राप्रपाले ५० हजार सक्रिय सदस्य बनाउने



रामकृष्ण चापागाई
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सक्रिय सदस्यता वितरणलाई अभियानकै रुपमा सञ्चालन गर्ने भएको छ । राप्रपाले यो अभियान अन्तर्गत पाँच महिना भित्र ५० हजार सक्रिय सदस्य बनाउने भएको हो ।

अघिल्लो निर्वाचनमा चौथो ठुलो राजनीतिक शक्तिको रुपमा उदाएको राप्रपा अहिलेको निर्वाचनमा राष्ट्रिय दलको हैसियत समेत कायम राख्न नसक्ने गरि खुम्चिएको थियो । दुईदिन सम्म बसेको केन्द्रीय पदाधिकारी तथा प्रदेश अध्यक्षहरुको संयुक्त बैठकले मंसिर मसान्तसम्म नयाँ थप ५० हजार सक्रिय सदस्य बनाउने गरी सक्रिय सदस्यता वितरण अभियानकै रुपमा प्रारम्भ गर्ने निर्णय गरेको हो । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठक हिजो वुधवार सम्पन्न भएको थियो ।

बैठकले चैत मसान्त भित्र प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता भुवन पाठकले जानकारी दिए अनुसार पुस मसान्तभित्र गाउँ÷नगरपालिकाको वडा तहसम्म कार्य समिति गठन र पुर्नगठन गर्ने निर्णय भएको छ । बैठकले भदौ १५ गते भित्र प्रदेश स्तरीय प्रशिक्षण र भेला आयोजना गर्ने र पुस मसान्त सम्म संयोजन संगठनहरुको गाउ तह सम्म कार्यसमिति गठन गर्ने निर्णय गरेको छ ।

प्रदेश कार्यसमितिको कार्यक्षेत्र तथा अधिकार, प्रदेशमा संगठनात्मक अवस्थाको समिक्षा तथा संगठन सुदृढिकरण कार्ययोजना, प्रदेशमा जनपरिचालन सम्बन्धि कार्यक्रम, हिन्दुराष्ट्र पुनस्र्थापना राष्ट्रिय जनजागरण अभियान, राष्ट्रिय स्वाभिमान यात्रा र भ्रष्टाचार बिरुद्ध भण्डाफोर कार्यक्रम लगाएतका विषयमा छलफल गर्न बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले साउन महिनाभित्र हिन्दुराष्ट्र पुर्नस्थापना राष्ट्रिय जनजागरण अभियानको प्रदेश स्तरीय कार्यक्रमको शुभारम्भ गर्ने र चैत मसान्तभित्र संयोजित संगठनहरुको केन्द्रीय महाधिबेशन सम्पन्न गर्ने निर्णय गरेको प्रवक्ता पाठकले जानकारी दिनुभयो ।

गत फागुनमा एकिकृत भएको राप्रपा तीन टुक्रा भएर फुटेपछि कमजोर बनेको छ । कमल थापाले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी, पशुपति शम्सेर राणाले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) लाई पुन एकिकृत गरि नेतृत्व नया पुस्तालाई हस्तान्तरण गर्न गर्न तीनै पार्टीको दोस्रो तहका नेताहरुले भने दबाब दिइरहेका छन् ।

तीनवटै पार्टीका शीर्ष नेतृत्वले पार्टी एकिकरण गर्ने र नयाँ पुस्तालाई नेतृत्व हस्तानतरण गर्न आलटाल गरेमा तीनवटै पार्टीका असन्तुष्ट नेता तथा कार्यकर्ताहरुले चौथो पार्टी गठन गर्ने देखि अन्य पार्टीमा प्रवेश गर्ने सम्मको तयारी समेत गरेका छन् ।

