा बढीले ज्यान गुमाएका थिए ।

प्राकृतिक प्रकोपबाट घाइते हुने र विस्थापित हुनेको संख्या पनि त्यत्ति नै बढ्दो छ । पछिल्लो तीन महिनाको अवधिमा प्रकोपका कारण ५७ जना बेपत्ता भएका छन् भने ३ हजारभन्दा बढी परिवार प्रभावित भएका छन् । गृहको विपद् व्यवस्थापन महाशाखाका अनुसार गत २०७४ सालमा बाढीपहिरोलगायत प्राकृतिक प्रकोपबाट ५ सय ९७ जनाको मृत्यु भएको थियो भने २०७३ सालमा ४ सय ८३ जनाको मृत्यु भएको थियो । २०७२ सालमा भूकम्पसमेत गएकाले ९ हजार २ सय ७९ जनाको मृत्यु भएको थियो । २०७१ सालमा ५ सय ३९ जनाको मृत्यु भएको थियो भने २०७० सालमा ४ सय १७ जनाको प्राकृतिक प्रकोपका कारण मृत्यु भएको तथ्यांक छ ।

प्राकृतिक प्रकोपबाट हुने क्षतिको तथ्यांक हेर्दा क्षति न्यूनीकरणका कार्य प्रचार मात्र भएको देखिन्छ र कार्यान्वयन निस्प्रभावी हुँदा बर्सेनि जनधनको क्षेति बढेको देखिन्छ । प्राकृतिक प्रकोप रोक्न नसकिने भए पनि यसबाट हुने क्षति भने न्यूनीकरण गर्न सकिन्छ । धेरैजसो क्षति वर्षायाममा हुने देखिएकाले हिउदँमै क्षति न्यूनीकरणका लागि प्रभावकारी प्रयास हुनुपथ्र्यो ।

प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि समयमै सञ्चारमाध्यमहरुले सजग गराइरहेका भए पनि सरकारले विशेष ध्यान दिन सकेको देखिँदैन । जसका कारण हरेक वर्ष ठूलो जनधनको क्षति भैरहेको छ । अतः प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणमा सरकारले विशेष ध्यान दिँदै समयमै प्रभावकारी काम गरोस् ।

प्रतिक्रिया दिनुहोस्