उम्टीटीको निर्णायक गोलमा फ्रान्स फाइनलमा



मस्को, (एजेन्सी)
सामुएल उम्टीटीको गोल निर्णायक भएपछि फ्रान्स रुसमा जारी विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको सेमिफाइनल खेलमा १९९८ को विश्वविजेता फ्रान्सले बेल्जियमलाई १–० गोलले हराएको हो । टोलीका लागि उम्टीटीले ५१ औं मिनेटमा गोल गरेका थिए । उनले ऐन्टोइन ग्रीजम्यानद्धारा प्रहार गरिएको कर्नर बललाई हेडमार्फत् बेल्जियम गोलपोस्टको जाली चुमाएका थिए । उक्त हेड प्रहारलाई ब्राजिलविरुद्ध खम्बा सावित भएका गोलरक्षक थिबाउ कोर्तुवाले बचाउने कुनै मौका नै पाएनन् ।

बेल्जियमका मराउने फेलाइनीले राम्ररी निगरानी राख्न नसकेकाले उम्टीटीले हेड हान्ने मौका पाएका थिए । खेलमा पछाडी परेपछि बेल्जियमले आक्रामक परिवर्तन गरेपनि गोल भने फर्काउन सकेन । एक गोल भएपछि फ्रान्स अधिकांस समय डिफेन्समै केन्द्रित भएको थियो ।

यसअघि खेलको २२ औं मिनेटमा फ्रान्सका कप्तान एवं गोलरक्षक ह्युगो लोरिसले उत्कृष्ट बचाउ गरेका थिए । उनले डिफेन्डर टोबी एल्डरवेरल्डले पेनाल्टी क्षेत्रभित्रबाट गरेको शक्तिशाली प्रहारलाई डाइभ गर्दै बचाएका थिए । कर्नरमा रिबाउन्ड भएपछि आएको उक्त प्रहार नै बेल्जियमले गरेको डरलाग्दो प्रयास थियो ।

यस्तै खेलको ४४ औं मिनेटमा फ्रान्सले उपयुक्त स्थानमा फ्रिकिक पाएपनि फरवार्ड ग्रिजम्यानको प्रहारले सही दिशा लिन सकेन । खेलको दोस्रो हाफमा पनि दुवै टोलीले राम्रो अवसरहरु पाएपनि थप गोल गर्न सकेनन् ।

विशेषतः वान टच पासमा आशा लाग्दो बिल्ट अप गर्ने बेल्जियमविरुद्ध फ्रान्सले काउन्टर अट्याकमा डरलाग्दो आक्रमणहरु बुनेका थिए । खेल अवधिभर ६४ प्रतिशत बल पोजिसन राखे पनि फ्रान्सले बेल्जियमको ३ वटा शट अन टार्गेटको प्रत्युत्तरमा ५ शट अन टार्गेट प्रहार गरियो । उक्त खेलमा बेल्जियमका रोमेलु लुकाकुलाई कडा निगरानीमा राखेका फ्रान्सेली डिफेन्डर रफाएल भराने म्यान अफ द म्याच घोषित भएका थिए ।

फ्रान्स पछिल्ला २० वर्षमा तेस्रो पटक विश्वकपको फाइनलमा पुगेको छ । टोली दोस्रो उपाधि जित्ने निकट छ । यसअघि सन् २००६ को फाइनल खेलेका फ्रान्सलाई इटालीले टाईब्रेकरमा हराउँदै चौथो पटक उपाधि चुमेको थियो ।

प्रतिक्रिया दिनुहोस्