बुद्ध–सर्किटमा रुपन्देहीको सैनामैना पनि समावेश



युवराज पाण्डे, बुटवल ।
बहुचर्चित बुद्ध–सर्किटमा बुद्धकालीन सभ्यताको ऐतिहासिक क्षेत्र सैनामैना समेत समावेश भएको छ ।

रुपन्देही जिल्लाको सैनामैनामा बुद्धकालीन अवशेष फेला परेपछि यहाँका विभिन्न क्षेत्रहरू बुद्धकालीन महत्वका रहेको भन्दै पुरातत्व विभागले समेत चासो दिएर काम शुरु गरेको सैनामैना नगरपालिकाले जनाएको छ ।

बुद्धकालीन सैनामैनाको सभ्यतालाई बृहत् बुद्ध सर्किटमा समावेश गरेर खाका तयार पारिएको विषयमा अहिले अन्तिम परामर्श चलिरहेको बताइएको छ । सरकारले गत वर्षदेखि बृहत् बुद्ध सर्किटको खाका बनाउने पर्यटनविद् रविजंग पाण्डेको संयोजकत्वमा बुद्धधर्मका ज्ञाता, विज्ञ र प्राविधिकहरू समावेश गरेर विशेष टोली गठन गरी यस्तो खाका बनाउन खटाएको थियो ।

सैनामैनालाई लुम्बिनी र कपिलवस्तुपछि तेस्रो महत्वका रूपमा उक्त रुटमा सामेल गरिएको छ । लुम्बिनीसहित बुद्धसँग सम्बन्धित ग्रेटर लुम्बिनीका क्षेत्रलाई मुख्य रुटका रूपमा राखिएको छ । यही रुटलाई आधार मानेर पूर्वको हलेसीदेखि पश्चिममा दैलेख, दुल्लु र कालीकोट हुँदै मानसरोवरसम्मको रुट निर्माण गरी दस्तावेजमा उल्लेख गरिएको छ ।

यस्तै, अहिले चीनले ‘वान बेल्ट वान रोड’का रूपमा अगाडि बढाएको नयाँ सिल्करोडलाई समेत जोडेर अर्को विशेष रुट तयार भएको छ । गत साउनदेखि काम थालेको टोली यही असार अन्तिमसम्म प्रतिवेदन बनाएर सरकारलाई बुझाउन लागेको उक्त टोलीका सदस्य रामचन्द्र सेढाँइले जानकारी दिनुभयो ।

सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले ढिलै भएपनि सैनामैनाको बुद्धकालीन सभ्यतालाई बृहत्तर बुद्ध सर्किटमा समावेश गरेकामा धन्यवाद व्यक्त गर्नुभयो । यस्ता सम्पदाको संरक्षण, उत्खनन् र विकासका लागि आफूहरू गम्भीर भएर लागेको भन्दै प्रमुख कार्कीले प्रदेश र संघीय सरकारको समन्वयमा काम अगाडि बढाइने उहाँले बताउनुभयो ।

यहाँको वडा नं. १ र २ का विभिन्न क्षेत्रहरू बुद्धकालीन सभ्यताका क्षेत्र मानिन्छन् । यस्तै, यहाँको संस्कृतिलाई समेत बुद्धकालीन समयसँग जोडेर विज्ञहरूले उल्लेख गर्दै आएका छन् । पुरातत्व विभागले यहाँको थारु संस्कृतिलाई विशेष संस्कृतिका रूपमा लिएर केही समयदेखि अध्ययन समेत शुरु गरेको छ ।

पुरातत्व विभागको विशेष टोली आएर सैनामैनाको थारु संस्कृतिका बारेमा आफूहरूलाई सोधपुछ गर्दै लामो अध्ययन गरेको जानकारी दिँदै सैनामैनाका थारु होमस्टे (घरबास) का अध्यक्ष खुशीराम चौधरीले बुद्धकालीन सभ्यताको संस्कृतिको महत्व पुरातत्व विभाग र नगरपालिकाले उजागर गरेको बताउनुभयो ।

प्रदेश सरकारका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री लीला गिरीले बुद्ध सर्किटको राष्ट्रिय दस्तावेजले मुलुकका धेरै क्षेत्रहरू समेटेको भन्दै अब यस्को कार्यान्वयनमा जुट्न जरुरी रहेको बताउनुभएको थियो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेतैयाले विकास कोषले पहिले लुम्बिनी गुरुयोजनाका काम सक्ने गरी प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो । उहाँले कपिलवस्तु, सैनामैना, देवदह र नवलपरासीका रामग्रामलगायतका क्षेत्रहरूमा अबको केही समयमा विशेष कार्यक्रमको घोषणा गरिने बताउनुभयो ।

