उपत्यकामा दिउसो ट्रिफर चलाउन रोक



काठमाडौ । जथाभावी रुपमा ट्रिफरले ठक्कर दिएर ब्यक्ति हत्या गर्न थालेपछि सरकारले दिउसोको समयमा राजधानी भित्र प्रवेशमा रोक लगाएको हो । ट्रिफर दुर्घटना अत्याधिक बढेपछि बिहान पांच बजेदेखि राती साढे आठ बजे सम्म उपत्यकाका तीन जिल्लामा ट्रिफर चलाउन रोक लगाएको गृह प्रवक्ता रामकृष्ण सुवेदीले जानाकरी दिनुभयो ।

ट्रिफर दुर्घटनाको कारण जनधनको क्षती बढी हुन थालेपछि उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयलाई दिउसोको समयमा ट्रिफर चलाउन रोक लगाउनकालागि पत्र पठाएको प्रवक्ता सुवेदीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

तीव्र गतिमा चल्ने ट्रिफरका कारण उपत्यकामा अत्याधिक दुर्घटना हुनाको साथै जनधनको क्षती हुन थालेपछि उक्त निर्णय गरिएको उहांले बताउनुभयो । पछिल्लो तीन महिना यता ट्रिफरको ठक्करबाट झण्डै ८९ जनाको मृत्यु भइसकेको छ भने दर्जनौ घाईते भएका छन ।

तीव्रगतिमा चल्ने ट्रिफरमा १९ देखि २५ बर्षका युवाहरु चालकको रुपमा कार्यरत रहेका कारण पनि दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको अनुसन्धानले देखाएको छ । गृह मन्त्रालयले ट्राफिक प्रहरीलाई दुर्घटना न्युनिकरणकालागि पटक पटक निर्देशन दिएको भएपनि निर्देशन प्रभावकारी रुपमा कार्यान्वयनमा आउन नसकेपछि दिउसोको समयमा ट्रिफर चलाउन निषेध गरिएको मन्त्रालयले जनाएको छ ।

तीनै जिल्ला प्रशासन कार्यालयलाई बुधबार पत्राचार गरेको भएपनि उक्त नियम भने आज बिहीबारबाट मात्रै लागू हुने भएको छ । उक्त नियम लागू भएपछि दुर्घटना न्युनिकरण हुने प्रवक्ता सुवेदीले दावी गर्नुभयो । अहिलेलाई तीन जिल्लामा यो नियम लागू गरेका छौ प्रवक्ता सुवेदीले भन्नुभयो – पछि मुलुकभरका मुख्य शहरमा पनि यस्तै निर्णय हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्