पार्टी एकिकरण गरी नया पुस्तालाई नेतृत्व हस्तान्तरण गरेपछि पुराना नेताहरु सबै सल्लाहकारको भुमिकामा बस्नुपर्ने उनिहरुको माग छ । थापा नेतृत्वको राप्रपा र राणा नेतृत्वको राप्रपाले २०७३ साल फागुनमा एकता महाधिवेशन गरि एकिकृत भएका थिए । त्यतिवेला लोहनी राणा नेतृत्वको राप्रपामा थिए ।

एकता महाधिवेशन पुर्व राप्रपाका शीर्ष नेतावीच पार्टीको अध्यक्ष थापा बन्ने र डा. लोहनीको नेतृत्वमा वरिष्ठ नेताहरुको ११ सदस्यीय नीति निर्धारण तथा निर्देशन समिति बनाउने भन्ने सहमति भएको थियो । यो निर्देशन समितिले पार्टी नीति बनाउने र पार्टीलाई समेत निर्देशन दिने उल्लेख थियो ।

यो समिति एकता महाधिवेशन सम्पन्न भएको एक महिना भित्र बनाइसक्नु पर्ने भएपनि अध्यक्ष थापाले निर्देशन समिति गठन गर्न आलटाल गरेपछि डा. लोहनी बाहिरिएका थिए । महाधिवेशन पछि महाधिवेशनबाट स्वीकृत विधान अनुसार र एकिकरण हुनुपुर्व शीर्ष नेतावीच भएको मौखिक सहमतिलाई उलंघन गरि अध्यक्ष थापाले पार्टी एकलौटी ढंगले संचालन गरेको भन्दै डा. लोहनीले अध्यक्ष थापालाई ११ बुदे पत्र लेखेर पार्टी परित्याग गर्नुभएकोथियो ।

लोहनीले त्यसपछि अन्य नेताहरु संग मिलेर नया पार्टी राप्रपा (राष्ट्रबादी) गठन गर्नुभएको थियो । राप्रपाबाट लोहनी बाहिरिए पछि निर्देशन समितिको अध्यक्ष राणालाई बनाउनुपर्ने माग उठेको थियो । यहि वीचमा अध्यक्ष थापाले पार्टीको सबै मनोनयन तथा नियुक्ति प्रक्रियामा शीर्ष नेताहरुवीच छलफल नै नगरि एकलौटी ढंगले अघि बढेको भन्दै राणा समेत असन्तुष्ट बन्नु भएको थियो ।

अध्यक्ष थापा पार्टीलाई थाहा नै नदिई पार्टी भित्र कुनै छलफल नै नगरी उपप्रधान तथा स्थानीय विकास मन्त्री भएपछि राप्रपा भित्रको विवाद अझ चुलिदै गएको थियो । अध्यक्ष थापाले स्थानीय निर्वाचन सम्पन्न गर्न सहयोग गर्नको लागि सरकारमा सहभागी भएको भनेपनि सरकारमा सहभागी हुन पार्टीको माइन्युट नभएको नेताहरुले बताउदै आएका थिए ।

प्रथम चरणको निर्वाचनमा राप्रपाले नराम्ररी हारब्योहोरेपछि पार्टीभित्र अध्यक्ष थापाको राजिनामा अथवा निर्देशन समिति गठन गर्न दबाब बढेको थियो । अध्यक्ष थापालाई असन्तुष्ट पक्षले अध्यक्ष र संसदीय दलको नेताबाट समेत हटाउने रणनीति बनाउन थालेपछि उहाले एकलौटी ढंगले ४३ जना केन्द्रिय सदस्य मनोनित गरि आफु सुरक्षित हुनु भएको थियो ।

यहि वीचमा मधेशको माग संवोधन गर्न ल्याइएको संविधान संशोधन प्रस्ताव पारित गर्ने उदेश्यले संसदमा ल्याइएको बेला राप्रपाका १४ जना सांसद अनुपस्थित भएपछि राप्रपा विभाजन उन्मुख भएको थियो । अन्तत राणाले पार्टी विभाजन गरी राष्ट्रिय प्रजातन्त्र पाटी (प्रजातान्त्रिक) गठन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्