राष्ट्रिय खाका बनाउने टोलीका सदस्य विज्ञ डा.मिलन शाक्यले अध्ययनका क्रममा हाम्रा यस्ता ऐतिहासिक सम्पदाहरू संरक्षणको अभावमा क्रमशः मासिंदै र नासिंदै गएको गुनासो गर्नुभयो ।

अहिले तयार पारिएको दस्तावेजमा लुम्बिनीलाई केन्द्रमा राख्दै कपिलवस्तु, रूपन्देही र नवलपरासीका बुद्धकालीन सम्पदाहरूलाई समेटिएको छ । साथै नेपालका पूर्व–पश्चिम, उत्तर–दक्षिणका हिन्दु–बौद्धसंग सम्बन्धित क्षेत्रहरूलाई सर्किट (परिपथ) को रुटमा समावेश गरेर विशेष सर्किट, वर्तमान अवस्था र त्यसका सम्भावनाहरूलाई उल्लेख गरिएको छ ।

लुम्बिनीदेखि कैलाश मानसरोवरसम्मको रुट सर्किटमा समेटिएको छ । यस्तै, चीनले शुरु गरेको एक क्षेत्र एक मार्गको नयाँ रेशम मार्गमा समेत यो बुद्ध सर्किटको रुटलाई जोडिएको छ । ग्रेटर लुम्बिनी बुद्धिष्ट सर्किटलाई पहिलो प्राथमिकतामा राखिएको छ । यसमा लुम्बिनी–कपिलवस्तु–सैनामैना–बुटवल–तानसेन–देवदह–रामग्राम क्षेत्रलाई समावेश गरिएको छ ।

योसहित पूर्वको हलेसी देखि कोरला, सगरमाथा क्षेत्र, कञ्चनजंघा र मानसरोवरसम्मका आठवटा रुटको दस्तावेज तयार पार्दै त्यसैमा परामर्श गरिएको थियो । बुद्ध आफैले जीवनमा एकपटक लुम्बिनी (बुद्ध जन्मभूमि) का साथै भारतमा रहेका बोधगया ९ज्ञानप्राप्त भूमि०, सारनाथ ९पहिलोपटक शिष्यलाई ज्ञान दिनुभएको भूमि० र कुशीनगर ९परमधाम गमन० को भ्रमण गर्नुपर्ने बताउनुभएको थियो । यिनै क्षेत्रलाई समेटेर भारतले समेत बुद्ध सर्किट बनाइरहेको छ ।

यस्ता छन् विभिन्न सर्किटहरू

अन्तर्राष्ट्रिय बौद्ध सर्किटः बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको नेपाल, भारत, श्रीलंका, थाइल्यान्ड, तिब्बत ९चीन०, कोरिया, जापान, म्यान्मार, भुटानजस्ता देशहरूका बीचमा बन्ने बौद्ध सर्किट ।

प्रमुख बौद्ध तीर्थस्थलहरू बीचको बौद्ध सर्किटः प्रमुख तीर्थस्थलहरू लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगर बीचमा बन्ने बौद्ध सर्किट ।

राष्ट्रिय बौद्ध सर्किटः नेपालका प्रमुख तीर्थस्थलहरू लुम्बिनी, स्वयम्भूनाथ, बौद्धनाथ र नमोबुद्ध बीचमा बन्ने बौद्ध सर्किट ।

स्थानीय बौद्ध सर्किटः लुम्बिनी, कपिलवस्तु, कुदान, गोटिहवा, निग्लिहवा, सागरहवा, सैनामैना, बुटवल, रामग्राम, देवदह लगायतका लुम्बिनी वरिपरिका प्रमुख बौद्ध तीर्थस्थलहरू बीचमा बन्ने बौद्ध सर्किट ।

लुम्बिनी बृहत् परिपथ (सर्किट)ः लुम्बिनी–कपिलवस्तु–सैनामैना–जितगढी–बुटवल–देवदह–नवलपरासीको रामग्रामलगायत लुम्बिनी गुरुयोजनाले चर्चेको क्षेत्र वरिपरि परिक्रमा गर्ने गरी अर्को सर्किट बनाइनेछ ।

हिन्दु–बौद्ध सर्किटः हिन्दु र बौद्ध दुबै धर्मावलम्बीहरूले सामूहिक तीर्थस्थलका रूपमा लिने लुम्बिनी, पशुपतिनाथ, स्वयम्भूनाथ, मुक्तिनाथ, पाल्पा–पोखरा, रुरु–रेशुङ्गा, मनकामना, बेनी–मुक्तिनाथ–कागबेनीजस्ता तीर्थस्थलहरू ।
रासस

प्रतिक्रिया दिनुहोस्